काठमाडौं धेरैकोलागि रहरको शहर हो। संघर्ष र सफलता काठमाडौमा देख्ने जमात आज पनि धेरै छन् । काठमाडौसँग पौठेजोरी खेल्न हम्मे हम्मे परेको कथा पनि धेरै सुन्न पाइन्छ। मोफसल र केन्द्रको बहस पनि अझै शुन्य भएको छैन। तर कवि महेश कार्की क्षितिजलाई काठमाडौको संघर्षले कवि बनाउँदैन, काठमाडौसँगको पौठेजोरी उनलाई पहाड लाग्दैन । उनि प्रष्ट रूपमा भन्छन् :
भोजपुर छोडेर काठमाडौतिरको बाटो लाग्दा मलाई त्यहाँको पहाडी बाटोले भनेको थियो,
‘गधेपच्चीसी तिम्रा पैतालाहरू
कविताको पहाड लिएर
सहरबाट फर्किन्छन् कहिले ?
त्यही प्रश्नको उत्तर हो – एक्लो महारथी
शिखा वुक्सको प्रकाशनमा कवि क्षितिज पहिलो कविता संग्रह एक्लो महारथी लिएर आएका हुन । उनका कविताहरू भोजपुरे बाटोलाई उत्तर दिनलाई अथवा माटोको सुगन्ध सम्झने नाममा, या त सपनामा तरंगीत हुने श्यामश्वेत गाउँले नक्सा प्रस्ट्याउनलाई हो गाउँका कथाहरू प्रसस्त पढ्न पाईन्छ । संग्रहमा सहरका कथा नभएका त होइनन् तर तुलनात्मक रूपमा सहरको कवितामा कवि क्षितिज हावी देखिन्छन् भने गाउँका कवितामा क्षितिजमाथि कविता हावी हुन्छ :
सुक्ति बनाएर संस्कृतिलाई
गाउँभरि गीत रोपेर
गीतभरि गाउँ गाइरहेका छन् – गाउँका मान्छेहरू
नानीहरू
गाउँदैछन् तोतेबोलीमा शिशुगीत–
‘ऐया बाबा घैया पाक्यो चिउरी कुटाइदेऊ न
नेपालबाट बेउलो आयो बेउली लुकाइदेऊ न ,’
(गाउँमा छन् गीतहरू)
कवि क्षितिजका प्रत्येक कवितामा आख्यान छ । समयको चेत, विसंगतीभित्रको विद्रोह, दबाईएका आवाज, समाज र सामाजिक कुरीतिहरू कवितासँगै ‘भिज्वलाईज’ हुन्छ । कविता पढिरहदाँ किताबको पानाभित्र कुनै चलचित्रको पात्रहरू नाचेझैं नाच्छन् पात्रहरू :
‘नाङ्गिदै गएको मालिकअगाडि उभिएर
भनी सुरेखाले,
‘‘यो मेरो अन्तिम नृत्य थियो
यो झुम्का, पाउजु, शिरबन्दी फिर्ता दिँदै
म छोड्छु कलामा शरीर बेच्ने खेल ।’’
मालिक बोल्नै पाएको थिएन
त्यहीबेला आई उसकी कान्छी छोरी
र भनि, ‘सुरेखा दिदीको सट्टा म बन्छु नर्तकी
प्याला भर्नुस् बाबा ।
जसरी हेर्नुहुन्थ्यो सुरेखालाई
तिनै आँखा फर्काउनुस् मतिर
जसरी जहाँजहाँ छुनुहुन्थ्यो सुरेखालाई
डाम्नुस् मेरा अङ्ग अङ्ग पनि
सुरेखाको शरीर मेरो चाहिँ होइन र ?
मालिकले गोली चलायो छोरीमाथि
त्यतिबेला सुरेखा घरको सङ्घार काटेर गइसकेकी थिई । (स्वतन्त्रता)
खासगरी नेपाली साहित्यमा पूर्वीय दर्शनको प्रभाव व्यापक मात्रामा भएको पाईन्छ । क्षितिजका कविताहरूमा मिथकिय प्रभाव, त्यसमा पनि पूर्वीय दर्शन र त्यहाँका पात्रहरू उत्तिकै पाइन्छ । कतै विष्णु त कतै बृन्दा, कतै द्रौपदी त कतै विदुरहरू देखा पर्छन् । दार्शनीक पात्र र आफ्नै समाजिक परिवेशसँगको कलात्मक अन्तरघुलनले उनका कवितालाई अझ रसिक बनाएको छ ।
कवि क्षितिजको कविताहरूमा समयको चेत प्रशस्त पाईन्छ । उनी कवितामै देशको हिजो आज र भोलीको तस्बिर उर्तान सक्छन् । उनि हिजो र आजको परिवेशलाई नियालेर भोलीको निर्मम कल्पनामा डुब्छन् त कतै चरम निराशामा पनि आशाको दियो जलाउन तत्पर रहन्छन् :
मलाई सार्वभौम हली मान्नुहुन्छ भने
स्वाभिमानको इतिहास लेख्ने मौका दिनुस्
म हल गोरु नारेर भए पनि
जन्मभूमिको लाज बचाएर
देशमा स्वाभिमानको मागल गाइदिन्छु
हलीले जति देश अरु कसैले चिनेको हुँदैन ।
(हलीको मागल)
एक्लो माहारथी भित्र छोटा, लामा गरी करिव चार दर्जनको हाराहारीमा कविताहरू संग्रहीत छन् । कविताको आफ्नै वहाव हुन्छ । छोटा कविता बनाउने नाममा केही कविताको फैलावटलाई रोके जस्तो, वहावलाई थुनेजस्तो भान पर्छ । कुनै कवितामा शिर्षक र कविताको तालमेल कता कता नमिलेको अनुभूति हुन्छ । कतिपय कवितामा कविको अनुभव भन्दा बाहिरको विषयलाई प्रस्तुत गर्दा कविताभन्दा कवि हावी भएको महसुस हुन्छ ।
फेरी पनि, कवि क्षितिज कविताको पहाड बोकेर फर्कीएका छन् । महेश कार्की लाई प्रश्नमार्फत कवि महेश कार्की क्षितिज बनाउने पहाडी बाटोले कविता संग्रह ‘एक्लो महारथी’लाई भव्य स्वागत गरोस् । शुभकामना !