खदहिमाछो सरकार ! दहिमाछो !!
आँखाका नानीमा विश्वासको पानी,
हियमा एक घुट्को सम्झनाको दुःख,
पटुकीको फाँकोमा मिसिएको बुढ्यौलीसम्मको पसिना
अलिकति सेतो रङ्ग, उत्ताना हत्केला र याचनाका लोरी गीतको जीवनरेखा
छँदै छन् सम्पत्तिजस्तो
वर्षौँदेखि पूर्वी क्षितिजले बोक्दै ल्याएको अतृप्त याद
स्वयम् देखिएपछि आँगनीमा गदगद भएकै हुन्, अनुहारहरू
त्यही दिन हो, हावाको धस्रो समेत नछिर्ने गरी जोडिएका मुटुहरू
र, त्यही दिनबाट खोलिएका हुन्
हृदयका बन्द झ्याल-ढोकाहरू
ती ढोकाबाट, कति छिरेछिरे बाघका नङ्ग्राजस्ता औँलाहरू
र, कोतरी गए एँसेलु गालाहरू
यी गालाका कुलाबाट
बगेको पानीजस्तो देखिने आँशुले
किन कहिल्यै नभेटेको होला सागर ?
ती ढोकाबाट, कति छिरेछिरे झुसिलकिरे जुँगे पैतालाहरू
र, कुल्चिएर गए, पुतलीका जम्मै आँखाहरू
यी आँखाको जीवनको हरियो रङ्गले
किन नभेटेको होला बसन्त ??
किन सधैँ बगाइ मात्र रहन्छ साउन ??
ती झ्यालबाट, पत्तै नपाई उडी आए एक हुल गिद्धजस्ता लाग्ने कोइलीहरू
र, छोडी गए बचेरा बनाउन अबोध फुलहरू
बोलीको लोरी मिलाउदैमा बिते चल्ला कोरलेर यामहरू
आकाशबाट तारा खसेझैँ खसे, ओजस्वी मुस्कानका टुक्राहरू
तारा खस्दा सबथोक बिर्सेर, सम्झेकै हो एक थोक मुटुभित्रबाट
खस्नु/झर्नु/च्यातिनु
मन परेको पाउनुसँग कहिल्यै एकाकार नहुँदोरहेछ
ती झ्यालबाट, पत्तै नदिएर खसेको हो धुवाँको एक मुस्लो बर्तमान
जसमा मिसिएर मरे असीमित परिभाषाहरू
धुवाँ छिचोलेर कतिपल्ट हो कति
रातो रुमालमा बाँधेकै हो, हातबाट टुटी गएका चुराहरू
र, आँखा चिम्म्म्म्म गरेर / चुमेर ओठले / टाँसेर आफ्नै निधारमा
सम्झिनु सम्झिएको हो, प्रिय मान्छेको नाम
चुराको ज्योतिषी किन कहिल्यै नलागेको होला ?
टुट्नु, फुट्नु र भाँचिनु
दुई आत्मा जोडिनुको भविष्यवाणी कहिल्यै नहुँदोरहेछ ।
दहिमाछो सरकार ! दहिमाछो सरकार !!
मन्दिरमा घण्टी बजाउँदैमा मूर्ति पूज्नेले
कति सम्झियो, सम्झियो आफ्ना प्रिय नामहरू
आरन स्वयम् नपुगेपछि मन्दिरमा
एक्ला तमाम याचनाहरू बालुवामा पानीजस्तै हुँदारहेछन्
बाटो किनारको कर्कलाको पातमा अडिएको पानी हेर्दै बित्यो यत्रो जिन्दगानी
अब त हावाको एक झोँक्कामा खै के भन्न सकिएला र ??
देशले दिएको वृद्धभत्ताले मात्र बाँच्न नसकिँदोरहेछ ।
त्यो बेला मेरो चेलो जसप्रीत सिंहले आत्महत्या गर्दा
कहाँ जुम्रा मार्दै थियो, न्याय/समानता/स्वतन्त्रता
पत्रिकाको हेडलाइनमा छापिनु मात्र मानवता कदापी होइन
कुनैबेला मेरी आमा कोलिणको नाक कान र स्तन काटिँदा
कहाँ मरेको थियो, इज्जत/स्वाभिमान/मातृत्व
मन्दिरमा पुजिनु मात्र महानता हुँदै होइन
दहिमाछो सरकार ! दहिमाछो सरकार !!
मैले मात्र आफ्नो पहिचान माग्दा कसरी हुनसक्छु अराजक ?
देशले वर्षौँदेखि मागेकै छ – रगत
खाडीले दैनिक मागेकै छ – पसिना
माग्न त कर्मचारीले – घुस,
नेताले – चन्दा र
भक्तजनले – आर्शीवाद मागेकै छन्
मैले मात्र आफ्नो पहिचान माग्दा कसरी हुनसक्छु अराष्ट्रिय तत्त्व ?
इज्जत जोगाउनु भनेको स्तन चढाउनु होइन
स्वाभिमान बचाउनु भनेको नाक काटिनु होइन
आत्महत्या गर्नु भनेको बलिदान गर्नु हुँदै होइन
मलाई यो देश मेरै हो भन्न मन छ
तर, यो देशले बर्खाको भेलमा बगी आएको मुढोलाई किनार फालेझैँ
किन किनार लगाउँदै छ ? मेरो पहिचान र स्वतन्त्रता !
दहिमाछो सरकार ! दहिमाछो सरकार !!
केही शब्दावली:
कोलिण: वीर, बहादुर र बाउन्न किल्लाको मुलुक गढवालमा आस्थासाथ बोलाइने वीर महिला र देवीको नाम, कब्जामा रहन गएको गढवाल क्षेत्रमा भएको अत्याचारविरुद्ध एक्लै लडेकी योद्धा
गोर्खालीहरूले उनको नाक, कान र स्तन काटेर जलाएका थिए । स्थानीय विश्वास अनुसार उनलाई जगतकी देवी मानेर नाक, कान र स्तनविहिन मूर्तिलाई स्वाभिमानको प्रतीक मानेर पूजा गरिन्छ ।
जसप्रीत सिंह: दलित भएकै कारण पंजाब प्रान्तको मेडिकल कलेजमा अपमानित हुँदा मेडिकल कलेज परिसरमा आत्महत्या गरेका विद्यार्थी ।
लेखक परिचय
युवा पुस्तामा विशेष गरी आख्यानको क्षेत्रमा सशक्त रूपमा अघि बढेका बतासको कथाहरूमा माटोको सुगन्ध पाउन सकिन्छ ।
भरखर मात्र सबै सामाग्री (साहित्यिक रचना) पढने
मौका मिल्यो।राम्रो लाग्यो।रचनाहरू पठाउने जमर्को
अवश्य हुनेछ।