छुटेर जानेहरू
छोडिजानेहरूले
सम्झनाका लहरहरू छोडेर जाँदा
रहेछन्
सुनिरहुँ जस्ता
केही शब्दहरू छोडि जाँदा रहेछन्
आँखामा अल्झिरहने तस्बिरहरू
र
बिसेक नहुने विछोडको घाउ
छोडिजाँदा रहेछन्।
लाग्छ, छोडिजानेहरूको मन हुदैन
हुदैन उनीहरू लाई
छुट्नुको पीडा बोध
हिड्दै जादाँ छुट्दै जान्छन् स्मृतिहरू
टेक्दै जान्छन् आफ्नै पाइलाका
डोबहरू
जुन बाटो भएर उनीहरू आएका थिए,
हिड्दै जादा जहाँ पुग्छन्
एक्लै पुग्छन्
र मन भित्र नयाँ सम्बन्धहरू रोप्छन्।
बस्नेहरूको त मन त्यही हुन्छ
जहाँ उनीहरू थिए
छुटिगएका साथहरू
झन नजिक बन्दारहेछन्
गाँज्दोरहेछ सामित्यताको तिर्सनाले
र रित्तो / रित्तो बन्दोरहेछ
उस्को आफ्नै समय
र परिवेश ।
छोडिजानेहरूको रहर बढी हुदो हो
छोडि जानेहरूको शहर अर्कै हुदो हो
लाग्छ दुख्ने कुनै अवयब हुदैन
बिदाईमा हात हल्लाए जस्तै
हल्लिदैन मन उसको
जुन दिन हल्लिन्छ मन
र रिक्तताको आभासले
भतभति पोल्न थाल्छ
त्यतिबेला एउटा चिसो सम्झनाले
तिम्रै आँखा अघि आत्महत्या गर्नेछ।
लेखक परिचय
विमल वैध अहिलेको समयका शक्तिशाली कवि हुन् । कवि वैधका अक्षर सिम्फोनी, समय र सपनाहरू, आकाश छुन खाेज्ने मनहरूलगायतका कृतिहरू प्रकाशित छन् ।