ढाकर थाहा छैन मलाई
आज अहिले यतिखेर
झल्यास आईदियो सम्झाना
थाहा छैन कताबाट आईदियो
याद पुरानो
टेकुवा अनि ढाकरको हराएको
त्यो थोत्रो ढाकरको हो
त्यही ढाकर जुन म सानो हुँदा
हिले हुँदै लेगुवा तिर लम्केको
अरुणको तिरै–तिर
अक्करको भिर नापेको
जनयुद्धमा हराएको जनयुद्धकै एम्बुसमा पारिएको
अलैँची बारीतिरै हराएको
त्यो ढाकर खै कताबाट आईदियो
याद ढाकर भित्रको
सामल–चामलहरूको भुटुन
अनि नुनहरूको विकास
अनि चेतनाका सम्बाहकहरूको
हिले–लेगुवा, अरुण हुँदै
बोकी आउँने कुपीभित्रका आत्माहरूको
झल्यास खै कताबाट आईदियो
याद टेकुवा टेकाउँदै टेकाउँदै विस्कुटका पुरियाहरू,
सिसा अनि कापीहरू मजेत्रोभित्रै पोकोपारी ल्याइएको पिरीमहरूको आइरह्यो याद
अरुण तिरै–तिर हुँदै कुदि हिँड्ने ढाकरहरूको
त्यही ढाकरहरू जो दिङ्लाभरि रमी हिँड्थे
नुनसँगै सख्खर ल्याउथे मसला
अनि कथा बोक्थे सुन्तलासँगै
खुसी साटि ल्याउथे
तर खै आजकाल नामोनिशान देख्दिन
अह ! ऊ हिँड्ने बाटोको भेऊसम्म नि पाउँदिन !
कतै बुढाहरूले सन्दुक भित्र पो हाले कि ?
कि लागे बुढाहरूसँगै अरुणको तिरै–तिर
हुँदै साल्पा सिलिचुङ तिर ।
लेखक परिचय
काठमाडौँमा बसेर कविता सृजना गरिरहेका ‘बुढा’आफ्ना रचनामार्फत इतिहास र संस्कृतिका कुराहरू अगाडि ल्याउँन चाहान्छन् ।
Dherai mitho kabi jyu.