मेरो जिब्रोमा शब्दहरू
नर्तकी बन्नुपर्छ
मेरो टाउकोको तालमा
शब्द नाच्नुपर्छ ।
बेलगाम बोलिन्छ
चिसो भुइँमा बस्नेहरूलाई
काखी गन्हाउने भीडहरूलाई
घरि जगाउनुपर्छ
घरि सुताउनुपर्छ ।
शब्दको तरमा
अफिमको नशा छ
अनि त्यही नशामा मातिन्छ
चिसो भुइँ र भीडहरू
शब्दलाई नाङ्गै भुतुङगै पारेर
खेलाउन कति मज्जा छ
टाउकोलाई भुत्ते नबनाई
जिब्रोलाई धार लगाउँदै
शब्दलाई म
तरुणीलाई जस्तै खेलाउँछु ।
नाङ्गो समयमा
नाङ्गै शब्द
शब्दलाई नाङ्गै र बाङ्गै खेलाउन
मलाई मज्जा लाग्छ ।
सर्पजस्तो रिसालु शब्दलाई पनि
सलललल हिँडाउँछु
धारिलो शब्दलाई पनि
जिब्रोले खेलाएर
मुलायम बनाउँछु ।
शब्दलाई म घाँटीमा नचाउँछु
शब्द विस्फोट हुने
हावाको कण कण म चिन्छु
अणु, परमाणु चोबेर शब्दलाई
रगतै रगत बनाउँछु ।
म शब्दको जादुवाल
म शब्दको कालो जादु देखाउँछु
म शब्दले सम्मोहन गर्छु ।
लेखक परिचय
साहित्यमा एम.ए गरेका सिक्किमका कवि युवराज घलेभाइ नब्बेको दशकदेखि साहित्य र पत्रकारितासँग संलग्न छन् । उनका कविता प्रकृति, जीवन, जगत् र अस्तित्वका विषयमा बढी लेखिन्छन् । आह्वान एउटा क्रान्तिको र क्रान्तिका समवेत स्वरहरू उनका प्रकाशित कृतिहरू हुन् भने फुटकर रूपमा उनका रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन् ।