ईर्ष्या,
शब्द नै सुन्दा,
उच्चारण गर्दा,
गुलियो भातमा अमिलो थपेसमान
भावना नै अमिलिएर आउँछ
जति नै यो शब्दबाट बच्न खोजेपनि
गरिब-धनी, साना-ठूला, बुढा-बुढी
सबैमा,
नचाहँदा पनि
यो निर्धक्क भएर
बारम्बार धाउँछ।
यसले जताततै बास गर्ने गर्छ
मभन्दा ऊ राम्रो, त्यहाँ बास गर्छ
मभन्दा ऊ सफल, त्यहाँ जान्छ
मभन्दा अर्को ज्ञानी
त्यहाँ झन् यो जाने गर्छ ।
मेरोभन्दा उसले असल जीवनसाथी पायो
त्यहाँ पनि यो विराजमान छ ।
मेरो लगालगी छोरी भयो,
उसको पहिलो चोटिमै घोर्ले छोरा भयो,
त्यो खुसीमा पनि यो विराजमान ।
ईर्ष्या लागोस् भनेर पनि
ईर्ष्यालाई निम्तो दिइन्छ
मज्जा यसैमा छ सबैलाई
अरूमा ईर्ष्या देख्दा,
धेरै खुसी पाइन्छ।
म ईर्ष्यालु छैन भने पनि
उसको प्रिय साथी सफल हुँदा
मनमा ईर्ष्या पलाइहाल्छ।
ईर्ष्या नगर्ने कोही छैन
कस्तो होला नि यो मनोभाव
आदत भनौँ कि? विचार भनौँ कि ?
व्यवहार भनौँ कि? अशिष्टाचार भनौँ कि ?
चरित्र भनौँ कि? कपट भनौँ ?
यसको स्थान मनमा, विचारमा, व्यवहारमा
सबलै बोकेर हिँड्छन् ।
अचम्म त यो हो !
म ईर्ष्या बोक्छु भन्ने
कसैको अभिलाषा हुँदैन
होस् पनि कसरी ?
छ नै यसले यति तितो भाव बोकेको
तर पनि
लुकेर, छिपेर मनभित्र
मुना फैलाई राखेको हुन्छ
लहरा बाटिरहेको हुन्छ ।
यसमा शक्ति पनि धेरै हुन्छ
लडाइ गराउँछ, पराइ बनाउँछ
माया घटाउछ, खटास बढाउँछ
म विद्वान, बुद्धिमानी, संस्कारी
संयमी छु भनेर ज्ञान बाँड्ने सज्जनमा पनि
ईर्ष्या प्रशस्त पाइने गर्छ ।
जति यसलाई लुप्त गर्न खोज्यो
त्यति नै उखरमाउलो गरेर
यो ईर्ष्या,
मान्छेदेखि मान्छेमा
सर्ने गर्छ ।
लेखक परिचय
भारत मणिपुरका हर्क बहादुर लामगादे ‘रोहित’ भारत सरकारको केन्द्रिय कानुन एवम् न्याय मन्त्रालयमा कार्यरत छन् । विभिन्न अनलाइन पत्रपत्रिकामा आफ्ना रचनाहरू प्रकाशित गरिसकेका उनी त्रिगुण फाउन्डेसनका अध्यक्ष, सुर्या फाउन्डेसनका सदस्य रहनुका साथै राष्ट्रिय स्वयंसेवक सङ्घसँग पनि आबद्ध छन् । उनले हिन्दी दिवस २०२०को अवसरमा पूर्वोत्तर हिन्दी अकादमीद्वारा आयोजित आलेख प्रतियोगितामा द्वितीय स्थान हासिल गरेका छन् ।