दिन निश्चित छैन आफैसँग
समुद्रमा उर्लिएको तुफानजस्तै
अनिश्चित गन्तव्यमा हुत्तिँदै छ
कसैलाई पर्खनु छैन उसले
निरन्तर बग्दै छे ऊ ब्रह्मपुत्र बनेर
उसलाई हतार छ कतिका फाँटहरू सिँच्न
उसलाई हतार छ कतिका बस्तीहरू उजाड्न
मानौ ! कि दिन एउटा विम्ब मात्र हो
दिन झुल्किएपछि कसैलाई पर्खदै पर्खदैन
दिन ढल्किएपछि फेरी त्यो फर्कदै फर्कदैन ।
दिन परिचित छैन आफैसँग
पाइलापाइलामा छाम्दै हिँड्छ
मस्तिष्कमस्तिष्कमा डाम्दै हिँड्छ
जीवनसँग एकमुठी माटो साट्छ
त्यहीँ माटोमा फेरी नयाँ जीवन बाँड्छ
उन्नायकहरूको हत्कडी हो दिन
कैदीहरूको आजाद हो दिन
दिन आइसकेपछि छेकेर छेक्दै छेकिन्न
दिन खाईसकेपछि फेरी त्यो खोजेर भेट्दै भेटिन्न ।
दिन विश्वस्त छैन आफैसँग
कहिले इदिअमिन र मुसोलोनी भएर
बस्तीभरी रगत र बारुद्व गन्ह्नाउँछ
कहिले जोन अफ केनडी र गान्धी भएर
आफ्नो अस्मितामा आफै हराउँछ
आखिर के भो ! भूगोलमा रङ्ग छर्केर पनि !
बरु दिनसँग लुकामारी खेल्नु छ भने
दिनलाई आफ्नो अनुकूल हिँडाउन सिक्नुपर्छ
दिनलाई आफ्नो हत्केलामा खेलाउन सिक्नुपर्छ ।
दिन अछूत अनन्त चाहना हो
दिन अदृष्ट अनन्त भावना हो
दिन विताउन कठीन हुनेहरूको ‘ह्याङओभर’
दिनले कहिल्यै नपुग्नेहरूको असन्तुष्टता
थाती राखेर नयाँ परिष्कारको लागि
साँझ अस्तागिरीमा पुगेर हराउँछ
कुन्नि, कहाँ पुगेर कहिले निदाउँदो हो ।
विहान अभिनव सपनाहरू आएर सुनाउँदै
उसको प्रतिबद्वताः चाहनाहरू मर्ने बाँच्ने गराउँछ ।
उसको नित्यता: भावनाहरू मनको छालमा लहराउँछ ।
पानी हो दिन, बग्न थालेपछि अडिरहँदैन
फूल हो दिन झर्न थालेपछि नसडिरहँदैन
त्यसैले दिनलाई आफ्नो फाँटहरूमा
हरियाली सिँचाइराख्न सिक्नुपर्छ
त्यसैले दिनलाई आफ्नो पाइलाहरूमा
ताल अनुसार नचाइराख्न सिक्नुपर्छ ।
लेखक परिचय
साहित्यकार हाङओजा थेगीम मूलतः कवि हुन् । चालीसको दशकको पूर्वार्धदेखि नै निरन्तर साहित्य साधना गरिरहेका छन् । उनले पचासको दशकमा राष्ट्र तथा अन्तराष्ट्रिय स्तरका पत्रपत्रीकाहरूमा आफ्ना बग्रेल्ती रचनाहरू प्रकाशित गरेका छन् । तर पुस्तककार कृतिको रूपमा भने प्रकाशन भएको छैन । ठूला-ठूला नामी प्रकाशन गृहहरूले छापिदिने आग्रह गर्दा पनि उनले स्वीकार गरेनन् । यस बारेमा उनको बेग्लै विचार र धारणा छ ।