फुल छैन,फुलबारी छ।
केटाकेटी छैनन् खेल्ने आगन छ।
घर,मतान खालि छ।
ढीकीसार छ धान छैन।
जाँतो छ, न कोदो न मकै।
ढकेबारी, सालघरी,टारबारी
सोति खेत,धिर्जे खेत,जामुने खेत
सबै बाझो छ।
छोराहरु पढे–बढे,ठुलो भए र छुट्टीए।
नातिहरु पखेटै नपलाई देश प्रदेश।
“रेलै घण्टाउके
मैले दिएको बाँडी खान्छौके।”
गीत गाउँदै आउँथी टंकेनी बुडी,मरेर गई।
ए दु:खै लुकाई।
कुमारेको आमा झापा झरीन
सोमेनी बोजु बसाईसरीन।
“ए! एचएमटी घडी दमदिने,
यो दु:खी ज्यानलाई संझिने”
साथीहरु,बुढेसकालको दाँत जस्तो
एउटा–एउटा झर्दै गए।
आफ्नै खेतबारी प्रदेश भो
माईतिघर आफन्त टाढा–काहोका
यो नब्बे बर्षको उमेरमा
आफै गर्नु छ घाँस–दाउरा
सकि नसकी जोड्नु छ अगेना।
ए! अभागीलाई दु:खै सिरानी।
भालेको डाकमै उठ्छीन बोजु
आंगबुगंको डाडाँ उक्लीने बित्तिकै
ढोकामै खस्छ घाम।
पनी पर्यो कि सिकुवामा भेल पस्छ।
कहिले पस्छ झरी अगेना सम्म।
हुरीले कहिले धुरी उडाउँछ कहिले छाना।
झरी तर्काउनु
बर्षै पिच्छे काट्नु पर्छ चुलिभिरको खर
न बिजुली छ न पानी धारा
घरको लाछी,भुईचालोले लग्यो।
यो चार पुस्ता हुर्कीएको घरमा
छोराछोरी हैन,बोजुसँग
रातै पिच्छे दु:ख बास बस्छ।
यो उमेरमा
भो दु:ख नगर्नु बसाई जाम भन्छु
मधेस झरौँ गर्मी छ।
काठमाण्डौँ टाढा भो।
“हुट्टीट्याँऊ–हुट्टीट्याँऊ
हुट्टीट्याँउको पासुला कति बाँचुला।”
म यही घरमा मर्छु,भन्छिन।
हेर्दा यति बुडो र कुरुप
यो घर
बाजेको संझना बास बस्ने
बाजेको आत्मा डुल्ने खेल्ने।
बैसमै बिधुवा वनाएर जाने,
बाजेको अन्तिम नासो
मेरो बोजुको ताजमहल हो।
लेखक परिचय
गोपाल मगर विशेषगरी कविता विधामा कलम चलाउछन् । फुटकर रुपमा उनका रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।