लक्ष्मी आचार्य सिमरन
कालो मसिले सेतो कागजमा
दुईचार शब्द कोर्दैमा
म कवि बन्दिन
म त मेरो मनभित्र उब्जिएका
शब्दहरूलाई एकीकृत गर्दै
क्षितिजमा उडिरहेका
बादल सरि उडाइरहेछु
कहाँ हो गन्तव्य अनभिज्ञ छु।।
आज अनेकौँ प्रश्नहरू
आफ्नै छातीमा तेर्सिएका छन्
अगेनामा किटको कराईमा उम्लिएको
कोरली गाईको दूधजस्तै
मेरो मन भकभक उम्लिएको छ
मेरो कलमले हिंसाका कुरा खै त लेखेको?
हातले झोलाभरी पुस्तक , पेन्सिल
मातृस्नेहले भरीपूर्ण आमाले दिएको
भुटेका मकै र नुन खुर्सानीको पोको
खोल्न नपाई पल्लाघरे
कान्छीको तन लुछेर
बारीको रायोको साग निमोठे झैँ
निमोठेर उखुबारीमा फाल्नेको
विरुद्ध खै त आवाज उठाएको मेरो कलमले?
के चेलीको स्वतन्त्रता र न्याय यहि हो?
समाजमा विद्धमान
जातियता विरुद्ध आवाज उठाएको खै?
जनताको पसिना चुसेर
देशको ढुकुटी रित्याउनेको निम्ति
खै के बोल्न सक्यो र मेरो कलमले?
अहँ, म कवि होइन
यदि म कवि थिएँ भने..
हत्या, हिँसा, बलात्कार, भ्रष्टाचारविरुद्ध
आवाज बुलन्द गर्न सक्ने थिएँ होला
क्रान्तिको विगुल फुकेर
अशान्तिको बादलभित्र बाटो भुलेर
रुमलिएको यात्रीजस्तो कदापि
हुने थिएन मेरो देश
भर्खर आँखा उघारेका कलिला
चिर्विर चराहरूका प्वाँख काटिने थिएनन् होला
सुत्केरी आमाका मलिन ओठ
थर्थर काँप्ने थिएनन् होला ।।
माथि खोल्साघरे भाउजुको
रङ्गीन सिउँदो उजाडिने थिएन होला
बगैँचामा फूलेका रङ्गीविरङ्गी फूलहरूले
सुवास छर्न नपाई कोपिलामै
निमोठिएर बाटोमा फालिनु पर्ने थिएन होला
ठूलाबडा भनाउँदाले आफ्नो भोक मेटाएर
प्लास्टिकको थैलोमा पोको पारेर फालेको
सडेको खानेकुरा खाएर
सडकको पेटीमा कयौं रात बिताएको
कान्छो भाइले आफ्नो
आश्रय पाउँथ्यो होला
ठूल्दिदी र कान्छीले जवर्जस्ती कसैको
प्यास मेटाउने साधन बन्नु पर्ने थिएन होला।
ओ कवि! लाचार छन् मेरा आँखाहरू
आज खेलमैदान भएको छ मन
जहाँ हजारौँ शब्दहरू
ठूलै प्रतियोगितामा विजयी बन्ने झैँ
तँछाड-मछाड गर्दै गुडिरहेछन्
तर, तरपनि म लेख्न सक्दिन केही
किनकि, मलाई
जिउनु छ जीवन
यदि लेखेँ भने- मलाई
तड्पाई तड्पाई मार्नेछन् राक्षसहरूले
लुछ्नेछन् मेरो तनलाई
काटिनेछन् मेरो कलम समाउने
निर्दोष हातका औँलाहरू
पैतालाहरू एकाएक चल्न छोड्नेछन्
त्यसैले म लेख्दिन
जातिय विभेदका कुरा
भ्रष्टाचारविरुद्धका कुरा
घरेलु हिँसाका कुरा
बलात्कारका कुरा
हत्या र हत्याराका कुरा
लिपुलेक, लिम्पियाका कुरा
त्यसैले अब तिमीले लेख्नु है कवि
मेरो मन र कलम थर्थर काँपेको छ
किनकि म कवि हुँदै होइन ।।
लक्ष्मी आचार्य सिमरन
लेखक परिचय
तेह्रथुममा जन्मिएकी साहित्यकार लक्ष्मी आचार्य सिमरन हाल विराटनगरमा बस्छिन् । पेशाले दुग्ध विकास संस्थानकी जागिरे उनी आफ्ना भावहरूलाई शव्दमार्फत अभिव्यक्त गर्दै शब्दकै खुला आकाशमा उड्न मन पराउँछिन् । विशेषगरी कविता, गीत, गजल, मुक्तक विधामा कलम चलाउने आचार्य सबै विधाका साहित्य पढ्न रुचाउँछिन् ।
कबिता अत्यन्तै मीठो तर लेखक परिचय दिदा अलिकती मान सम्मान मा कम्ज भएको हो कि जस्तो लाग्यो शब्द्स्वपान सङ्ग गासिएको कबिको परिचय मा प्रयोग गरिएको शब्द थोरै अपाच्य लाग्यो मलाइ बस्छिन,उनी,गर्छिन जस्ता शब्द ले परिचय मा स्थान अब्का दिनमा नपाउन अल्कती भए पनि सम्मानजनक परिचय दिन तिर लागौँ।
लेखक परिचय
तेह्रथुममा जन्मिनु भएकी साहित्यकार लक्ष्मी आचार्य सिमरन ज्यु हाल बिराटनगरमा बसोबास गर्नुहुन्छ।पेशाले दुग्ध बिकास संस्थान मा जागिरे वहाँ आफ्नो भाबहरुलाई शब्द मार्फत अभिव्यक्त गर्दै शब्दकै खुल्ला आकाशमा उडान भर्न मन पराउनु हुन्छ।विशेषगरि कबिता,गजल,मुक्तक,लेखन साथै कथा र कृति सम्पादन जस्ता बिधामा वहाको योगदान रहेको छ वहाँ खाली समयमा प्राय सबै बिधा साहित्यमा रमाउन चाहनुहुन्छ विशेषगरि वहाँ लाई रचना बाचनहरु सुन्न सारै मन पर्छ।