यतिबेला फूलबारीलाई नियालेर हेर्ने हो भने
घटिरहेको छ-
एउटा बिचित्रको दुर्घटना !
हरेक बोटहरूलाई दूर गाउँका घरहरू मान्ने हो भने –
हराएका छन् बयस्क जिन्दगीहरू !
यतिबेला –
साना कोपिला र गलेका बृद्ध फूलहरूले
रुँगेका छन बगैंचा
हर बयस्क फूलहरू छुट्टिएर आफ्नै परिवारसँग
समर्पित भएका छन्- अर्कैका लागि
जसरी समर्पित भएका छन्
नेपाली सन्तानहरू खाडीमा, अर्कैका लागि।
बिरामी बोटहरू बतासले यसरी हानिएका छन्
जसरी आउँछ साहु परदेशिको बा-आमा डस्न !
पातहरूले दु:ख गरेर बनाएको खाना बासी परेको छ
जसरी
बल्लतल्ल तताएको चुल्हो आँसुहरूले भिज्छ र
कसौंडिको चामलले केवल कसौंडि अघाउछ
बगैंचामा चलेको छैन
फूल र भमराको रोदी
हरेक बगैंचामा सन्त्रास फैलिएको छ
जसरी जनआन्दोलनमा आत्तिएथ्यो गाउँ !
हिजोआज बगैँचाहरूले देख्नै चाहदैनन्
हातमा हात समाएर हिडेका प्रेमजोडीहरू
कोपिलाहरू फक्रिनै चाहदैनन्
हरेक फूलका बोटलाई आमा मान्ने हो भने –
जन्माउनै चाहदैनन सन्तान!
हो आजभोली फूलहरूनै बिरामी परेका छन्
सिध्याएर फूलको आयू
यो दुनियाँ चाहदैछ अमर प्रेम
डुबाएर हरेक फूलका बोटहरूलाई आँसुको सागरमा
यो दुनियाँ बनाउन खोज्दैछ हाँसोको साम्राज्य
सिध्याएर बगैंचाको सुन्दरता
यो दुनियाँ चाहदैछ सुनौलो सँसार!
जब फूलहरू बिरामी पर्छन्
जब फूलहरूको हत्या गरिन्छ
जब बगैंचाको अस्तित्व कुरुप बनाईन्छ
तब
चाहेर पनि सुन्दर हुदैन प्रेम
कसम खाएर पनि अमर हुदैन प्रेम!
अँगालोमा बेरिए पनि गाँठो पर्दैन प्रेम
स्वयं प्रेम बिरामी परेको बेला
हातमा फूलका मृत गुच्छाहरू बोकेर हिड्नु
मलामी जानु सिवाय केही होइन !
लेखक परिचय
प्रज्वल अधिकारी अहिलेको समयका शक्तीशाली कविहुन् । अधिकारीले राष्ट्रिय कविता महोत्सव-२०७७ मा द्वितीय पुरस्कार समेत प्राप्त गरेका छन् ।