तिमीले यो घर छोडेर हिँडेपछि
तिमीले यो गाउँ छोडेर गएपछि
तिमी कहिले फर्केर आएनौ है ?
हरेक साँझ,
चरा आफ्नो गुड सम्झेर
फर्की आउँदा
वस्तुभाउले आफ्नो गोठ सम्झेर
फर्की आउँदा
तिमीलाई कहिले घर सम्झेर
फर्किउँ झैँ लागेन छोरा ?
तिमीलाई पर्खिदा पर्खिदै
यदि म मरिहाले भने
बिन्ति छ छोरा
तिमी आउँदै न आउनु
छोरा !
म तिमी हाँसेको हेर्न चाहन्छु
तिमी रोएको हैन
म तिम्रो हातले दिएको एक गाँस खाना खान चाहन्छु
तिम्रो हातले दिएको चित्ताको आगो हैन
म कसरी सुन्न सक्छु र त्यो शब्द
वर्षौं नआएको छोरा आज आमा जलाउन आइपुग्यो ।
लेखक परिचय
विशेष गरेर कविता विधामा कलम चलाउने वाइवा समकालीन कविहरुमाझ चिनिएकी कवि हुन्।