धर्ती रिक्त छ यतिबेला
जसरी म रिक्त छु
रगत बग्दाबग्दै शरीरमा,
श्वास चल्दा चल्दै छातीमा
त्यसरीनै
मानवता र प्रेमलाई
कुल्चिएर हिड्ने
गतिशीलता पनि
रिक्त नै हुँदोरहेछ ।
धर्ती शून्य छ यतिबेला
जसरी म शून्य छु
यी अथाह
कोलाहलहरुका माझ
त्यसरीनै
दुनियामा भूकम्पै ल्याउने
बिस्फाटक आवाज पनि
सुन्दोरहेनछ मान्छे
अस्तित्वको नाममा
शान्तिको हत्या गरेपछि ।
रिक्तताको यसै श्रृङखलामा
ईश्वर भएर पनि
मन्दिर रिक्त छ,
मस्जिद, चर्च, गुम्बा
सबै सबै रिक्त छन् यतिबेला ।
र रिक्तताको
यो अनन्त फैलावटमा लाग्छ
हावा रिक्त छ,
पानी रिक्त छ,
माटो रिक्त छ,
जङ्गल रिक्त छ
किनकी
अस्तित्वको सच्चाइ पनि त
आखिर रिक्ततामै
अडेको हुदोँरहेछ ।
लेखक परिचय
मुख्य रूपमा ढुंगानाका सिर्जनामा आध्यात्मिक चेत र शुन्यवादको प्रभाव दखिन्छ । उनी विशेष गरी कविता र निबन्ध बिधामा कलम चलाउने गर्दछन् ।