काव्य लोकमा
जब उनी
जेठ महिनाको उखर्माउलो घाममा
मैमत्त कोरली बनेर ओस्राएकी हुन्छिन्
मस्तिष्क, हृदय र कुण्डलिनीसम्म छुन्छिन् मेरो
कवि लोकमा
जब म
भदौको हपहप गर्मीमा
उन्मत्त साँढे भएर डुक्रिँदै हुन्छु
अनायास ललाट, वक्ष र मर्मसम्म सलबलाउँछु उनको
अनि अचेल
सधैं सधैं हाम्रो भेट
असार महिनाको हिलाम्मे तलको छोरेगरामा हुन्छ
जब जब यसैगरी भेट हुन्छ हाम्रो
बेसुर उनी कति लेखिईन्छिन् ???
बेसुर म कति लेख्छु ???
तर उनी आएपछि
नलेखिई जान चाहन्नन्
म पनि नलेखी रहन सक्दो रहेनछु
थाहा छैन
उनी तृप्त भएर जान्छिन् वा अतृप्त???
म सन्तुष्ट भएर बस्छु वा असन्तुष्ट ???
त्यो पनि थाहा छैन
उनी लेखिइन आईरहन्छिन्
म लेख्न पर्खिरहन्छु
उनी आउन थालेदेखि
बारम्बार आईरहेकी छिन्
म पर्खिन थालेदेखि
निरन्तर पर्खिरहेको छु
यसरी नै आजसम्म
उनी लेखिईरहेकी छिन् कवितामा
म लेखिरहेको छु कविता
तर,
आज त झन प्रणय दिवस
उनी कति मात्तिएर आउने हुन्
म भने अलिक बढी नै आत्तिएको छु।
तैपनि लेखिईन्छ होला कविता
यो चेतन भविता
प्रेमिल रमिता
लेखक परिचय
मुख्य रूपमा कविता विधामा कलम चलाउने एच एनको सिर्जनामा पूर्वीय दर्शनको प्रभाव साथै आध्यात्मिक चेत पाईन्छ । उनी कविता लेखनका साथै शिक्षण पेशामा समेत संलग्न छन् ।