डम्फू
हो,
मैले बजाइरहेकाे डम्फूको
आकार सानाे
प्रकार चेप्टाे छ
तर,
मेरो पुर्खा
पेङदाेर्जेले बनाएकाे
याे डम्फूमा
कहिल्यै नमर्ने
मेराे वंशकाे इतिहास,
ताम्बाकाे काइरण
गान्बाकाे शेर
मिलाई-मिलाई
सुनाएकाे मिठाे कथा छ,
याे सानाे डम्फूमा
जिउँदो इतिहास
ताजै छ ।
त्यसैले
मैले बजाएकाे
याे डम्फूको शिरमा
फिरफिर हरियाे चरी
खुसिले नाच्दै-नाच्दै
अरूलाई नचाउँछे
मेराे भाषाकाे गीत गाउँछे
आमाकाे गीत गाउँछे
बाबाकाे गीत गाँउछे
जन्मदेखि मृत्युसम्मको
गीत गाउँछे
प्रीतकाे गीत गाउँछे
त्यही भएर म
मेराे डम्फू भनी
गर्वले छाति फुलाउँछु ।बत्तीस किला ठाेकेर
घाेरलकाे छालाले माेरेर
सजाएकाे याे डम्फू
बजाउँदा ताकधुइ-ताकधुइ गुन्जिने
धर्ती उत्पत्तिकाे इतिहास सुनाउँदै
आगाे र पानीकाे कहानी सुनाउँदै
ताम्बालाई नि नचाउँदै
गान्बालाई नि नचाउँदै
दु:खकाे गीत सुनाउँदै,
सुखकाे गीत सुनाउँदै
मित र प्रीतको गीत पनि सुनाउँदै
कहिल्यै नहराउने
हिमालजस्तै अटल र अग्लाे
सिंगाे देशजस्तै सग्लाे
याे मेराे डम्फू बज्छ,
भावी सन्ततिलाई
सुनाउनु छ इतिहास
बुझाउनु छ काइरण
देखाउनु छ चिनारी
त्यसैले
बचाउनु छ
जाेगाउनु छ
उच्च राख्नु छ
याे मेराे डम्फू ।
लेखक परिचय
काभ्रेका कविराज तामाङ विशेषत: प्रगतिशील निवन्धहरू लेख्न रुचाउँछन् । मातृभाषा संरक्षण र नेपाली साहित्यको उत्थानमा वि.स. २०६८ देखि योगदान पुर्याइरहेका तामाङ रोशी साहित्य मञ्चका सल्लाहकार, तामाङ सेमलेङ न्हानका महासचिव रहनुका साथै तामाङ डाजाङसँग पनि आवद्ध छन् । उनका प्रकाशित कृतिहरू चिट्ठी संग्रह याङ, २०७०, हाइकु संग्रह चा:बा, २०७१ र बाल गीत 'हक्कु पक्कु', २०७३ हुन् ।