बाटोमा हिंँड्दै गर्दा,
एक्कासी एउटी आमाको प्रश्न,
“भन्नु न मेडम म छोरीलाई के सिकाउँ ?”
जुन सवाल मेरी २ बर्षकी
छोरीलाई हेरेर
हर दिन,
म आफैँलाइ गर्ने गर्छु!
उफ्रँदै नाच्ने उनका ती कोमल पाउहरूलाई
जाउ, दौड, पुग परसम्म भनौँ
या भनौँ
होस् नहिँडेकै ठिक छ!
गुनगुनाउन खोज्ने उनका ती ओठहरूलाई
गाइदेउ गीत, सुनुन् सबैले भनौँ
या भनौँ
होस् नबोलेकै ठिक छ!
सकि नसकी क-क भन्दै धर्का तान्ने ती हातहरूलाई
रच न त पुस्तक, पोख सबै कुरा भनौँ
या भनौँ
होस् नलेखेकै ठिक छ!
हर बिहान उनी मुस्कुराउँदै आँखा खोल्छिन्
म उनका आँखाका प्रत्येक व्यक्तता बुझ्नसक्छु,
प्राय उनी आकाशतिर हेर्छिन्
पन्छीजस्तै बन्ने उनका सपनाहरूलाई गोडमेल गरिदिउँ
या भनौँ
होस् पिँजडाभित्रैै ठिक छ!
लेखक परिचय
त्रि.वि. बाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी शर्मा लघुकथा र कविता लेखनमा सक्रिय छिन् । उनका लेखरचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भइरहन्छन् ।