१
चामल साटेर पीठो लानेले सिकाउँछ
स्वर्गको कुरा नर्क जानेले सिकाउँछ
आफू त साह्रै बबुरो भइएछ हजुर
दूध बेचेर मदिरा खानेले सिकाउँछ।
२
टाल्नु कसरी नचुहिने ठाउँ देखिएन
सबै बचेरा छोप्ने कुनै माउ देखिएन
अलकत्र मात्र हैन बालुवा पनि खाए
भ्रष्टाचारी हुँदै नहुने गाउँ देखिएन।
३
माया गर्छु भन्दै आफैँ पत्राचार पठायौ
झुठा साक्षी बकाएर कारागार पठायौ
अन्तिम पल्ट भेट्न आउँछौ भनेर पर्खेँ
कैदी बनाएर बद्ला लिन जार पठायौ ।
४
होसमै थिएँ तिम्ले त बेहोसी बनायौ।
झुठा आरोप लायौ व्यर्थै दोषी बनायौ।
हाँसेकै त थिए तिमी बिना यी नयन,
रुवायौ बगायौ सप्तकोसी बनायौ।।
लेखक परिचय
फरक शैलीका मुक्तक, कविता र गजल लेखनमा सक्रिय तिम्सिना एक सशक्त साहित्यकार हुन्। तिम्सिना साहित्य संजाल महासंघ, नव जागरण साहित्य प्रतिष्ठान लगायतका साहित्यिक संघसंस्थामा आबद्ध रहेका छन्।
मेरो रचनालाई स्थान दिनुभएकोमा हार्दिक धन्यवाद !