तिमी धेरै हाँसेको देख्दा
हाँस्न बिर्सेका ओठहरू पनि
तिम्रो ओठसँगै हाँस्न खोज्छन्
तर, बाटो बिराएको यात्री झैं
हाँसो बीचमै अल्मलिन्छ
हाँसोको विनिमय हुने भए
हाँसो किनेर तिमी झैं हाँस्ने थिएँ
मनलाई पखेटा राखेर आकाशमा उडाउने थिएँ
खै, के के गर्थें, के ।
सापटी लिन मिल्ने भए,
एक टुक्रा हाँसो मलाई पनि सापटी देऊ
तिमी सँगसँगै हाँसेको देख्न चाहन्छौ भने
अलिकति हाँसो सुटुक्क देऊ
तर, थाहा छ मलाई
हाँसो दिने भन्दा हाँसो खोस्नेहरू
लाम लागेर यता तिर पर्खि रहेछन्
अरु हाँसेको हेर्न नचाहनेहरू
यतातिर छ्यापछ्याप्ती भेटिन्छन्
तिमीप्रति चाहिँ अलिकति आशावादी छु
साँच्चै ! तिम्रो हाँसो लिउँ लिउँ लाग्छ
अझ सके त चोरूँ चोरूँ लाग्छ
तर, गिजा देखाएर
हृदय खोलेर हाँस्ने दिनहरू पनि
सकिएछन् कि कसो ?
नत्र तिमी सँग सँगै म किन
हृदय खोलेर हाँस्न सक्दिन थिएँ र ?
हाँसोको दौडमा म किन सदा
पछाडी पछाडी मात्र आफूलाई पाउँथे र ?
अब तिमी पनि धेरै हाँस्ने नगर
कमसेकम मेरा लागि।
अचेल मलाई हाँस्नेहरूसँग
कता कता ईर्ष्या लाग्छ
मेरो हाँसो कता उड्यो कता
हराएको हाँसो भेट्टाएपछि प्रतिस्पर्धा गरौंला
हाँसो खोज्दैछु
पर्ख ! हामी सँगै हाँसौंला ।
लेखक परिचय
साहित्यमा सानैदेखि रूची राख्ने डा. संगीता स्वेच्छाको ‘गुलाफसंगको प्रेमकथा’ कथा संग्रह, ‘पखालिएको सिउँदो’ उपन्यास र ‘असहमतिका पाइलाहरू’ संयुक्त कथा संग्रह प्रकाशित छन् । स्वेच्छाको दोस्रो उपन्यास प्रकाशोन्मुख छ ।
बेलायतको सर्रे युनिभर्सिटीबाट वातावरण संचारमा विद्यावारिधि गर्नुभएकी स्वेच्छाले त्रिभूवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नाकोत्तर र अष्ट्रलियाको होमस्ग्लेन इन्सटिच्युट अफ टेफबाट सफ्टवेयर डेभलपमेन्टमा डिप्लोमा गर्नुभएको छ ।
स्वेच्छा ‘नेपाल विद्याभूषण – २०१४’ तथा ‘महेन्द्र विद्याभूषण – २०००’ बाट विभूषित हुनुहुन्छ ।
स्वेच्छा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा आजीवन सदस्य र नेपाली साहित्य विकास परिषद यूकेमा सह-उपमहासचिव को रुपमा आबद्ध हुनुहुन्छ ।