स्रष्टा परिचय
सुभद्रादेवी दंगाल र सावित्री पोखरेल एउटै ब्यक्ति हुन । वि.स.१९९५ सालमा बुबा कालिप्रसाद आचार्य र आमा मन्दोदरी आचार्यको कोखबाट धनकुटा जिल्लाको सिबुवामा उनको जन्म भएको हो । सुभद्राको चिनाको नाम दिब्यकुमारी आचार्य थियो । पछि उनको परिवार सुसरी जिल्लाको धरानमा बसाइँ सरेको देखिन्छ । सुभद्राको विबहा विराटनगर तीनपैनी निवासी विष्णु दंगालसँग भएको थियो । विबहा भएको वर्षदिन नपुग्दै श्रीमानको निधन भयो र त्यसपछि उनि माइतिमै आएर बसिन् । त्यही समयमा सुभद्रादेवी दंगालको नामबाट उनले कलंकी समाज नामक नाटक लेखेर २०१५ सालमा प्रकाशित गरिन् । त्यसपछि उनले पोखरेल थरको बर रोजेर दोश्रो विबहा गरेपछि उनि सुभद्रादेवी दंगालबाट सावित्रीदेवी पोखरेल भइन् । त्यसरी सुभद्रादेवी दंगालले लेखेको कलंकी समाज नाटक नेपाली नाट्य साहित्यको इतिहासमा नेपाली नारी स्रष्टाले लेखेको पहिलो नाटक र नाटककारको रुपमा स्थापित हुन पुगेको देखिन्छ । यो नेपाली नाट्य साहित्यको एक ऐतिहासिक उपलब्धि हो ।
नटक परिचय
कलंकी समाज नेपाली महिलाले लेखेको नेपाली साहित्यको पहिलो नाटक हो । यसैले यसको ऐतिहासिक महत्व छ– चैत्र–बैशाखमा पर्वत भरिनै गुराँस फुल्दैमा फागुनको पहिलो प्याउलीलाइ कसैले भुल्दैन । यस नाटककी लेखिका श्रीमति सावित्री पोखरेललाइ नेपाली साहित्यकी पहिली महिला नाटककारको सम्मान प्राप्त छ । ( राष्ट्र कवि माधव घिमिरे, कलंकी समाज दोश्रो संस्करण– २०५०, आमुख पृष्ठ)
यसरी राष्ट्र कविले नाटक र नाटककारबारे आफ्नो धारणा राखेको पाइन्छ । यसरी नै अर्का समालोचक डा. गणेश भण्डारी लेख्छन् – सुभद्रादेवी दङ्गालले नेपाली नाटक विधामा रहेको पुरुषहरुको एकाधिकार समाप्त पारेर ऐतिहासिक जीवनबाट उनी हराएर गएकी छन् आजसम्म तापनि उनले लेखेको अर्को नाटक र उनको अरु कृति प्रकाशित गराएर नेपाली साहित्यका मन्दिरमा अरु कृतिरुपी फुल अवश्य चढाउनेछन् भन्ने आशा राख्नु स्वभाबिकै हो । ( मधुपर्क मासिक, २०४८ फागुन ), यसरी भण्डारीले नाटककारबाट अर्को कृतिको अपेक्षा राखेको सन्दर्भमा २०६४ सालमा आएर उनको कुमारी गाथा नामक कविता संग्रह प्रकाशित भएको देखिन्छ ।
हो यति महत्वपूर्ण र एतिहासिक नाटकका बारेमा मैले सुनेको त थिएँ तर छुन र देख्न पाएको थिइँन । बल्ल २०७७ साल भदौ ४ गतेका दिन साहित्यिक अन्वेषक रविमान लमजेलबाट प्राप्त भएपछि यो नाटक मैले मनैले पढें र मनमा लागेका हुटहुटीलाइ अक्षरमा उतार्ने प्रयास यसरी गरें ।
प्रस्तुत नाटक पूर्णाङ्की नाटक हो । यसमा अङ्क विभाजन नगरी दृश्य मात्र राखिएको छ । प्रथम संस्करणमा २९ दृश्य रहेको भनेर समालोचक भण्डारीले लेखेका छन । तर , उन्नयन प्रकाशनबाट २०५० सालमा प्रकाशित दोश्रो संस्करणमा भने जम्मा २३ दृशय मात्र रहेको छ । स्रष्टा स्वयम्ले यस प्रकाशनमा केही परिमार्जन गरेको कुरा आफ्नो लेखकीयमा उल्लेख गरेबाट यो कृति परिमार्जित संस्करणको रुपमा आएको हो भन्ने पुष्टि हुन्छ ।
नाटक २००३ साल असोजबाट सुरु भएर २०१२ साल साउनमा पुगेर सकिन्छ । अर्थात यो नाटकको समयावधि ८ वर्ष १० महिना रहेको छ । यो समयावधिमा नाटकको कथानकले पूर्णता पाएको छ । विधवाले विबहा गर्न अनैतिक र कुलधर्मको प्रतिकूल हुन्छ भन्ने जब्बर मान्यता रहेको तत्कालिन समयमा विधवाले पनि विबहा गर्न पाउनुपर्छ भन्नु आफैमा एउटा विद्रोहको आगो ओकल्नु सरह हुन्थ्यो । तर सुभद्राले विधवाले पनि विबहा गर्न पाउनै पर्छ भन्ने उधेश्य राखेर यो नाटक लेखेकी देखिन्छ । यस दृष्टिले हेर्दा यो नाटक जडता विरुद्धको विद्रोह हो , परिवर्तनको बीउ हो । नेपाली नाट्य साहित्यमा त्यही परिवर्तनको बीउ रोप्ने रोपाहार अर्थात नाट्यस्रष्टा हुन् सुभद्रादेवी दङ्गाल उर्फ सावित्रीदेवी पोखरेल ।
नाटकको कथावस्तु र उधेश्य
राइटरबाजेकी जेठी छोरी हो शशी । शशी सानै हुँदा आमाको निधन हुन्छ, शशी टुहुरी हुन्छे । शशीकी आमा खसेपछि राइटरबाजेले कान्छी आमा ल्याउँछ । कान्छी ल्याएर पनि शशीलाइ उसले मायाँसाथ हुर्काउछ ,पढाउँछ । सौतेनी आमाले पनि त्यस्तो नराम्रो ब्यवहार गर्दिनन् शशीलाइ । पहिलो पल्ट शशीलाइ माग्न आउँदा राइटरबाजेले आफ्नी छोरीको विहे गर्ने उमेर पुगेको छैन भनेर कुटुनीलाइ फर्काइदिन्छ । दोश्रोपल्ट राजुलाइ विहे गरिदिन भनेर राजुको ठुलाबा आउछ । कुरा मिल्छ, राजु र शशीबीच पनि मन परापर हुन्छ । विधिपूर्वक शशीको विहेदान हुन्छ । उता राजुको पनि बुबा मरेको टुहुरो केटा हो । जमिनदार परिवारको केटा हो राजु । त्यसरी विहे भएको वर्षदिन नपुग्दै राजुको निधन हुन्छ । शशी विधवा हुन्छे अनि माइतमा आएर भाइबहिनीको हेरचाह गर्दै मास्टरसँग पढ्न थाल्छे ।
दिनचर्या चल्दै जाँदा कान्छी आमासँग शशीको समान्य मनमुटाब बढ्दै जान्छ । त्यही कारण जिन्दगीसँग हार मानेर शशी आत्महत्या गर्न भनेर घर नजिकैको पानीधारा छेउमा पुगेर डोरीको पासो लागेर झुन्डिन लाग्दा जीवनले देखेर उसलाइ मर्नबाट रोक्छ । शिकार खेल्न जाँदा शशीलाइ देखेर जीवनले मन पराएको थियो । त्यो दिन पनि शशी पानीधारा आउँछे र भेट्छु भनेर जीवन त्यहा पुगेको थियो । घरमा देउतालाइ चढाएको माला लगाएर मर्न गएकी शशीले आखिरीमा त्यै माला लगाएर जीवनसँग दोश्रो विहे गरिन् । विधवाले दोश्रो विहे गर्न हुदैन भन्ने मान्यता जब्बर भएको बेला जीवनकी आमा मुखिनी बज्यैले आफ्नो घरमा अनिष्ट भएको , छोराले कुलको अपमान गरेको र शशी बुहारी नभएर बोक्सी आइ लागेको ठानेर शशीलाइ घृणा गर्छे । तर जीवन र शशीको दाम्पत्य जीवन सुमधुर थियो । घरकी नन्दसँग पनि राम्रो थियो शशीको ।
त्यतिकैमा एकदिन जीवनको घरमा एउटा साधु आउँछ । शशीले सदिा दिन्छे,तर साधुले शशीलाइ अपवित्र आइमाइले दिएको सिदा दान लिन्न भनेर दान नलिइ जान्छ । त्यस घट्नाबाट शशीको मनमा नराम्रो चोट पर्छ , भावाबेशमा आएर बीष खाएर मर्छे । कलाङ्की समाजको रुढीवादी मान्यताको कारण आफुले यसो गरेको कुरा जीवनलाइ सुनाइ सक्दानसक्दै शशीको पराणपखेरु उड्छ । जीवन मर्मात हुन्छ । शशीको बुबा आउँछन् र सेतो कात्रोको सट्टा रातो बुट्टेदार दोपट्टा छोरीको लाशमा ओढाइदिएर ज्वाइलाइ रातो सिन्दुर पहिरिएर अन्माएर घाटमा लगेर संस्कार भन्ने आदेश दिएर घर फर्किन्छ । जीवनले पनि ससुराको आदेश मुताविक सिउदोभरि सिन्दुर पहिरिएर आफुले विहे गरेकै स्थानमा लगेर शशीको अन्तेष्टी गर्छ । नाटकको कथाले यतिमै पूर्णता पाउछ । नाटक दुखान्त तर सहासिक मोडमा पुगेर सकिन्छ ।
तत्कालिन नेपाली समाजमा जरा गाडेर रहेको विधवा प्रथालाइ मासेर समतामुलक न्यायिक समाज निर्माण गर्नपर्छ भन्ने धेय नै प्रस्तुत नाटकको मुख्य उधेश्य रहेको देखिन्छ । नेपाली समाज सुधारका लागि योगमायाले उठाएको जलसमाधि झण्डा र सति प्रथा उन्मुलनका लागि चन्द्र शमशेरले चलाएको कानुनी डण्डाकै समकक्षी वाङ्मयिक विचार बृक्ष हो सुभद्रादेवी दङ्गालको कलंकी समाज नाटक लेखनकार्य पनि । यो नाटकलाइ उद्धेश्यको यही आलोकमा हेर्नु न्यायोचित हुन्छ ।
पात्र निर्माण र तिनको चरित्र चित्रण
यस नाटकमा पुरुष पात्र एघारजना र दशजना महिला पात्र निर्माण गरिएको छ । आवस्यक्तानुसार अन्य केही गौण सहायक पात्र पनि उभ्याइएको छ । राइटर बाजे,जीवन,रतन,मास्टर,राजु,धीर,रेखा,कन्यार्थी,दुइजना युवक ,आगन्तुक र राजुको बुबा पुरुष पात्रहरु हुन् भने शशी,उषाकी आमा,उषा,राइटर्नी बज्यै,जानु,मुखिनी बजै,आशा,जुनी,अर्धबैश्य विधवा र चुथ्थी नारी पात्र हुन् ।
शशी यस नाटकको प्रमुख नायिका हुन् । शशीकै जीवनलिलामा फनफनी घुमेको छ नाटकको कथानक । विधवाप्रथा मास्नपर्छ भन्ने महान नारी हो शशी । आफ्नो पहिलो लोग्ने राजु मरेपछि जीवनसँग विहे गर्छिन् । तर,तत्कालिन समाजलाइ कलाङ्की करार गरेर पनि एकदिन एकजना जोगीले तिमी अपवित्र नारी हौ, विधवा भएर पनि अर्को केटासँग विहे गर्ने चरित्रहीन आइमाइ होस् भनेर शशीको हातको दान अस्वीकार गरेको कारण भावाबेशमा आएर बीष खाएर देह त्याग्छिन् । आफ्नो देहत्यागले विधवाको सम्मान होस, विधवाप्रथाको जरा मक्काओस, विधवाको मुक्ति होस भन्ने धेय राख्छिन् ।
जीवन परिवर्तनको पक्षपाति शिक्षित युवा हो । उसले आत्महत्या गर्न लागेकी शशीलाइ विहे गरेर जीवन दिन्छ । विधवाप्रथा मास्न ब्यवहारिक क्रान्ति गर्छ । विधवा शशीलाइ पवित्र नारी ठान्छ । शशीको निधन पछि पनि विधवाप्रथको जरा उखेल्न लागिरहन्छ । राइटर बाजे शशीको बुबा हुन् । घरमुली प्रमुख पुरुष पात्र । शशीकी आमा मरेपछि अर्की विहे गरेर पनि शशीलाइ समान माया गर्ने आदर्श बुबा । शशीको दोश्रो विहेलाइ सहज रुपमा स्वीकार गर्ने परिवर्तनको हिमायति । छोरीले आत्महत्या गर्दा पनि कुनै गुनासो नगर्ने बरु छोरीको लाशमा सेतो कात्रो होइन रातो दोपट्टा ओढाएर ज्वाइँलाइ रातो सिन्दुर सिउँदोमा हालेर घाटमा अन्माएर लैजाने आदेश दिन सक्ने क्रान्तिकारी पात्र हुन राइटरबाजे ।
राइटर्नी बज्यै समान्य महिला हुन् । सौतेनी आमा भएर पनि शशीलाइ उस्तो हेला नगर्ने आमा । मुखिनी बज्यै जीवनकी आमा भएर पनि कट्टर पुरानतनवादी पात्र । उनले आफ्नो छोरासँग शशीको विहे भएको कुरालाइ अनर्थको रुपमा लिएकी छ । शशीलाइ बोक्सी ठान्छे र शशीको आत्महत्यामा खुसी मान्छे । रेखा वालपात्र हो । यस अतिरिक्त मास्टर धीर,उषा लगायतका पात्रहरु छन्,जो समान्य सकारात्मक सोच राख्छन् । यसरी यस नाटकमा स्रष्टाले सकारात्मक र नकारात्मक सोच राख्ने चरित्रको निर्माण गरेर आफ्नो उधेश्यपरक काममा लगाएकी छन् ।
द्धन्द विधान र दृश्य संयोजन
द्वन्द विधानका आधारमा हेर्दा यो नाटक सन्तुलित र ब्यवस्थित रहेको देखिन्छ । सारिरिक भन्दा मानसिक द्धन्द ससक्त छ । नाटकको नायिका शशीे आफ्नो पहिलो लोग्ने राजुको निधनसँगै मानसिक द्धन्दको शिकार बनेकी छन् । यो द्धन्दको प्रारम्भ सातौं दृश्यमा पुगेर सुरु हुन्छ । त्यसयता शशीले बाँचेको जीवनकालभरि मानसिक तनाब,घातप्रतिघातसँग शशीले प्रतिवाद गरिनै रहनुपर्यो । सौतेनी आमासँगको मनमुटाबले गर्दा शशी आत्महत्या गर्ने निचोडमा पुग्छे । संयोगबस जीवनले देखेर शशीलाइ बचाउउछ र आफैंसँग विहे गर्छ शशीलाइ । यो द्धन्दले क्रमशः १७ र १९ औं दृश्यमा पुेगेर उत्कर्षता चुम्छ ।
मानसिक द्धन्दकै चाकाचुलीबीच जीवनसँग दोश्रो विहे गरेकी शशीलाइ जीवनको घरमा पनि सुख हुदैन सासुको चेतना र ब्यवहारले शशीको मनमा चैन हुदैन । लोग्ने जीवन र नन्दको माया र विस्वास पाएर पनि एक दिन जीवनको घरमा आएको साधुको भजन र बचनका कारण अन्तत ः शशीले बीष खाएर आत्महत्या गर्छे । आफु विधवा भएकै कारण शशीले यतिका मानसिक पीडा भोगेर जीवन नै समाप्त गर्न परेको क्षण नै प्रस्तुत नाटकमा द्धन्दको चरमउत्कर्षता रहेको देखिन्छ । यो उत्कर्षता नाटकको २२ औं दृश्यमा पुगेर हुन्छ । शशीको अन्त्यपछि पनि जीवन र राइटरबाजेले भोगेका मानसिक द्धन्द थप सघन बनेको देखिन्छ । विधवाप्रथाको विरुद्धमा शशीले गरेको आत्महत्याको चोट उनिहरुमा कहिल्यै नमेटिने घाउ बनेको छ । यसरी हेर्दा कलंकी समाज नाटकको द्धन्द पक्ष सारिरिक कम र मानसिक द्धन्द धेरै रहेको देखिन्छ । अर्थात कलंकी समाज मानसिक द्धन्दप्रधान नाटक हो भन्ने देखिन्छ । यस नाटकमा अङ्क विभाजन गरिएको छैन,सिधै दृश्य निर्माण गरिएको छ । पहिलो प्रकाशनमा २९ वटा दृश्य रहेको कुरा समालोचक डा. गणेश भण्डारीले आफ्नो कृति ब्यक्ति– अभिब्यक्ति मा लेखेका छन , तर दोश्रो संस्करणमा २३ वटा दृश्य मात्र रहेका छन ।
… उल्लेखित सम्पूर्ण कुराहरुलाइ मध्यनजर गर्दै प्रस्तुत दोश्रो संस्करणमा उमेर सच्याउनका साथै शब्द र भाषामा केही हेरफेर गरिएको छ । अनि नाटकीय प्रदान गर्ने उधेश्यले केही संबादहरु थप गर्ने जमर्को समेत गरिएको छ । यधपि यस कलंकी समाज नाटकको आनतरिक भावभूमि भने जस्ताको तस्तै सुरक्षित राखिएको छ । ( लेखिका , दोश्रो संस्करण , २०५० )
यसरी हेर्दा पहिलो संस्करणमा २९ दृश्य भएको नाटकलाइ दोश्रो संस्करणमा ६ वटा दृश्यलाइ समायोजन गरी २३ दृश्यको बनाइएको हो भन्ने प्रष्टिन्छ ।
भाषा , शैली र संवाद
प्रस्तुत नाटकमा प्रयुक्त भाषा ,शैली र सम्बाद सामान्य रहेको छ । तत्कालिन समयमा बोलिने भाषिकाको प्रयोग खासै भएको देखिदैन । स्रष्टाले प्रयोग गर्ने स्तरका शब्दहरु पात्रले बोलेका छन् , जो पात्रको चेतनास्तर अनुरुप नभएको पाइन्छ । हुन त स्रष्टा आफैले दोश्रो संस्करणमा यसको भाव नमर्ने गरी सम्पादन गरिएको छ भनेबाट पहिलो संस्करणमा प्रयोग भएका मौलिक भाषिकामा पनि परिमार्जन भएको छ भन्ने समालोचकीय सङ्काको सुविधा हुन्छ । शब्द चयन र वाक्य गठन पनि औसत स्तरीय लेख्य भाषामा प्रयोग हुने खालका रहेका छन् भने कथ्य शब्दहरु ज्यादै थोरै मात्र प्रयोग भएको देखिन्छ ।
सम्बाद छोटा खालका छन् । आजको समयको मान्छेले बोल्ने स्तरका सम्बाद रहेका छन् । हेरौं नाटकमा प्रयोग भएको सम्बादको यो नमूना –
शशी – ( झोंक्किएर ) तपाइँ शिकार खेल्न एक्लै नै आउनुभएको थियो । ऐले बाटो काट्ने साथी कसरी चाहियो ?
जीवन – तिमी पनि त मर्नलाइ एक्लै नै आएकी थियौ ? सधैं एक्लाले नै साथी खोज्दछ । ( पृ. ५२ )
नाटकमा स्तरीय युगल र एकल गीत ÷ भजन पनि रहेका छन । गीत र भजनको प्रयोगले नाटक साङ्गितिक बनेको छ । यो नाटकमा रहेका युगल गीतको केही अन्तरा हो –
जीवन– हेर समय सुनौलो कस्तो ?
शशी – सीपले मोती सुहाए जस्तो ।
जीवन – सत्य झुटो गरायो कस्ले ?
शशी – पत्थर पानी बनायो जस्ले । ( पृ. ५३)
यसरी यो नाटकमा हुनपर्ने आवस्यक अबयवहरुको प्रयोग भएको देखिन्छ । त्यो समयसम्म कुनै पनि नेपाली नारी स्रष्टाले नाटक नलेखेको पस्थितिमा सुभद्राले यो स्तरको नाटक लेखेर कृतिको रुपमा प्रकाशित गर्नु आफैंमा ऐतिहासिक महत्वको काम हो । नाटक प्रकाशित भएको पैसठ्ठी वर्षपछिका हामी जस्ता सामान्य पाठकको मनमा लाग्ने प्रभावपरक मनलापका आधारमा मैले यतिसम्म भन्ने आँट गर्दैछु आज ।
रङ्मञ्चीय दृष्टिमा कलंकी समाज :
यो नाटक अहिले सम्म कतै कसैले रङ्मञ्चीय प्रस्तुतिमा लगेको देखिदैन । कलंकी समाज नाटक जति पठनीय छ, उति नै मञ्चनीय पनि छ । पहिलो प्रकाशनमा २९ दृश्य भएको नाटकलाइ दोश्रो संस्करणमा स्रष्टा आफैले परिमार्जन गरेर २३ दृश्य मात्र बनाएको देखिन्छ । रङ्गमञ्चमा लैजादा नाटकको केन्द्रिय उद्धेश्य नमर्ने गरी अझै दृश्यलाइ संयोजन गर्न सकिन्छ । कतिपय दृश्यहरु सारै छोटा र सूत्रात्मक छन् । यस्ता दृश्यलाइ संयोजन गरेर प्रदर्शन गर्दा नाटक थप मञ्चनीय हुने देखिन्छ ।
नाटक लेख्नु विधागत रुपले आधा काम मात्र हो भनिन्छ । जब नाटकलाइ रङ्गमञ्चमा लगिन्छ , नाटक हेरेर दर्शकले प्रतिकृया जनाउछन् तबमात्र यसले पूर्णता पाउछ । यस दृष्टिले हेर्दा कलंकी समाज नाटकले अझै पूर्णता पाएको देखिदैन । अहिले हाम्रो रङ्गमञ्चमा नारी नटककार र निर्देशक पनि ससक्त रुपमा देखा परेका छन् । उनिहरु सुभद्राका मानस सन्तान हुन् , यसो हो भने तिनले कलंकी समाज नाटकलाइ सम्मान र मायासाथ रङ्गमञ्चमा लैजानै पर्छ । यो आजको युगिन आवश्यक्ता हो ।
विदेशी नाटककारले अन्य भाषामा लेखेको नाटकलाइ अनुबाद गरेर नाटक गर्दा आफूलाइ ठुलै काम गरें भन्ठानेर ध्वाँस पिट्नेहरुले नेपाली नारीले नेपाली भाषामा लेखेको ऐतिहासिक मौलिक नाटकलाइ चिनौं । मञ्चन गरौं र जानअन्जान आफ्नै नाकमा लागेको आची पुसौं ।
निचोड
हाम्रो समाजको यो भयाबह र विभत्स प्रकोपबाट मुक्त होस अनि कुनै शशीले पनि अकालैमा समाजमा आफ्नो बली चढाउँन नपरोस् । यही उधेश्य राखेर यो कलंकी समाज नाटकलाइ जीउदो राख्ने प्रयास गरेकी छु । ( स्रष्टा )
यस दुःखान्त नाटकलाइ उनन्तीस दृश्यमा विभक्त गरेर सुभद्रादेवी लंगालले परम्परागत नाटकका नियमको उलङ्घन गरी विद्रोह गरेकी छन् तापनि नाटकीयताको भने राम्ररी निर्वाह गरेकी छन् । नाटकीय तत्व र अन्यअङ्गको भने राम्रो पालना गरिएको छ । ( डा. गणेश भण्डारी ः व्यक्ति–अभिव्यक्ति, पृ. २०२ )
कलंकी समाज नाटकले एक प्रश्न उपस्थित गर्छ– समाज कलंकी हो कि व्यक्ति कलंकी ? यसमा आकाशकी शशी र धर्तीकी शशी परस्पर तुलनीय छन । पुरानो दृष्टिले हेर्ने हो भने ,शशी (चन्द्रमा) मा कलंक देखिन्छ । आधुनिक दृष्टिले हेर्ने हो भने चन्द्रमामा देखिएको दाग ज्वालामुखी फुटेर उठेको पहाडको खाडलको कालिमा हो – चन्द्रबिम्बमा परेको कुनै कालिमा होइन । यस नाटकको नायिका शशीको चरित्रमा पनि कुनै कलंक छैन । त्यो अन्धविस्वासी समाजको आफ्नै दृष्टिकोणको कालो छाया हो । ( राष्ट्रकवि माधवप्रसाद घिमिरे ः दोश्रो संस्करणको भूमिकाको एकांश )
यसरी सुभद्रादेवी दंगाल उर्फ सावित्रीदेवी पोखरेलकृत कलंकी समाज नाटकका बारेमा समालोचकको मूल्याङ्कन भएको छ । यति नै पूर्णता होइन । प्रस्तुत नाट्यकृतिका बारेमा आजका समालोचकहरुले बहुआयामिक कोणबाट समीक्षा गर्न आवश्यक छ । निशन्देह यो भन्दा पहिले प्रकाशित भएको अर्को नाट्यकृति प्राप्त नभएमा नेपाली नाट्यसाहित्यको इतिहासमा कलंकी समाज नाटक नै पहिलो नाटक हो भन्ने देखिन्छ । तात्कालिक समयका मान्छेले बोल्ने भाषिकाको प्रयोग नगरिनुबाहेक नाटकमा खासै खोट देखिदैन ।
विषय र उद्धेश्यका आधारमा नाटक सफल र कालजयी छ । विचार वा वादको अलोकमा राखेर हेर्दा यो नाटक प्रगतिवादी कित्तामा चौतारीको बरपिपल जस्तै प्रष्ट देखिन्छ । नेपाली समाजमा सदियौंदेखि जरा गाडेर कलङ्कको रुपमा रहेको विधवाप्रथालाइ निर्मुल पार्ने उद्धेश्य राखेर नाटक लेख्नु र कृतिको रुपमा प्रकाशन गर्नु आफैंमा ऐतिहासिक काम हो । यो हाम्रो समाजमा जरा गाडेर रहेको कुरीति हो , यसलाइ हाम्रो कानुनले निर्मुल गरे पनि एक्काइसौं सताब्दीको यो प्रहरसम्म आइपुग्दा पनि सामाजिक रुपमा पूर्णरुपेण सर्वस्वीकृत हुन सकेको छैन । हज्जारौं नेपाली छोरीले नाटककी नायिका शशीले जस्तै अपमानित विधवा जीवन जीउन परेको छ । यसलाइ उच्छेद गर्न अत्यावश्यक छ ।
आजका रङ्गकर्र्मी र नाट्यसंस्थाहरुले विदेशी नाटककारको नाटकलाइ अनुवाद गरेर प्रदर्शन गर्नभन्दा यस्ता मौलिक र ऐतिहासिक नेपाली नाटकलाइ मञ्चन गर्न सरिक हुनपर्छ । यसो गर्न सके नेपाली रङ्गमञ्चमा मौलिकता आउनको साथै हाम्रा अग्रज नाटककारलाइ सही अर्थमा सम्मान हुनेछ । कलंकी समाज नाटकले पूर्णता पाउनेछ ।
लेखक परिचय
राजनीतिशास्त्र (नेपाली प्रेसमा राजनीतिक प्रभाव) मा विद्यावारिधी गरेका दुलाल – चार खोल साप्ताहिक, इलाम (२०५४), अपरेसन साप्ताहिक, पाँचथर (२०५६) , आँखा साप्ताहिक, इलाम (२०५९ देखि २०६४ सम्म), आँखा द्वैमासिककाे सम्पादककाे रुपमा काम गरिसकेका छन् । नेपाल विद्याभूषण, नेपाल सरकार (क) २०६७ क्षेत्रीय प्रतिभा पुरस्कार, नेपाल सरकार (२०७२), बुद्धि घिमिरे वाङ्मय पुरस्कार (२०७३), यमुनादेवी वैजनाथ भट्टराई पत्रकारिता पुरस्कार (२०७४) लगायतका पुरस्कारबाट संम्मानित दुलालका साहस, नाटक (२०५१) , सेतो परेवा, एकाङ्की संग्रह (२०५५) , रङ्गधोजी, उपन्यास (२०६०), विकासको जरा इलाम (२०६६), नेपाली छापामा राजनीतिक प्रभाव (२०६७) लगायत दजनाैँ कृतिहरु प्रकाशन भइसकेका छन् ।