सुन्दर कुरूप
समयले टेक्दा- टेक्दा
च्यातिन लागेका मान्छेका अनहारहरू
जूनले आँशु पुछेका चिसा – चिसा पातहरू
सधैँ साँझ पर्खेर बसिरहने
यी उदास – उदास रेस्टुरेन्ट वैशहरू
ह्याङ्गरमी झुन्डिएको
महङ्गीको थोत्रे कोट,
मैले उधारो खाने भट्टीपसल, चियापसल, पानपसल
मेरो खुङ्खार आतङ्ककारी मित्र,
सधैँ रूँदैरूँदै स्कूल जाने स-साना केटाकेटी
यी सप्पै सप्पै देख्न सकिने
अथवा हिँड्दा पुग्न सकिने ठाउँमा पुग्न उभिएको छु ।
र
बोकेको छु यौटा झोला
जसभित्र छ —
मेरी सानी छोरीको एउटा तस्विर,
उनको नाउँमा
भर्खर लेकेको एउटा कविता
अनि खुकुरी चुरोट ।
चुरोट सल्काउँछु र गम्छु
कुन पहाडले छेकेको छ मलाई
र आजसम्म
आफूले आफैलाई देख्न सकेको छैन ?
कि, कुन दुर्गम गाउँमा बसेको छु म
र आजसम्म आफूले आफैलाई
भट्न सकेको छैन ?
सुन्दर कुरूप
-पृथ्वीको आविष्कारबाट
लेखक परिचय
सुन्दर कुरुप युवा पुस्तामा प्रभावशाली कविको रूपमा चिनिने गर्दछन् । विशेष गरी उनी कविता तथा गजल विधामा कलम चलाउने गर्दछन् । पृथ्वीको आविष्कार कविता संग्रह उनको प्रकाशित कृती हो ।