१
बेवारिस सम्झनाहरू
रहरहरू, सपनाहरू अखिर,
अनुहारमै ज्वारभाटा पिएर बाँच्छन् भने-
ऐनाको किनारै किनार हिँडेर रमिता हेर्नु
कतै छेकिइहालेछु भने अँध्यारो छाँयाले,
पोल्टामा जतनले भिरेको एउटा पुरानो
ऐना छ …
सम्झनाहरू बेवारिसै मरे त के भो,
जूनतिर फर्किएर उधारो नै सहि,
हरेक रात अन्जुलिमा उज्यालो थापेर
घटघट पिएकैछु त … !
२
नब्युँझ एकछिन…
बिपनाहरू सब भत्किएपछी
सपनाको एउटा सानो त्यान्द्रो समातेर
बसेकोछु ।
नब्युँझ एकछिन नब्युँझ,
बिपनामा भन्नै नसकेको
एउटा सानो कुरा,
तिमिलाई सपनामै
भन्नुछ … !
लेखक परिचय
करिब चालीसको दशकदेखि लेखनमा सक्रिय धरानका कवि सन्तोष थेवे रंगकर्मी र शिक्षक पनि हुन् । कविता सङ्ग्रह फालेलुङ र काबेली बजार उनको पहिलो प्रकाशित हो । अहिले भने उनी नाटक र शिक्षण पेशाबाट पर रहेर साधारण पढाइलेखाइमा व्यस्त छन् ।