बर्षौंदेखि देश खोज्दै हिँडिरहेको म
केवल ग्लोबमा मात्रै देखेँ देशको नक्सा
देशमा आजसम्म देश भेटिएको छैन
भेटिए सडक छेउमा भाचीँएको रुख झै
छाप्रो बनाएर बसेका हुलका हुल मानिसहरु
भेटिए आँखामा देश राखेर हिडेँका गैर नागरिक
जस्ता देखिने मान्छेहरु
देश खोज्दै जाँदा
ईतिहासमा मात्रै भेटिए देशका सिमाहरु
पढियो पुर्खाहरुको रगतले भिजेको हो देशको माटो
सिकाईयो देशभक्ति , देशप्रेम
देखियो तिनै देशभक्तहरुको हातमा बन्दुक
देखिए देशवासी भएर पनि नागरिकता नपाएकाहरुको जमात
देश खोज्दै जाँदा मैले देश कहीँ भेटीन ।
देश खोज्दै जाँदा
भेटिए देशमा नेताहरुका ठूला-ठूला बार एण्ड रेस्टोरेंटहरु
भेटिए ठाउँ ठाउँमा नेताहरुका जुवाघरहरू
भेटिए केही वेश्यालयहरू पनि
सुनीए त्यही वेश्यालय भित्र विवश नारीहरुका चित्कारहरु
देखिए भोकले माटो खाईरहेका बालकहरू
देखिए भोक सहन नसकेर आत्महत्या गर्ने परिवारहरु
देखियो देश भित्र-भित्रै खुकुलो भएको
देश खोज्दै जाँदा मैले देश कहीँ भेटीन
सरकार,
के देश भनेको देशको नाम मात्रै हो ?
लेखक परिचय
कमल ढुंगाना अहिलेको समयका शक्तिशाली कवि हुन् । कवि ढुंगानाले ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तराष्ट्रिय पत्र-पत्रिकाहरूमा समेत रचना प्रकाशन गरिसकेका छन् ।