दिलमाया
निशान्तको प्रहरमा हामी
संगसंगै हिडेंको हिजो जस्तो लाग्छ दिलमाया
रमिते भञ्ज्याङको खुइँया मार्ने उकालो
शीतले लपक्कै भिजेको
नागबेली त्यो थकाइ लाग्दो पच्याङ्ग गोरेटोमा ।
सङ्गपुरेकमा नाँघेपछिको तेर्छो कुइनेटोमा हामी
कटुसको दाना टिपेर खाँदै जाँदा
नौतुन कलिलो घामको न्यानो ताप्दै
प्रदेशी चराहरूको अनेक बथान
जंगली मसिनो पोथ्राहरूमा
शीतको पानी पातहरूमा पिउँदै
उधांैली ओर्लेका चराहरूले पातल सुसेल्दा
त्यो अनेकताको मिठो सुस्केरादेखि
कठैबरी ! सिरेन बिरह चल्छ
यति मिठो स्वरले कसलाई डाकेको हो यी चराहरूले भन्थ्यौ
र त्यहिं हेर्दै–हेर्दै हामी
रथेपा चौतारामा थकाइ मारेको
कतै बिर्सिपो सक्यौकी हौ गाँठे दिलमाया तिमीले ? ।
महाभारतको लेकाली रुखो डाँडैडाँडा
बतासिएर आउने चारखोले चिसो फुइकिले
भुइँ–भुइँमा सिलिलीली दगुर्ने सिरेटो सँग
सिमलको भूवा जस्तै गोञ्जागोल बादलको ताँतिले
बुढो खर्सुको टुप्पोहरू छोपेपछी
धनमाने पातल र मजुवा भञ्ज्याङ् छोपिंदा
हात समाई उठेर हिड्यौं हामी
समात्दै लेकाली बाबियोको बोट
अक्करे कुइभिरको उकालो हँुदै
पाटेनागिको तेर्छो
अमिलो मल्लेडो
घरी टर्हो गुल्फा टीपेर खादै ।
शीतकालीन तुसारोले कोपारेको पाटेनागीमा
गुइँठाले सप्रिएका तिई पम्फा र ढुङ्ग्रिफुलले
सजिएको चौरमा
डाहा लाग्दो प्रेमलयका जोडी लेकाली मलेवा
हाम्रो अघि पछि खेलीबस्दा
मैले हामी दुईको झल्कोमा
बेस्सरी रहरको काफबाट उम्रने
यौवनको हाँगाहरूमा चडेर नानाओली मन खेलाएँ
स्वामी खप्तड बाबाले भने जस्तै
भाव–भावनाको नाम नै प्रेम हो ।
हो साच्चै प्रिय अप्रियका भिन्नताको हेतु
भाव–भावना त रहेछन् नी
र नै मेरो मनमा उम्रेका अजङ्ग कौतूहलताको
निलडाम सबै थाँती राखेर
प्रेम अमरत्वलाई देउराली भाकि
यो जूनीको कालावञ्जरमा
सुन्दर अमरबेली उमारेर
त्यहिँ कयौं पटक बेरियांै हामी ।
बतासको बुँइ चढेर
वसाइँ हिडेंका बादलको ताँति माथि
जिङ्ग्रिङगै परेको घामको खुट्टामा झुन्डिएर
सुस्तरी ओर्लेका लोकान्त त्यो हुस्सुको लावा लस्करदेखि
झिगनीको पातहरूमा बज्रिएर
तप्प–तप्प खसेका पानीका थोपा
रानी चरोले टप्प टिपेर पिए झै
हामीले पनि टपक्क टिप्यौं
भैरुङ्ग पातीलाई ।
डाँफे खेल्नेदेखि
मजुर नाच्ने सम्म
सबै सम्झि भाकेर
भैरुङ्ग पातीलाई
चढाएका थियौं देउरालीमा
र त मुजो परेर दुई फ्याँक बन्छ कलेजो प्रदेशमा मेरो
विपना पनि सपना बनेर डुल्छ घरको देशमा
सम्झनाको हवाईजहाज चढेर
सात समुन्द्र तरेर पनि
तिमीलाई नै देख्छु
यहाँदेखि अन्तै देख्ने मेरो कुनै सहर र गाउँ हँुदैन ।
चार खर्ब प्रकाश वर्षपछि
अद्भूत तारा आएर पृथ्विसँग ठोक्किन्छ
जो बैज्ञानिक तथ्य अकल्पनिय लागे जस्तै
वर्षौंपछि जुरेको साइत छोपेर म
जहाँ सालनाल आफ्नो पुरिएको हुन्छ
उहिँ भूमी स्वर्ग भन्दा प्यारो
आमाको काख जत्तिकै न्यानो
जहाँ मेरो सालिन पुस्ताहरूले
पाँङदुरको गीलो माम खाएर
लोसेखा बारीमा पोलेको झ्यासको गन्ध जस्तै
केवल पुरानो सम्झनाहरूको
चिसो सिरेटोले अमिलो मनको कुनामा
कोकोले चराले लुकाएको मक्कै
पाखावारीमा बुरुरु उम्रे जसरी
सम्झनाहरू छत्तीभरी उमारेर
नरुवा खुवाएर फर्केका गाइबस्तु बान्ने समयमा
घर आइपुगेको साँझ
देब्रे कान बज्यो
यो हुनु मेरो लागि शुभ संकेत थिएन ।
कुनै सुन्दर बगैचाको रुखलाई चट्याङले हानेर
हाँगा लाछिएर भुइँमा खसे जस्तै छरस्त
मैले तिम्रो महादुखको अशुभ खबर पाएँ
क्षणभरिमा मेरो खुशीका जोडी वहनालाई
हुरी चलेर भुइँकुहिरोले छोपिंदा
सारा सपना नदेखिदंै वतासिएर उडेर गयो
बिचित्रको अद्भूत अधेरी मुलुक बन्यो मेरो ।
कर्म लीलाको बाटोमा
सपना जस्तो अन्तै लोक पुगेर तिमी
देउरालीको ढुङ्गा भएर खरबारीमा एक्लै
विलापको बुकिफुल फुलाएर छात्तीभरी
पाँचहात अंस रुङ्दै
सम्झनाको आगो तापेर
ए पापिनी दिलमाया
कहिले नफर्किने सुम्निमाको देशमा पुगेछौ
भैरुङ्गपातीमा मायाको चिनो फुलेको
अलिकति बाडुल्की मात्र मलाई छोडेर ।।
दिलमाया
लेखक परिचय
सिरेन वान्तावा कविता, नाटक, गीत, कथा (पर्यावरणीय लेखनमा साधनारत)मा कलम चलाउछन् । हाल सम्म उनका निशा पछिको निशान्त (नाटक) – २०५४, गीती एल्बम– बादलुको छाँयामुनि (२०७७), कृति प्रकाशित छन् भने कविता सङ्ग्रह बसाइँ हिड्ने आकास प्रकाशोन्मुख रहेको छ ।