एउटा आभास थियो
तिमी हुनुको
जस्तो यो बतासको हुन्छ
जस्तो यो घामको किरणको हुन्छ
जस्तो यो खोलाको सुसेलीको हुन्छ
जस्तो माटोको सुगन्धको हुन्छ
हाम्रो प्रत्येक भेटमा
हामीले पिउने चुरोटका खिल्ली
प्रत्येक चुस्कीमा ओठले स्पर्श गर्ने कफीका प्याला
अहिले पनि साबिती बयानमा उभिरहेका छन्
र वकालत गरिरहेछ हाम्रो प्रेमको
एउटा अनुपम समय थियो त्यो
जतिखेर आंखाहरू संवादमा हुन्थे
ओठहरू मौन रहन्थे
अवश्य स्पर्श जिउंदो हुन्थ्यो
हातहरू मुर्दा पल्टिन्थ्यो
त्यहाँ न आग्रह थियो
न पुर्वाग्रह
थियो त बस
एउटा आत्मियताको धागो थियो
जो मैले बयरको रुखको फराकिलो आयतन रिङ्गै टाँगेर मागेकी थिएं
बस तिम्रो उन्नति को भर्याङ
जसको खुड्किलाहरू तिम्रो पदचापसंगै पवित्र हुन चाहन्थ्यो
दुर्भाग्य
मैले बाँधेको धागोको गाँठो पार्नै बिर्सिएछु
लेखक परिचय
बिना थिङ साहित्यका विभिन्न विधाहरूमा कलम चलाउने गर्दछिन् । रातो घर कविता संग्रह, छुकि कथा संग्रह प्रकाशित छन् भने याम्बुनेर कथा संग्रह उनको पछिल्लो प्रकाशित कृती हो ।