विशाल नाल्बो
कतै उडी गएको छ
जीवनदेखि खुबसुर्तीको परेवा
बेचैन छ इश्क फुल्ने आँगन ।
कायल छु अथवा नाजवाफ छु
तिम्रा प्रश्नहरूदेखि ।
जे छु / तर छु ।
आखिर म सम्झनाहरूको कारिन्दा न हुँ
विश्वासहरूको अविश्वास न हुँ ।
जे जे पनि हुँ / तर हुँ ।
यो बरको रुख जो छ
तिम्रा मृत खामोंसीलाई बौरी उठाइ बस्ने ।
जसको फेदमा बसेर हामीले
गरेका थियौँ अनेकौँ नामेट नामेट नामेट माशुमसा गल्ती ।
यकिन छैन
यो बरको रूख नहुँदो हो
अथवा नहुँदो हो यो ढुङ्गे देवलको चौतारो ।
हामीले कहाँ छोडेर जान्थ्यौ होला हगि ?
त्यो अबिर्सालु सम्झनाहरुको साँझ ?
अन्तिममा यसरी छुट्नै त थिएछ हामी ।
बरु नरूनु थिएछ
छुट्ने बेलामा त्यसरी आदत नै बस्नेगरी
जसको असर अहिले पनि परिरहेछ / परिरहेछ ।
तर मुटु न हो
भन्नेबित्तिकै कहाँ बनिहाल्न सक्थ्यो र ढुङ्गा ।
आज वर्षौंपछि
तिम्रो कविता लेखिरहेछु
यकिन छैन कहाँ छौ तिमी ?
सोधूँ तिम्रो जानेमनले शंका गर्छ भन्ने डर छ
नसोधूँ तिम्रै चिन्ता लागिरहन्छ । विशाल नाल्बो
लेखक परिचय
दार्जीलिङ, कालिम्पोङ, भारतका कवि विशाल नाल्बो ‘खबर‘ म्यागजिनमा साहित्यिक पत्रकार तथा ‘पेरूङ्गो' पत्रिका सम्पादक हुन । नाल्बो गीत तथा निबन्ध विधामा पनि कलम चलाउँछन् ।