जब जब कक्षाकोठामा
खप्टिएका समूह पढाउछु
आमा मलाई तिम्रो याद आउँछ
गर्व लाग्छ तिम्रो उप-समुह हुनुमा
जब जब
छुट्टिएका समूह पढाउछु
बाबा मलाई तिम्रो याद आउँछ
तिम्रो काम गर्ने खाडी सम्झिन्छु
समय पनि त धेरै भो हामी छुट्टिएको
दु:ख लाग्छ तिमीसंगै नहुनुमा।
दिदी, भाइ निस्ठुरी भयो भनेर मन न दुखाउनु
नाफा नोक्सान का हरेक समस्या समाधान गर्दा
तिम्लाइ सम्झिन्छु
याद आउँछ
तिमीले मागे जति पैसा नदिदा मलाई नाफा भएको
तिमी पनि सम्झिदी हौ
आफूले मागे जति नपाउँदा नोक्सान भएको
उ बेला बच्चै त थियौँ।
कर पढाउदै गर्दा
मेरो देशको सरकारले
गरिबलाई सेक्ने गरि लगाएको कर सम्झिन्छु
लेखाजोखा गर्न मन लाग्छ
सोच्छु गरिबहरू,श्रमिकहरू कहाँबाट तिर्दा हुन
यति विधि करका भारी ?
ए सरकार किन सेक्छस गरिखानेलाई
युगौ युग सम्मन।
छुट रकम पढाउदै गर्दा
सेतो गुलाफ झै फुलेकी
म मेरो गाउँकि बाल बिधवालाई सम्झिन्छु
उन्को जीवनका दुखै दु:ख का चाङ बाट
अलि कति दु:ख
अलिकती एक्लो पना
अलिकती बिरह बेदनालाइ छुट गरि दिए पनि हुने।
जब जब परीमिती निकाल्छु,ठोस बस्तुको
गाउँले मुखियाको खेतबारि सम्झिन्छु
र आफैलाई प्रश्न गर्छु उसको मात्र
खेतबारी किन ठूलो ?
क्षेत्रफल सिकाउनु अगावै उसैको आलिसान महल सम्झिन्छु।
र लाग्छ हामी त अनियमित बस्तु हौ
क्षेत्रफल निकाल्न पनि अर्काको साहारा लिनु पर्ने।
साइँला दाईका अनुहारका बक्र रेखा लाई सम्झन्छु
हरेक दिन को ज्यामिती क्लासमा
हातका ठेला सम्झिन्छु
बृत को परिधी निकाल्दा
लाग्छ कैले काहीँ त
बक्र रेखालाइ सिधा बनाई दिउँ
उसका हातका ठेलाको परिधी निकाली दिउँ
बिडम्बना मलाई उसका हातमा परेका
ठेलाको न परिधी निकाल्न आउँछ
न उसका बक्र रेखा सिधा पार्न।
जे सुकै कुराको क्षेत्रफल,आयतन,घनत्व,परमिती
भन्नुस निकाली दिन्छु
तर सक्दिन
बा का आँखाको आयतन निकाल्न
आमाका हातका ठेलाको घनत्व निकाल्न
प्रेमिकले गर्ने माया को तौल निकाल्न
छोराको भोक को क्षेत्रफल निकाल्न
हजुरआमाको टेक्ने लौरिको लम्बाइ निकाल्न
चक्रीय ब्याज पढाउनु अगावै
तल्ला घरे कमान दाइ को याद आउँछ
पोहर साल मेरै अघि
साहुलाई तिरेको
एक सय सावाँको तीन सय ब्याज मात्रै छ महिनामा
मध्यक पडाए झैं सबैको औसत जीवन
एउटै भैदिदो हो त किन दौडी राख्थे र
कोही भोक मिटाउनको लागि
कोही भुँडी घटाउनको लागि
एका बिहानै
मध्यिका पढाउदा कक्षा छ को
मान बाहादुर लाई सम्झिन्छु
किन उ मात्र सधै अन्तिम बेन्चमा
टोलाइ रह्न्छ आफ्नो फि तिर्न
गिट्टी कुटन एका बिहानै खोला छेउमा
गएकी आमाको यादमा
के मान बाहादुर लाई बिचमा बस्न रहर लाउदैन होला र?
साथिभाइको?
सम्भाब्यता पढाउदा झल-झली याद आउँछ
छोरा जन्मिने आसामा मेरा ठुला ‘बा’ ले
सात आठ छोरी जन्माएको।
माइन माइनस गुणन गर्दा प्लस हुने
माइनस माइनस भाग गर्दा प्लस हुने
खुसिलाइ के ले गुणन गर्दा खुसि होला?
दुखलाइ के ले भाग गर्दा सुख होला?
आँसु आँसु भाग गर्दा किन हाँसो हुँदैन?
जुन कुरा गणितमा खोज्दै छु म
के जिन्दगी नामको च्याप्टर पनि
भेटिएला र गणितमा?
मेरी प्रेमिका पनि सोच्दि हो
यस्ले पढाउने गणितमा
मेरो पढाई पनि हुन्छ होला र
हो प्यारी तिमी
बर्ग समिकरण को हल गर्दा
भेटिएका दुई मान मद्धे
एउटा तिमी हौ एउटा म हो।
गणितका हरेक च्याप्टर जिन्दगिका हरेक मोडमा
प्रयोग भै रहदा रहेछ्
मैले पढाउने हरेक गणितमा
जीवन भेट्छु पात्र भेट्छु
गणितका सबै समस्या समाधन गर्न सक्छु
तर पात्र पात्र नै बनिरहे
धन्न गणित शिक्षक भएर
सम्झिने मौका त पाँए मेरा पात्रहरूलाई।
लेखक परिचय
रियल तेज नेपाली साहित्यको युवा पुस्ताहरूमा खरो रुपमा उत्रिएको नाम हो । उनी विशेषगरी कविता विद्यामा कलम चलाउँने गर्दछन् । पुटकर रुपमा उनका रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।