चुपचाप बगिरहन्छ नदी……
किनारमै घरहरु बनाओस् कैयौँ — मतलब छैन
भाँचेर छेउकुनाहरुबाट कुलो लगोस्,
नहर लगोस्
या लगोस् घरघरमै — मतलब छैन ।
चुपचाप बगिरहन्छ नदी……..
कुरौटे छन् यी मौसमहरु बरु
कान फुकिरहन्छ नदीको ।
— मतलब छैन ।
जिउमै नाउ कुदाउँछन्, डुङ्गा चलाउँछन्
थिल्थिलो होउन्जेल जहाज दौडाउँछन्
बिना कारण थुन्छन् कतै
त बिना कारण अति नै खोलिदिन्छन् कतै — मतलब छैन ।
गुनासो नामको कुनै चिज गर्दैन नदी ।
चुपचाप–चुपचाप बगिरहन्छ…..
निकै इर्ष्यालु छ बरु मौसम….
कान भरिरहन्छ नदीको
प्रत्येक असार साउनमा ।
चुपचाप बगिरहन्छ तर नदी ।
कहिलेकाहीँ
हो, कहिलेकाहीँ
मानसिक सन्तुलन गुमाउँदछ, नदी ।
लेखक परिचय
कवि पाख्रिनको दगुरिहिँड्ने चौबाटो नामक कविता संग्रह प्रकाशित छ।
Thanks to shavda sopan team & special thanks to Sarita Tamang Sis.
– Sudeep pakhrin