उसलाई खडेरीमा आकाश हाँसेको मनपर्दैन
बरु आकाश रोएको मनपर्छ
उसलाई बर्खामा बगाउँदै आउने भेल मनपर्दैन
ऊ विद्रोही हो
तर जे होस् उसले सहनुपर्ने अर्को बाध्यता छ
ऊ पिरोलिन्छ –
भाग्य विधाता बन्न खोज्नेहरु देखि,
जो आधुनिकतामा रमाउन
फलाम पोलेर रातो गुलाफ बनाउँछ
अनि राखिदिन्छ – आमाको काखमा
निरंकुश शासक जो –
जसलाई ऊ जस्तै फोहर मनपर्दैन
त्यसैले नुहाउँदै साइनाइड चुसाइदिन्छ दूधको साटो –
अबोध बालकहरूलाई
उसले फेरेजस्तो हावा अरुले नफेरुन् भन्छ अनि
अरूले फेर्ने हावामा हाइड्रोजन मिसाइदिन्छ,
यति गर्दा पनि बाँचेकाहरूलाई फकाउन खेलौना दिन्छ
धुलोको साटो बारुदको धूलो र अणुका सुत्रहरु
अनि सिकाउँछ पहाडमाथी घाँस काट्दै गरेको गरिब खाल्डोको निर्दोष विद्रोहीको टाउकोमा निसाना साँध्न
उत्तर आधुनिक साम्राज्य होस् या निरङ्कुश सत्ता शासक
सामन्तको जन्जिर जकडिएर नै हो
जङ्गलमा अज्ञात हाडहरू पुरिएको
अंहमले नै हो सागर किनारमा
कन्काल हड्डीहरूको थुप्रो लागेको
इतिहासका दस्ताबेजमा अझै रगतको कालो गन्ध गनाउँछ
त्यसलाई नियाल्दा माटोको रातो रंगले
समानताको लागि एउटा विद्रोह लेखेको
निक्खुर कालो शब्द टल्किन्छ
याद रहोस्
थिचोमिचोको पहाडमा
अत्याचारको ज्वालामुखी फुटेपछि
उछिट्टिएका बिचारका ज्वारभाटाहरूले
पोल्नेछ अराजकतालाई
पिल्स्याउनेछ निरंकुशताका हातहरु
अनि,
चोक्टिएका ठाउँहरुमा
नयाँ मासु पलाउनेछ – समानताको
यो जुग बाँचिरह्यो भने एकदिन
कमजोरसँगै बलियो हाड पनि सँगै कुहिने छ
याद रहोस् त्यतिबेला
यो युगले फेरि अर्को आदम र इभ जन्माउनुपर्नेछ
कामना गरौँ
त्यो युगमा
उनीहरुले निषेधित फल चाहिँ नखाइदिउन् ।
लेखक परिचय
ऋजन मायालु युवा पुस्तामा सहित्य सिर्जनामा सशक्त रूपमा उदाएका मायालुका सिर्जनामा सामजिक कुरीति माथिको बिरोध र अन्याय माथिको बिद्रोह बेजोड रूपमा पाईन्छ ।