१. कुवाभित्रै टयार्र – टयार्र
यो कुवा पृथ्वी पल-पल घुम्दै
कहाँसम्म पुग्यो खै ?
अर्को कुवा नयाँ काँचुली फेरेर
कहाँसम्म पुग्यो हँ ?
कुवाभित्रको कुवाभित्र बसेर
थुप्रै भ्यागुता शासकहरू
कुवागान फलाकि रहेछन्
आमूल परिवर्तनको
चटके टयार्र – टयार्र
प्रजातन्त्रको गुलियो भुनभुन
नयाँ परिवर्तनको मौसमी हुइया
यथास्थितिवादी कुवाभित्र
असंख्य तथाकथित क्रान्तिकारी भ्यागुताहरूबीच
‘ म ‘ एक अर्को क्लोनिङ भ्यागुतो
खाएर जमेको सनातन पानी
छादेर उही बासी “कविता”
ओक्लेर चिसो भाव-वीर्य
ननिस्केर बाहिर
नचिनेर सौन्दर्य
न भेटाएर सत्य
न भोगेर मुक्ति
कुवाभित्रै छु , टयार्र – टयार्र ।।
२. समयको रङ
इतिहासलाई भुँडी बोकाएर
एउटा हुतिहारा छोरो जन्माउन खोज्छ
समयको योनी निमोठेर
सपनाको आँखाअघि
रगतै-रगत छ छाडा समय ।
सपनै सपनाको भर्याङमा उकाल्दै
चढाउँदै छ त्यसले भ्रमको सगरमाथा
र गाडने छ त्यो चुचुरोमा
त्यसको लुइतामे झण्डा ।
झन्डालाई अण्डा पार्न
ओथ्रा बसाउँछ डल्लै बस्तीलाई
बिझाउने आङमा
झन्डा पारिबस्छ टट्टाउने चिङनाहरू उमारेर
सोतर पार्छ गाउँको पसिना ।
आवाजलाई खसी पार्दै
छाडा समय फेरि भुक्नेछ
गति छाडेर भ्रमको चुचुरोबाट
सफलता फलाक्दै
भविष्यवाणीको भुँडी फुटाएर
देखाउने छ बजियाले
त्यसको जुठो इमान !
लेखक परिचय
साहित्यमा एम.ए गरेका सिक्किमका कवि युवराज घलेभाइ नब्बेको दशकदेखि साहित्य र पत्रकारितासँग संलग्न छन् । उनका कविता प्रकृति, जीवन, जगत् र अस्तित्वका विषयमा बढी लेखिन्छन् । आह्वान एउटा क्रान्तिको र क्रान्तिका समवेत स्वरहरू उनका प्रकाशित कृतिहरू हुन् भने फुटकर रूपमा उनका रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन् ।