मुनाराज शेर्मा
हापेन चोक महिमा
“हापेन चोक ! हापेन चोक ! कोही छ , ओर्लिने ?” ढोकामा एक्कासी ढ्याप्प…आवाज आयो । हामी बीचको सिटमा थियौं । कोही बिचैमा बोल्यो, “छुङ है I” उनीहरूले आरामको जिउलाई अलि हतारमा उठाएर ढोकाबाट बाहिर्याए । हामी चार मनुवाहरू पनि झर्यौँ । बिचमा ठाडो लम्पसार परेको मेची हाइवेमा शरीरको आँख्लाहरू एकछिन सदाएपछि मैले “चिया खाने होइन ?” भनेँ ।
अरू तीन याप्मी/मान्छेहरू यज्ञस, सुन्दर र राज माङ्लाकले “बजाऊँ ।” भने । मुनाराज शेर्मा
हामी पूर्वपट्टीको चियाबारी हुँदै शान्तिनगर बाहुन्डांगी जाने शाखा बाटोमै टाँसिएको दोकान भित्र छिर्यौँ I यो चोक तीसको सुरुतिर स्थापना भयो । तर बर्णे गाउँ राणाकाल भन्दा अघिदेखिकै हो । त्यहाँका बुढापाकाहरू नब्बे सालमा भल्टयाङ भुल्टुङ थिए रे I यहाँको रैथाने मगरहरू नै हो । रैका, गयाङ्मी, आले, पिठाकोटे, क्याप्छाकी, बलम्पाकी, राना आदि मगरहरूको बाहुल्यता थियो । अरू राई, खतिवडा आदि पनि थिए l
हामी बसेको टाटीको भित्तामा जोडिएको बडेमानको रातो शिरीषको बोट थियो जुन चिया बगानले सड्तिस सालतिर पूर्वमै प्रथम पटक बाटोको दुवैतिर रोपेको थियो । त्यसबखत मैले हाम्रो जग्गाभित्रको विरुवा विरोधस्वरूप उखेलेर फ्याँकिदिएको थिएँ । शिरीषको फेदको गुजुल्टिएको जरा नेपालको उच्च पहाडी भूभागको नक्साजस्तो थियो । जहाँबाट सयौँ नदीहरू जन्मन्छन् तर नछोई सिमाना कट्छन् । तथापि जसको उचित व्यस्थापन र प्रयोगले यो देश अचम्मै उन्नतितर्फ प्रवेश गर्न सक्थ्यो वा कुनै चिया श्रमिकको मेहेनती मुहारको चाउरी, जसले पुँजीवादको सयौं प्रयोगको प्रहार खेपेर आफ्नो असली उमेरभन्दा बहुराष्ट्र कम्पनीको उमेर भनिरहेको छ । या व्यक्त गरिरहेको छ यो देशको आर्थिक स्तरका ग्राफहरू।
“चिया आयो । लौ समाऊ है ।” राजले मुख खोल्यो । म झसङ्ग भएँ । आज म शिरीषको फूल होइन शिरिषको जराको चेतनमा पसेर फर्किएँ ।
“दिदी हापेन चोक कता पर्छ ?” झोला बोकी बोकी एक आगन्तुकले चियावाल्नी दिदीलाई सोध्यो ।
“यै हो है ।” बोल्दै दिदी भित्र छिरिन्।
मैले “यै दिदीको नाम हापेन्नी दिदी हो ” खुसुक्क भनेँ । यज्ञस ठूलो चिल्लो डन टाउको हल्लाएर हाँसे । राज झन्डै सर्कियो ।
स्माइलिङ फेसमा यज्ञसले हातको इसाराले ‘कसरी’ भनेर सोधे । मैले ‘अहिले भन्छु’ भनेँ । हामी बाहिर निस्कियौँ । केसी र केशव पनि आई पुगे, जो हाम्रो भुईयाँको चर्चाको स्थानीय आयोजक थिए ।
कथा तीसको दशकको हो । यो सडक एकतीस सालमा खुल्यो । यहाँको पुरानो नम्बरी बस्ती सय सालभन्दा अघिको राणाकालीन समयको हो । पुरानो सुकुम्बासी बस्ती सत्र सालदेखिको हो । यो चारकोशे झाडी बत्तीस सालमा चिया रोपणका लागि फाँडियो । चियालाई बाह्र सय बिघा जग्गा छुट्याइएको थियो । पाँच सय अठहत्तर बिघामा चिया रोपियो । बाँकी जमिनमा पैतालिस सालपछि देशभरिबाट जनता आएर कब्जा गरे । निजिकरणपछि पचास वर्षको लागि संघाईले लियो। सुकुम्बासीको किचलो फार्से गर्न चियारोपण क्षेत्र मात्र उपभोग गर्ने गरी संघाईले सन्ताउन्न सालमा क्याबिनेट डिसिजनबाट निर्णय गरायो I
“यी क्षेत्रहरू पनि भुईयाँको प्लटजस्तै राज्यले सम्बोधन गर्नुपर्ने रै’छ I” यज्ञस बोले ।
“हो नी, अब धनी प्रमाण-पूर्जा वितरण नगरी धर छैन ।खानेपानी, बिजुली, नहर, सडक, विद्यालयजस्ता क्षेत्रमा राज्यको करोडौँ लगानी भएको छ ।” मैले उत्तर दिएँ ।
आखिरी जनतालाई जग्गाको धनी प्रमाण-पूर्जा नदिएर राज्यलाई नै त घाटा छ । कर उठ्दैन । जनताले जमिन धरौटी राखेर कतै इलम गर्न पाउँदैनन् । ढुक्कले निर्माण पनि गर्दैनन्, हैन र ? धन्न यो पाली धनिप्रमाण पुर्जा दिने भनेर केन्द्र देखि स्थानिय तहसम्म कसेर परेको छ । लागी काम भयो भने गौरवको बिषय हो ।
त्यही बेलादेखि यो चोकमा यो बिना दिदी आएर बसिन् । व्यापार गरिन् । उनको व्यापार खुब चल्यो । उनी बाहिरबाट सायद भारतबाट आएकी थिइन् । इन्टरकाष्ट म्यारिज थियो उनको । फेसनेबल थिइन् । हटपेन्ट लाउँथिन् । हापेन नै लगाएकी चाहिँ होइन । सोम बहादुर मगरले ‘तारा चोकमा हापेन लाउने दिदी बस्छ । हापेन चोक जाऊँ’ भन्दै गाउँ पिट्यो । ऊ यो गाउँको बीबीसी थियो । कुरालाई घोलेर हसाउँथ्यो, राम्रो हाँस्य कलाकार थियो। एक कान, दुई कान रातारात हापेन चोक भयो । तारा चोक, गाविस चोक, शान्ति चोक कुनै नामले लछारपाटो लाएन । स्थानीय बर्णेबासीलाई ‘हापेन चोक’ नाम बसेकोमा बिस्मात थियो । सुनेर दुखी हुन्थे । मुख लेब्र्याउँथे । ‘कट्टु चोक चाहिँ कता ?’ सुनेर दिक्क हुँदै नाम फेर्न त्यसै ठाउँमा होटल चलाउने ताराको नामबाट नाम राखे । गाविस जाने सडक भएकोले गाविस चोक राखे । बोर्ड बनाएर राखे । हापेन चोक नभन्ने अभियान चलाए । असफल भयो । काठमाडौँको गङ्गबु, कोटेश्वर, भैरहवा, बुटवल, पशुपति, इलाम, बिर्तामोड, धरान सबका सब ठाउँमा हरेक काउन्टरमा, ‘हापेन चोकमा ओर्लिने ?’ भनेर बसको टिकेटिङ हुन थाल्यो । पैतालीस सालपछि बर्णे झोडामा इलाम, पाँचथर, ताप्लेजुङबाट धमाधम बसाई सरेर आउनेहरूले बिना झन्झट सगौरव यो नाम उच्चारण गरे । जो आगन्तुक थिए । उनीहरूकै बाहुल्य भयो हापेन चोक वरिपरि । अनि के थियो र आखिरी बिना लिम्बुले नचाहँदै ‘हापेन्नी दिदी’ भनेर नाम आर्जन गरिन् । यो नाम उनले चाहेर भएको होइन । रहोस् भन्ने चाहना पनि थिएन । शुरुमा रिसाइन् ।
सामन्य विरोध गरिन्। तबसम्म यो ढुङ्गाको अक्षर भईसकेको थियो । नेपालभरि फैलिसकेको नाम कसरी मेटिन्थ्यो र I आजकल त मान्छेले ‘हापेन्नी दिदी’ भन्छन् । उनी, नदीजस्तो चुपचाप आफ्नै गतिमा हुन्छिन् । सायद तमामलाई थाह छैन हापेन चोक कसरी भयो । नाम चाहेर राख्न सकिँदैन रहेछ यो पनि प्राकृतिक हुँदो रहेछ ।
“हैट ! स्टोरी गजब रहेछ ।”, सुन्दर दिल खोलेर खित्खितायो।
“हापेन्नी दिदीसँग एक सेल्फी लिउँ होला, सकिन्छ?” राजले जिज्ञासा राखे । “किन नसक्नु, जत्ति ।” मैले बिना दिदीलाई बोलाएँ । हामीले गजबको फोटो खिच्यौँ ।
— “@हापेन चोकमा, हापेन चोकको अज्ञात जन्मदातासँग”
जीवनको अनुपम अनुभूति जो बिरलै जुर्छ । झापा भद्रपुरमा एउटा फुटानी चोक छ । त्यो चोकमा जाँड खाएर जड्याहाहरू फुटानी लाउँथे रे वा धाक लाउँथे । त्यो त्यतिकै कुनै मनुवाले फुटानी चोक नाम राखिदिए र केहि समयमै सुपरहिट भयो। पहिलोपल्ट विगत कुनै एक मध्यान्हमा नामुद वैद्य निताईकोमा दर्फरिएको गोलीगाँठो लिएर जाँदा सुनेको थिएँ । म त्यो नामले निकै रोमाञ्चित भएको थिएँ । यो नाम त सिंहदरबारको राख्नु पर्ने हो I त्यहाँ फुटानीबाजहरू कम छन् र ? देश त कमिट्मेन्टले भन्दा फुटानीले चलाइरहेका छन् I बालुवाटारमा प्रतिज्ञा अडिन्छ र ?
संघीय स्थानीय तह र भुईयाँको परिचर्चा
स्थानीय तहको निर्वाचन समाप्त भएर वडा कार्यालय व्यवस्थापन भइसकेको थियो । हामीले स्थानीय निकायमा भाषा साहित्यको सम्बर्द्धनका लागि बुद्धशान्ति सांस्कृतिक प्रतिष्ठान गठन गर्यौँ तर कार्यान्वन गरिसकेका थिएनौँ। वडाध्यक्ष बुद्धि लिम्बुसँग छलफल गरेर भुईमान्छेहरूमाथि लेखिएको पुस्तक भुईयाँमाथि छलफल राखियो । वडाले प्रायोजन गर्न हार्दिक रूपमा स्विकार्यो । बुद्धशान्तिको बुद्धिजिवी संस्था प्रमुख र साहित्य प्रेमीहरूलाई निम्तो गरियो । बर्णेमा इतिहासकै प्रथम प्यानल डिस्कसन राखियो I हामीमा कार्यक्रम सफल हुँदैन कि भन्ने ठूलो भय थियो ।
आयोजक नेपाल लिटरेरी ग्रुप, पिपल छहारी पुस्तकालय र स्वर्णिम बाल क्लव थियो ।
प्यानलमा लेखक यज्ञस, दामोदर ढुङ्गेल र मुना राज शेर्मालाई नविन प्राचिनले मोडरेट गरेका थिए । उपस्थिति घनिभूत थियो । बर्णे चिया कमानका मजदुरको समस्या र बर्णे झोडाको सुकुम्बासी समस्यालाई भुईयाँको सिनो बहिस्कार आन्दोलन, सुकुम्वासी आन्दोलन, दलित मुक्ति आन्दोलन, नेपालको भूमि प्रथा आदिसँग कनेक्सन गरेर विषय उठान गरी घनिभूत छलफल भयो । यो कार्यक्रमले ग्रामीण क्षेत्रमा खुब प्रशंसा आर्जन गर्न सफल भयो ।
पुस्तक राम्रै बिक्री भयो । नपुगेर गुनासो खेप्नु पर्यो I तेतिखेर हो बर्णेले काठमाडौँलाई लोबारेको ‘देखिस् त काठमाडौँ हाम्रो कार्यक्रममा किताब कति बिक्यो! था भयो ?’ भनेर ।
हरियो चियाको सौन्दर्यभित्रको चिया मजदुरको व्यथा
कार्यक्रमपश्चात हामी अग्लो शिरीषको रूखहरूमुनि ट्रिम गरिएको चियाको अनन्त फाँट हेर्न गयौँ । मिलेको चियाको पङ्क्तिमाथि हाम्रा मनहरू ड्रोनजस्तै फुरुङ्ग भएर माथि-माथि दौडिए । पुतलीजस्तै फुर्फुर नाँचे । उन्मुक्त गौँथलीजस्तो कावा खाँदै बतासिए । के थाहा ती मनहरूलाई यो चियाको बोट हुर्किन मुल्यवान पसिनाको नदी बगेको छ । राष्ट्रले यति उन्नतिशील उद्योगलाई संरक्षण सम्बर्द्धन गर्न सकेन । सरकारको यो नपुङ्सकता र अकर्मण्यतालाई इतिहासले माफ दिँदैन । निजिकरणले मजदुरको हित गर्छ भन्ने सरकारको प्रतिज्ञा कुकुरकै पुच्छर भयो । त्यो पसिनाले पुँजीवादलाई मात्र पोस्यो । देशको सर्वोच्च उद्योगपति बनायो कसैलाई । तर पसिनाको मुहान, मजदुरहरूले यति न्यूनतम ज्याला पाए कि जो उल्लेख गर्न पनि बेकार छ । रु.२२०मा आठ घण्टा फरूवा चलाउँछन् । सिक्कल चलाउँछन् । केमिकल स्प्रे गर्छन् । वार्षिक सयौं टन बिषादी छर्छन् । कुनै मास्क, ग्लोब्स, बुट र सेफ्टी पहिरन लाउँदैनन् । कुनै विमा छैन । पेन्सन छैन । गतिलो चर्पी छैन । स्वस्थ खानेपानीको व्यवस्था छैन । साठी वर्षपछि अवकाशप्राप्त जीवन कसरी जिउँने कुनै साहरा छैन । बाँचिन्जेल रातदिन चियालाई जिन्दगी सम्झेर समर्पित हुने युवाहरू निरास छ्न् ।
त्यसैले धेरैले यो कमसल जागिर छोडे । विदेश पलायन भए । कतिले यतै निजी पेसा गरे । कति जनयुद्धमा प्रवेश गरे । यो पाली सांसद् पवित्रा खरेलले चियाको बुट्टा पक्डेर ज्याला दैनिक रू.५५० बनाइदिन्छु भन्ने आश्वासनको प्रतिज्ञा उनिउँको कथा नबनोस् भन्दा भन्दै गुहुकै गन्ध चल्यो ।
@इलाम/थाम्सुहाङ कविकुञ्ज/माइपोखरी यात्रा
प्रसिद्ध पर्यटकीय स्थल कन्यामको लवडाँडामा फटाफट सेल्फी ठोकेपछि चारैतिरको पर्वतीय सौन्दर्यको रसपान लिँदै कवि तथा समालोचक प्रकाश थाम्सुहाङको “थाम्सुहाङ कविकुञ्ज” इलाम पुगियो । यो घर सिर्जनशील अराजकतावादी कवि हाङयुग अज्ञात र गीतकार बसन्त थाम्सुहाङको पनि हो । आज आँगनमा पुग्दा नपुग्दै कवि सुन्दर कुरुपले ‘बोटबाट झरेको अम्बक प्रेसरको औषधी हो खानुपर्छ’ भन्दै क्वापक्वाप खाइहाले । हामीले खाएनौँ । हामी प्रकाशको घरअगाडिको खतरनाक अराजक ओरालोमा एक साँझ उनी कसरी अध्याँरोमा बाइकसँगै बाँसघारीमा लडेका थिए घटना सर्जमिनमा थियौँ । उनी खोल्सामा पहिलेनै उछिट्टिए ।त्यसपछि बाइक झर्यो । उनी त्यो तलबाट सिरियन नागरिकले रसियन बमवर्षक विमान हेरे झैँ हेरिरहेका थिए तर बाइकले नाघेर गयो र उनी बाँचे । एक डोज मृत्युलाई काव्यिक अभिवादन गरे। सुन्तलाको बगैंचा बिचमा कविको घर कविताको राजधानीजस्तो बगैंचा र चियाबारी । इलाम आउने कविहरूको नि:शुल्क गेष्ट हाउस । आजकल ‘सशुल्क हो नि:शुल्क हुन्न’ भनिसके जिस्किँदै प्रकाशले । मनको सम्राट प्रकाश र उनको जीवनसाथीको पछिल्लो नेपाली कविता र आख्यानमा थर्टी पर्सेन्ट सेयर छ त्यो कविता ‘खोलाको गीत’ होस् शब्दहरूको याक्सा, या करङको हिरासत, पृथ्वीको आविस्कार, मैले बोल्दा देशको नक्सा हल्लिन्छ होस् I आख्यानमा दमिनी भिर, लाटो पहाड, रातो बाघ सबका सबको लिटरेरी नेप्से सुचकाङ्कमा सेयरको उच्च ग्राफ छ । इलाममा पनि भुईयाँको घनिभूत छलफल भयो I प्यानलमा पहिलो पटक बसेका प्राध्यापकले प्रकाशको एउटा प्रश्नमा किताबै भनिदिएपछि कार्यक्रम छिटै सकियो । प्रकाशकोमा आएपछि इलामे तोङबा नखानु, माइपोखरी नजानु र ‘हरियो ग्रहको मान्छे’ कविता नसुन्नु अमेरिका पुगेर नायग्रा फल्सको झरनाको संगीत नसुन्नु, फ्रान्स पुगेर आइफिल टावरको उचाई ननाप्नुजस्तै अचम्म हुन्छ । अस्ति भर्खरै एक महिनामा उनी तीन पटक माइपोखरी गएछन्, कवि लेखकसँग मैले ‘टुर एण्ड ट्रयाभल्स खोल्नु नि’ भनेँ, उनी राउटे हाँसो हाँसे मात्र । हामी यो पाली बाइकमा गयौँ । प्रकाश र सुन्दर कवि पत्नीसहित थिए । विमल, यज्ञस, म र राज सिङ्गल । कविद्वयले कविहरू ‘एक्लै मात्र हिँड्ने, कवि पत्नीपिडक हुन्छन्’ भन्ने सफेद झुट आरोपलाई सखाप बनाएका थिए यो पाली । त्यस मानेमा हामी पनि खुशी थियौँ कि कविहरू पत्नीप्रेमी र सहयोगी हुन्छन्, प्रमाणित भएको थियो । यज्ञश माईपोखरीमा प्रथम पटक आएका थिए । यसअघि दीपक सापकोटालाई पनि धित मरुञ्जेल घुमाएका थियौँ । यो पाली पोखरीमा पानी एक दशक अघि बराबरकै थियो । नौ कुना भरिएको थियो । नेपाली म्यापल, फिरफिरेको बोटबाट पातहरू बाटोमा झरेका थिए तर क्यानाडाको जस्तो गुलाबी र रातै थिएन मन मात्र हाम्रो प्रेमले रातो थियो। मैले एक हजार वर्ष पुरानो चेस्टनट/कटुसको माउँ रूख उनलाई देखाएँ ।
तालमा लोपोन्मुख मान्द्रे झ्याउ हटाइएकोले देखाउन सकिएन । पहिले तालको बिचमा चिमाल फुल्थ्यो त्यो पनि थिएन । कुनै एक अमुक लाहुरेले छोडी गएको रङ्गीन माछाहरू मात्र थियो जसले गर्दा रैथाने माछाहरू संकटापन्न अवस्थामा थिए । बहुराष्ट्र कम्पनीजस्तो रैछ रङ्गीन कार्प प्रजातिका माछा I दुर्लभ ठकठके [ स्यालमण्डर ] र काँडे भ्याकुर [स्पाइनी ब्याबलर ] यो पाली पनि हेर्न पाइएन, जिन्दगीको एउटा छुकछुक । मुनाराज शेर्मा मुनाराज शेर्मा मुनाराज शेर्मा
प्रकाशले माईपोखरीबारे लामो व्याख्यान दिए ।
हामी भव्य खाना खाएर फर्क्यौँ । यादगार सम्झनाहरू जो हलहल उम्रिएको छ ।
किराँतीज्म
राज र म पाँचथर हानियौँ । अरू उतै छोडिए । मैले राजलाई यो पाली दुई ठाउँ घुम्छु भनेँ । उनले स्विकृति जनाए । हाम्रो योजना रंगवादी कवि चन्द्र योङयाँलाई पनि लिएर जाने थियो । कविहरू अनुत्पादक हुन्छन् भन्ने लघु मान्यतालाई आजकल कविहरूले उत्तानो पछारिदिएका छन् । चन्द्र फेदेनको होटल व्यवसायी हुन् । कोही न कोही, केही न केही व्यवसाय गरेर जिविकोपार्जन मात्र होइन समाज र देशलाई नै योगदान गरिरहेका कविहरू छन् देशमा अहिले । चन्द्र नभ्याउँने भएपछि हामी दुईजना मात्र लुब्रीकोटी चढ्यौँ I कान्छी बजारबाट १५ मिनट बाइकमा उकालिएपछि लुब्रीकोटीको भव्य आध्यात्मिक थलोमा प्रवेश गर्यौँ । प्राचिन लिम्बु गाउँबाट मुक्त भयौँ हामी । एकजना तुम्बापो बा माङहिमकै छेऊमा, पाठेघर क्यान्सरको औषधी, लौठसल्लाको बोटै काटेर के बनाइरहेका थिए मलाई विवाद गर्न मन लागेन, यो प्रतिबन्धित बिरुवा पनि हो । बिचरा उनलाई के थाहा ।
सयौं फर्फराईरहेको ध्वजाहरूले, फाल्गुनन्दको आध्यात्मिक चिन्तनले हावासँग संवाद गरिरहेका थिए । मेरो मन शान्त भयो । धुपीका सजाइएका बोटहरूबीच निर्मित कुटीहरूमा सानो झ्यालबाट चियाएर हेर्यौँ भित्र ध्यानस्थ फाल्गुनन्द कण्ठ, सिरफूल, गहना र कछाड लगाएर त्रिशुल छेउमा
गाडेर सानो नारी स्वरमा मन्त्र जपिरहेको कल्पना गरेँ । हजारौं वर्षदेखि स्थापित मुल्य मान्यताविरुद्ध बोल्नु उनलाई यो समाधि आवश्यक थियो । मैले हेरेँ छेउमा पैँयु फुलिरहेको थियो I कुनै पातहरू हाँगामा थिएनन् । नाङ्गो हाँगामा खाने झ्याऊ, याङवेन, झुण्डिरहको थियो । मैले राजसँग थोरै याङ्वेन टिपेँ, दुई खालको हुँदोरहेछ, चिन्नै गाह्रो । भैरुङ्गपाती, सुनपाती मकलमा पोलिएर गन्ध आईरहेको महशुस भयो । उनको निरामिस बन्ने, सादगी जिन्दगी जिउने मूल भाव मेरो हृदयमा गुञ्जेको आभास भयो । पुरानो घण्ट फुटेको रहेछ । हामीले त्यहाँको सन्नाटा बीचको शान्ति प्राप्त गर्यौँ । विशाल भव्य शालिकमा फाल्गुनन्द ठिङ्ग उभिएका थिए । मद्यपान जीवनको वर्वादी हो, वंशको प्रगतिको बाधक हो भन्ने उनले नै आफ्नो जीवनमा प्रथम पटक महशुस गरे । त्यो भावनाको बिजारोपणको प्रयोग र फैलावटका लागि जीवन समर्पण गरे । हामी लुब्रीकोटीको उच्च डाँडासम्म गयौँ । एउटा अनन्त शान्तिमार्गको पदयात्रामा छौँ जस्तो अनुभूति भयो । गुराँसको सुन्दर बगैँचा हुँदै शिखरमा पुगेर माङ्हिममा घण्टी बजायौँ । प्रार्थना गर्यौँ । विश्वलाई हामीले समर्पण गर्ने धार्मिक ऐतिहासिक पर्यटकीय क्षेत्रको गरिमालाई आत्मादेखि नै महशुस गरेँ मैले । यो कृष्चियनहरूको जेरुसलम, इश्लामको मक्का मदिना, बुद्धिष्टको लुम्बिनी हिन्दुको पशुपति, काँशी, गयाजस्तै लिम्बुको हो महसुस गरेँ र आफैँलाई ध्यानस्थ गरेँ । म सत्यहाङमामार्गी होइन । तथापि म फाल्गुनन्दको योगदान, सत्कर्म र सद्विचारप्रति सतत् नमन गर्छु । असल विचार संसारकै लिन मिल्छ । पन्थ, सम्प्रदाय मिलिरहनु पर्दैन । म कट्टरवादको सख्त विरोधी हुँ । फाल्गुनन्दभन्दा अघि मुन्धुमलाई साम्बा, यवा ,फेदाङ्बा, फेदाङमा र तुम्याङहरूले नै बचाई आएका थिए । त्यसपछि मात्र मुन्धुम बचाउने काम यी दुई उपसमूहको जिम्मामा आयो । समुदायको त्यो निर्विकल्प सत्यलाई कसैले छेक्न सक्दैन ।अहिले सामाजिक सञ्जालदेखि दैनिक व्यवहारसम्म किराँतहरूमा विभेदको ज्वाला देखिन्छ । किराँत र युमा साम्यो छ । यो समूह स्वभाविक हो । गालीगलौजभन्दा एक अर्कामा सद्भावको खाँचो छ । गालीगलौज, आरोप दुवै गलत हुन् । सबैसँग आफ्नोपनको पालन गर्न राज्यले छुट दिएको छ । हामी वैयक्तिक स्वतन्त्रताको ग्यारेन्टीको पक्षपाती हौँ । सभ्यताहरू स्थिर कहिल्यै छैनन् । परिवर्तनको आत्मसाथले मात्र सभ्यतालाई बचाउँछ । अब दुई किनारलाई स्विकार्दै मुन्धुमी सभ्यताको नदी बग्नु महान कार्य हो।
@नुमाफुङ सुटिङ स्थल
हामी प्रसिद्ध फिल्म नुमाफूङको सुटिङ स्थल गयौँ । नायक मरेपछि माटोमा शवदहन गरेको एउटा सांस्कृतिक दृश्य त्यहाँ खिचेको रहेछ । राजले खाडल देखाए । मैले मरेको नायकको अभिनय गर्दै खाल्डामा फोटो सुट गरेँ । हाम्रो क्यामाराको चार्ज अफ भयो । तर आँखाको क्यामाराले पाञ्थरको भूगोल खिचिरह्यो र मस्तिस्कमा सेभ गर्यो । हामी पौवा पुगेर कफि पिउँदै मोबाइल चार्ज गरी सिलौटीको उकालो बाइकमा हुइकियौँ । फाल्गुनन्दको चिहानमा गएर फूल चढायौँ । कुनै दिन यी दुई ठाउँहरू किराँत सत्यहाङ्मा पन्थीको लागि मात्र नभएर लिम्बू याक्थुङ समुदायको साथै सम्पूर्ण मानवजातिकै तिर्थस्थल बन्नेछ , हामीले प्रण गर्यौँ । हजरत मोहम्बद, जिजस र बुद्ध पनि मृत्युपछि महान भए । असल कामको कुनै सिमाना र छेकबार हुँदैन । सदा पुज्य र अनुकरणीय हुन्छ । मद्यपान र मांसहार नगर भन्ने वाणी सकेसम्म अपनाउनु पर्ने नै हो । यो ढिलो चाँडो सत्य हो सबैले बुझ्नेछन् । आफू चाहिँ सामान्य बजाइन्छ I मद्यपानको व्यस्थापन राज्यले अलि गम्भिर रुपमा गर्नु आवश्यक छ । मुनाराज शेर्मा मुनाराज शेर्मा मुनाराज शेर्मा
मांसहार गर्ने, मद्यपान गर्ने पुरानो सांस्कृतिक किराँत धर्मावलम्बीहरूले आफ्नो परम्परावादी
मुन्धुमी संस्कार बचाउनका लागि आधुनिक स्कुलिङलाई बुझ्न आवश्यकता छ । हुन त यो तथ्यलाई नस्विकार्ला कसैले तर भोली येवा, येमा, साम्बा, फेदाङ्बा, फेदाङमा पारम्परिक रूपमा उत्पादन भएनन् भने यो त्यतिकै समाप्त भएर जान्छ । त्यसकारण निरन्तरता व्यवसायीकरण र आधुनिकिकरणकै लागि पनि यसको विद्यालय खोल्न आवश्यक छ । पारिश्रमिकको व्यवस्थापन गरिदियो भने यसको आकर्षण बढ्छ । त्यसको लागि मापदण्डहरू निर्माण गर्नुपर्ने हुन्छ । कर्तालाई भाषिक उच्चता, शुद्धता, भद्रता, सफाई र औपचारिक भाषिक सिपको तालिम दिनुपर्ने हुन्छ । यी सब शिल्प सत्यहाङ्मासँग निर्माणको क्रममा छ I तर सांस्कृतिक पक्षसँग पारम्परिक नै छ । युमा साम्योवादीले समेत स्कुलिङ्को लागि विद्यालय खोल्न आवश्यक छ।
@फेदेन लिम्बुनी गाउँ
हामीले थेप्चो नाकको डाँडीजस्ता लिम्बु गाउँ नियाल्यौँ । नाके डाँडामा तुन्द्रुङ्ग झुण्डिएको ढुङ्ग्रीजस्ता घरहरू हेर्यौँ । अढाई सय वर्षपछि सर्पजस्ता कच्ची सडकहरू गाउँ भर्खर आईपुगेको रहेछ । लिम्बुनी गाउँ भर्खरै जाँडको धङधङीबाट बौरेर तङसिङ गरिरहेको थियो । यासोकेनी बजु कुम्मायक कुसायकको आध्यात्मिक-सांस्कृतिक चिन्तनमा अर्ग्यानिक लिम्बुनी गाउँ बोका, भाले, भाकलमा बलि चढाएर मात्र बाँचिरहेको पाइएन । मुनाराज शेर्मा मुनाराज शेर्मा
चिम्सा, मसिना आँखाजस्ता पाठशालाहरू मुस्किलले कतै देखिन्थ्यो । पहाडहरू समस्याको लुतोले घेरिएका थिए । तथापि ‘आदाङ्मे ! प्यारी हजुर !’ भनेर त्रिशाली र युवा मेलामा थाङ्वेनले प्रेमिकालाई सम्बोधन गरेको सुमधुर ध्वनी हावामा मिश्रित भए झैं अनुभूत भयो I शुद्ध्याइँमा बनाइएको स्याउले टहरो र पाहुनाहरू परैबाट देखिन्थ्यो । देखिँदैन थियो त मातृभाषा अनि पानमा कक्षा लिइरहेका विद्यार्थीहरू र मातृभाषामै लिखत गरेर घर फिरिरहेको सेवाग्राहीहरू । गाउँहरू रेमिट्यान्स टिप्न अरबमा थिए । सिमेक्वा चरी समयको लालीर्खकको जङ्गलमा बिरहको भाकामा गाईरहेको थियो जो गुमेको स्वतःको फिरौतीमा वल्लो थुम पल्लो थुम चाहर्छ । फेदेन गढी सुम्हालुङ्मामा गाडेको प्रतिज्ञाहरू ढुङ्गाजस्तै स्थिर थिए । मौलोमा पाँच हजार वर्ष पुरानो स्वतन्त्रताको हत्याको अढाई सय वर्ष पुरानो इतिहास खडा थियो । दैलोमाथि दमनको पञ्जाछाप थियो । फेदेन सांस्कृतिक जागरणको लागि होडिङ बोर्ड राखिरहेको थियो । मिलुङ सुर्यास्तमा आगोजस्तो बल्ने झरनामा आफ्नो चैतन्य खोजिरहेको थियो । यही बाटो स्पृङ आन्दोलनको अभियन्ताहरू आफ्नो सृष्टि पोखरी तिम्बुङ्ग पोखरी पुगेका थिए । नजिकैको यबाहरूको उत्पत्तिस्थल वसालुङ्ग, टावरजस्तो अद्भुत ढुङ्गे पहाड, पुगेर धुप धुवाँर गरे । फक्ताङलुङको फेदमा पुगेर आराध्य कुम्भकुर्णलाई सेवा गरे । मुनाराज शेर्मामुनाराज शेर्मा
त्यतै कतै टाढाबाट हाक्पारे, ख्याली र पालामसँग च्याब्रुङ् केलाङको धुन आइरहेको थियो । शदियौं दमनमा बाँचेको लिम्बुनी गाउँ काठमाडौँसँग खासै खुशी छैन, बिद्रोहको फ्याटम्यान र लिटलम्यान बोध गरेर प्याराग्राफ बाँचिरहेछ अर्ग्यानिक लिम्बुनी गाउँ । स्वतः पुनर्जीवनको लागि बीसको दशकमा आयामेली लेखन, पचास साठीको दशकमा लिम्बु गाउँ सिर्जनशील अराजकता, उत्तरवर्ती सोच र रङ्गवाद,कुकुर कविताजस्ता सिद्धान्त लिएर फेरि जन्म्यो र देशलाई निर्विकल्प सत्ताविरुद्ध बैचारिक धावा बोल्यो । त्यही फेदेन यकमा पुष्प थाम्सुहाङ्ग लिम्बु, याक्थुङ्बाहरूको महाकवि बस्थे । उनले केन्द्रिय सत्ता काठमाडौँलाई बैचारिक हाँक दिएका थिए । याक्थुङ्गपान भाषा साहित्यको उत्थानको लागि एकेडमी स्थापना भएको छ । पुष्प थाम्सुहाङलाई याक्थुङपानको महाकवि घोषणा गरोस् प्रतिष्ठानले । बैचारिक आन्दोलनकै क्रममा उत्तरवर्ती आन्दोलनमा राज माङ्लाक, सगुन सुसारा र भवानी तावा हुन् । फेदेनलाई केन्द्र मानेर साहित्यिक, सांस्कृतिक गतिविधिहरू जोरजुलुमसँग रोटेपिङभन्दा ज्यादा मच्चाए । एउटा अविस्मरणीय गतिविधि लिम्बु मातृभाषामा उल्लेखनीय काम गरिरहेका छन् । लिम्बु प्रज्ञा प्रतिष्ठान गठन गरेर विभिन्न विधामा पुस्तक लेख्ने काम भईरहेको छ । ग्लोबलाइजेसनले संसार भोग्नलाई सजिलो साँघुरो बनाए पनि अर्ग्यानिकता बचाउँन नसकिने हुँदा सांस्कृतिक बचावको लागि भुमण्डलीकरणको अस्विकार गरे । यो राष्ट्रवाद र सांस्कृतिक मौलिकताको लागि जरुरी हो । अंग्रेजी साहित्य, भारतीय विशेष रविन्द्रनाथ ठाकुर र आयामेली हुँदै उत्तरवर्ती, रंगवादसम्म चित्र कविताको साम्राज्य छ । उत्तरवर्ती चित्र कविताको बैंश भूमि हो । नेपाली कवितामा यो सम्प्रेषणको खास विधि हो । हजार शब्दभन्दा एउटा चित्र बलावान हुन्छ भन्ने उक्तिलाई काव्यिक एडेप्टेसन गरिएको मात्र नभई कला, संस्कृति, इतिहास र काव्यको जेनेटिक फ्युजन छ I दमनको नाङ्गो चित्र छ । खोसिएर हराइएको इतिहासको पुरातात्विक अन्वेषण छ । प्याराग्राफिक पोएटिक क्लिष्ट पङ्क्तिहरूले डेरिडियन छाँयाको आरोपित वर्षामा रूझिएका हुन्, राज माङ्लाक यो आरोपबाट अछुतो छैन, इतिहासमा अरू लेखक कविहरू पनि छन् तर उनी धेरै नरम सुकोमल र हार्दिक कवि हुन् । प्रभाव संसार प्रसिद्ध वास्तविकता हो I संसार नै, कि प्रभावले कि मौलिकताले निर्माण हुन्छ । यो दैनिक उपभोग्य वस्तुदेखि राजनीतिसम्म प्रभावित भएपछि साहित्य कला र संगीत अछुतो रहने भएन नै ।
‘लिम्बुनी गाउँ’ले राजनैतिक चेतनालाई समेत आत्मसात गरेको छ I एउटा लेखनको आन्दोलनले राजनीतिलाई प्रभाव पार्नु लेखन शक्तिशाली छ बुझ्नु हो । उत्तरवर्ती सोच, भावना र कलाको लागि मात्र निर्मित लेखन नभएर जनचासो र अधिकार प्राप्तिको लागि आन्दोलित लेखन पनि हो I जसमा यो सफल छ । उनी मुलतः सांस्कृतिक कवि हुन् । संस्कृतिको अगाध प्रेम छ उनमा । लिम्बु मिथकहरूको जङ्गल उमारेर मिथकीय भूमि नेपाली साहित्यलाई सुम्पेका छन् । यो प्रेमले स्वीकार्ने अभिभारा राज्यको हो । हामी तमोर भ्यालीमा लिम्बुनी गाउँको चुम्लुङ सकेर अर्ग्यानिक, एन्टिक तथा मार्जिनलाइज्ड भिलेज
माझिटार गयौँ I मध्यपहाडी लोकमार्ग निर्माणपछि ओझेल परेको माझीटारको माझीहरूको दुःखलाई आत्मसाथ गरेर फिर्यौँ । विकासको छाँया, अब माझीटारमा पदयात्री र भरियाहरू हिँड्दैनन् । पेसाले धोका दियो माझीटारलाई । मुनाराज शेर्मा
तर समयको तमोरमा कर्मको जाल फाल्न छाडेका छैनन् उनीहरूले । यो पल्लो किराँत त्यो माझ किराँतको सभ्यतालाई उमार्न हुर्काउन कति दुःख झेले होलान् माझीहरूले उनीहरू लिम्बुवानका हाडखोर जस्तै अस्थिपञ्जर बाँचिरहेका छन् । तमोरको पानीले धोएर सिद्धिएन उनीहरूको कष्ट । अहिले आधुनिक रेष्टुरा बनेपछि झन् माझिटार अलमलमा छ । नक्कलीको संसारभरि नै बिगबिगी छ । असली माझिटार समयको तमोरमा समाधिष्त नहोस् ! माझिहरूले आफूलाई उभ्याउन हजार जङ्घार तर्न हरसम्भव प्रयास गर्न आवश्यक छ । हामी पापोहाङ्गको फेदेन यकको रातो माटो सल्लाको फेदमा टल्केको हेर्दै सुँगुरको विरको पिछा गर्दै खरानीको रेखी पछ्याउँदै साँझ पख फिर्यौँ । उता तेह्रथुमको बुच्चा फेदेनको पारिलो घाममा अण्डकोष पल्टाएर सुतिरहेको थियो । अण्डकोषको रातो माटोले फगुवा राम्रै खेलेछ थाहा भयो। खरितेहरूले सुँगुरको पाठा बेचेरै आर्थिक कारोबार गरेको समाजशास्त्रिय विचार लिम्बुवान किराँतमा छ । लोकल रक्सी सिजवाको ब्राण्डिङ युकेले गरिसक्यो । अब हाम्रो पालो हो । उषाकला राईले यो तथ्यलाई अघि बढाउने प्रण गरेकी छ हेरौँ कति सफलता हात मिल्छ । चियर्स!!! मुनाराज शेर्मा
लेखक परिचय
कवि शेर्मा नेपाली साहित्यको मुख्यतय कविता विद्यामा कलम चलाउछन् भने नियात्रा, निबन्धमा पनि उनको उत्तिकै दख्खल रहेको छ । शब्दहरुको याक्सा उनको प्रकाशित कविता संग्रह हो ।