तीर्थराज विश्वकर्मा
कमरेड साँच्चै तपाईँले
धरहराको टुप्पोबाट के के देख्नुभयो ?
मलाई बताइ दिनुहोस्
म कविता लेख्न लागिरहेको छु !
भोकले बिहानै अस्ताएको
सुर्य बहादुरहरू देख्नुभयो ?
घामसँगै आफ्नो
पहिचान र अस्तित्व खोज्दै आएको बिकेनहरूलाई देख्नुभयो ?
एसिडले समाप्त पार्न खोजिएको सम्झनाहरूको सपनाहरू देख्नुभयो ?
न्यायको लागि जोडजोडले
चिच्याउँदै गरेको निर्मलाहरूको आत्माहरू देख्नुभयो ?
जातकै कारणले मारिएर
फालिएका नवराजहरू देख्नुभयो ?
देशको ढुकुटीको पैसा
रक्सी र सुकुटीमा सक्ने
कमरेडहरू देख्नुभयो ?
गुलियो उखुहरू फलाउनेहरूको
आँखामा नुनिलो आँसुहरू देख्नुभयो ?
देश मुटु भित्र राखेर
मुटु देश भित्र राखेर
युवाहरू परदेश गएको देख्नुभयो ?
बेलाबेला देशको सिमानाको किल्ला
उताबाट यतायता सरेको देख्नुभयो ?
कमरेड साँच्चै तपाईँले
धरहराको टुप्पोबाट के के देख्नुभयो ?
मलाई बताइ दिनुहोस्
म कविता लेख्न लागिरहेको छु ।
तिर्थराज विश्वकर्मा
लेखक परिचय
धरानका कवि तिर्थराज विश्वकर्मा
रंगकर्मी पनि हुन् ।
कमरेडलाई प्रश्न । बेजोड । उत्कृष्ट रचना । कविलाई बधाई हार्दिक शुभकामना ।