केही समय अघि समावेशी लोकतन्त्रको मूल्य मान्यता अनुसार चल्ने, प्रगतिशील र सहिष्णु भनेर चिनिएको देश न्युजिल्याण्डमा अनौठो घट्ना घट्यो । उक्त घट्नापछि न्युजिल्याण्डको अँध्यारो पाटोसँग दुनियाँले साक्षात्कार हुने मौका पायो । घट्ना थियो – त्यहाँको संसद भवनमा माओरी आदिवासी संसदलाई प्रश्न सोध्न दिइएन । उनले विरोध गरे, नतिजा उनलाई संसद् बाहिर पठाईयो । ती सांसद्को गल्ती थियो टाईको बदला आफनो सांस्कृतिक गहना लकेट लगाएर आउनु । संसदमा सभामुखको उर्दि थियो – ‘सबै सांसद्ले टाई अनिवार्य लगाउनू ’। विगतमा पनि ती माओरी सांसद्ले सभामुखको उर्दी बिरुद्घ विरोध जनाएका थिए । सभामुख बहुसङ्ख्यक गोरा जातिका छन् । माओरी आदिवासी अल्पसङ्ख्यक जातिमा पर्छन् । ती माओरी सांसदले टाई लगाउन किन अस्विकार गरे त ? कारण जान्न न्युजिल्याण्डको इतिहास फर्केर हेर्नुपर्ने हुन्छ ।
नयाँ जमिन खोजी गरेर त्यहाँको स्रोत–साधनमा रजगज गर्ने युरोपीयनहरूको कार्ययोजना अनुसार न्युजिल्याण्ड पत्ता लागेको हो । अमेरिका कोलम्बसले भनेझै न्युजिल्याण्ड सन् १६५२ मा डच नाविक अवेल तासमानले पत्ता लगाएका थिए । पछि सन् १७६९ मा इङ्ल्याण्डका नाविक जेम्स कुक पनि न्युजिल्याण्ड पुग्न सफल भए । नयाँ मानिसहरू नयाँ भुगोलमा पुग्न त पुगे, तर त्यो जमिन नयाँ थिएन । त्यहाँ पहिल्यै मानिसहरूको बसोबास थियो । अमेरिकामा रेडइन्डियनहरूको बसोबास झैँ । त्यसो हुँदा त्यहाँ पहिले देखि बसिरहेका मुलनिवासीहरू बिरुद्घ नयाँ मानिसहरू दमनमा ओर्लिए । नयाँ मानिसका नयाँ प्रबिधि बिरुद्घ मूलनिवासीहरूको प्रतिरोध क्षणिक सावित भइदियो । उनीहरूले सम्झौता गरे । फलस्वरुप, नयाँ मानिसहरूले क्रमश जमिन कब्जा गर्दै आफनो देशबाट मानिस बोलाउँदै बस्ती बसाउन थाले । यसो हुँदा युद्घमा पराजित भएर कमजोर भएका मुलनिवासीहरू अल्पसङ्ख्यक हुनगए । वर्तमानमा पनि न्युजिल्याण्डको राष्ट्रप्रमुख इङ्ल्याण्डका महारानी छिन् । त्यसकारण न्युजिल्याण्डका माओरी आदिवासीहरू टाईलाई आफ्नो जातीय दमनसँग जोडेर हेर्छन् र लगाउन अस्वीकार गर्छन् । उनीहरू पहिचान र भूमि फिर्ताको लडाइँमा छन् । विश्वकै उन्नत लोकतन्त्रमा आदिवासी समुदायप्रति, उनीहरूको आस्था र सांस्कृतिक विश्वास प्रति भेदभाव हुनु दुखको कुरा हो ।
सन् १९९० मा जब सोभियत संघ विघटन भयो तत्पश्चात शितयुद्घको अनत्य भयो । सन् ९३ मा अमेरिकी चिन्तक स्यामुएल पि हन्टिङटनले चर्चित पुस्तक लेखे क्ल्यास अफ सिभिलाइजेसन । पुस्तकमा हन्टिङटनको विचार थियो – ‘ शितयुद्घपछिको विश्वमा अब हतियारले युद्घ लडिँदैन । अबको युद्घ एक संस्कृति र अर्को संस्कृति, धर्म–धर्म र सभ्यता – सभ्यताबीच हुनेछ।’ हन्टिङटनको क्ल्यास अफ सिभिलाइजेसन करिब तीन दशक पछि पनि उत्तिकै सान्दर्भीक भएर विश्वमा आइरहेछ । त्यसो त सन् २००८ मा मृत्युवरण गरेका चिन्तक हन्टिङटनको भविष्यवाणी यर्याथमा परिणत नभएको भए विश्व सुन्दर हुन्थ्यो । इतर संस्कृति, धर्म आदिबीच भाइचारा भए सम्भवत: पृथ्वी मानवको अझ सुन्दर घर हुन्थ्यो । तर विश्वमा जे नहुनुपर्ने हो ती घट्नाक्रमहरू नै ज्यादा घटित भइरहेछन् । यो दुरभाग्य हो। विश्वको सबै महादेशमा संस्कृति – संस्कृतिबीच, धर्म – धर्मबीच टकराव पराकाष्ठामा पुगेको छ । यसलाई मलजल गर्दैछ खराब राजनीतिले । धन्न ट्रम्प पराजित भए । नत्र विश्वमा अति र फासिस्ट विचारले जरा फैलाइसकेको थियो । यद्यपि अझैपनि यत्रतत्र सर्वत्र अतिवादले टाउको उठाउन खोजिरहेछ । यो समस्यालाई विश्व राजनीतिले कसरी काबुमा पार्छ ? हेर्न बाँकी छ । जस्तो कि भर्खरैमात्र स्वीजरल्याण्डको एक दक्षिणपन्थी पार्टीको दबावमा जनमत सङ्ग्रह भयो । जनमत सङ्ग्रह मुस्लिम महिलालाई हिजाब, बुर्का लगाउन दिने नदिने बारे थियो । दिनुहुन्न भन्नेमा जनताले आफ्नो राय राखे । रोचक पक्ष स्वीजरल्याण्डको सरकारले हिजाब, बुर्का लगाउन दिनुपर्छ भन्नेमा मतदान दिनू आग्रह गर्दा पनि वहुमतले मानेनन् । त्यसो त त्यहाँको सत्तालाई सांस्कृतिक, धार्मिक सहिष्णुताको चिन्ता भन्दा पर्यटनको चिन्ता ज्यादा थियो भनिन्छ । त्यहाँका अधिकांश पर्यटक मुस्लिम देश मिडल इस्टबाट आउँदा रहेछन् । स्वीजरल्याण्डमा हिजाब लगाउने नागरिक जम्मा पन्ध्रजना रहेछन् । यो बहुसङ्ख्यकले अल्पसङ्ख्यक नागरिकमाथि गरेको सांस्कृतिक, धार्मिक अतिक्रमण थियो । जीवनको उत्तरार्धमा ओसामा विन लादेन आफैले गल्ती महसुस गरेको अमेरिकी ट्वीन्स टावरमा जब हमला भयो त्यहाँदेखि घनिभूत् रुपमा सबै मुस्लिमहरू आतंकवादी हुन्छन् भन्ने अतिवादी सोच हाबी भएर गयो । फेरि प्यालेस्टाइन, इराक, सिरिया आदि देशमा भएको निर्दोष र सर्वसाधारण मुस्लिमहरूको मृत्यु भँजाएर मुस्लिम आतंकवादी सँस्थाहरू चलायमान नभएका होइनन् । तर यति हुँदाहँदै निर्दोष मुस्लिम धर्मावलम्बीहरूलाई आतंकवादी देख्नु अर्को दृष्टिदोष थियो । विगत र वर्तमानमा अफ्रिका, युरोप,अमेरिका सबैतिर क्ल्यास अफ सिभिलाइजेसन सतहमा आएको थियो, छ । यो दु:खद पक्ष हो ।
यसो गम खाँदा उता त त्यस्तो छ, यता कस्तो होला ? प्रश्न उब्जेर आउँछ । यद्यपि, पश्चिमा सभ्यता प्रगतिशील सोच्नु यतिबेला आफैमा गलत भईन्छ । खैर, पश्चिमाहरुले भन्ने गरेको तथाकथित तेस्रो मुलुकमा बसोबास गर्ने अल्पसङ्ख्यकहरुको अवस्था झन् गम्भीर छ । एसिया यसबाट अछुतो छैन । यहाँ त झन् विभेदका फेहरिस्त लामै छ । मानव जातिकै लागि कलंक छुवाछुत यहीँ छ । केही अघि भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दलित बस्ती भ्रमण गर्ने भएछन् । भ्रमण अघि बस्तीमा साबुन बाँडिएछ । कारण दलितहरु फोहोरी हुन्छन् भन्ने सोचको उपज थियो । यहाँ भाषाका कारण, जातिको कारण, रङ्गको कारण, सांस्कृतिक पहिरनको कारण भेदभाव हुनेगर्छ । तितो सत्य चाहिँ दुनियाँमा पहिरनले पीडक र पीडितको दुवैथरि भाष्य बोकेको हुँदो रहेछ । तथाकथित सर्वोच्चता सबैतिर उस्तरी नै भाइरस झैँ फैलिएको रहेछ ।
सन् २००१ मा अफगानिस्तानका तालिवान लडाकुहरूले पाचौँ सताब्दीको बुद्घको मुर्ति रकेट लन्चरले ध्वस्त पार्ने मुर्खतापूर्ण कार्य गरिरहँदा म्यानमारका एक भिक्षु आसिन विराथु मुझमेन्ट ९६९ को शंखघोष गर्दै थिए । काम, क्रोध, मोह – मायाजालबाट मुक्त बुद्घको अनुयायी भिक्षुको आन्दोलन ९६९ भने क्रमश हिंसात्मक र अमानवीय हुँदै थियो । मुभमेन्ट ९६९ नै बुद्घसँग जोडिएको थियो । जस्तो कि ९ भन्नाले बुद्घको नौवटा खास गुण, ६ भन्नाले बुद्घले भनेको छ कर्म , आखिरिको ९, बुद्घले स्थापत्य गरेको सङ्घको खास चरित्र । यो आन्दोलनको नाममै कत्रो विराट दर्शन छ । तर विपरित मुभमेन्ट ९६९ ले भने बुद्घलाई नै सीमान्तमा पुर्याएको थियो । मुभमेन्ट ९६९ को एकमात्र उदेश्य थियो घृणा फैलाउनु । एक धर्म र समुदाय प्रति लक्षित घृणा फैलाउनु । आसिन विराथुको नारा थियो ‘सेभ म्यान्मार’ अर्थात रोहिङ्ग्या मुसलमानको बढ्दो जनसङ्ख्याबाट म्यानमारलाई बचाऊ । भिक्षु विराथुको उत्तेजना फैलाउने विचारले अन्तत म्यान्मारमा हिंसा भड्कियो । दशजना मुस्लिम धर्मावलम्बीको ज्यान गयो । विराथु लामो समय जेल परे । उनी छुट्नु र म्यान्मारी सेनाले रोहिङ्या मुसलमानको नरसंहार गर्नु संयोग जस्तै भयो । भारतमा पनि आदिवासी समुदायलाई कथित नक्सलीको झुठो आरोप लगाउँदै उनीहरूको अस्तित्वमा हमला गर्ने कार्य पछिल्लो समय तीव्र रुपले बढेको छ । उनीहरूको भाषा र संस्कृति माथिको अतिक्रमण बढेर गएको छ । उनीहरूको भूमिमाथि करपोरेट र सरकारले आँखा लगाउँदा जब उनीहरू प्रतिकारका उत्रिए त्यहीँ देखि सत्ता क्रुर भएको भनिन्छ । त्यहाँका आदिवासी बस्तीलाई विकासका परियोजनाबाट सुनियोजित वञ्चित पारिदैँ छ । स्वास्थ्य, शिक्षा र आधारभूत सुबिधाबाट वञ्चित गरिदैँ छ । भारतका मुस्लिम नागरिकहरुलाई ‘पाकिस्तानी’ आरोप लाग्छ । उनीहरू ‘मब लिन्चीङ’ को शिकार हुँदा सत्ता नदेखे झैँ गर्छ । उनीहरूको पक्षमा आवाज बुलन्द गर्नेहरब कि जेलमा छन् कि ‘पाकिस्तानी’ , ‘टुकडेकुकडे ग्याङ’ ‘अवार्ड वापसी ग्याङ’ आदिको तथाकथित आरोप झेल्न अभिशप्त छन् । धर्मले भारत विभाजित छ । मुस्लिम सभ्यता माथिको अतिक्रमण बढेर गएको छ । मुस्लिम सभ्यताका बिम्ब प्रतीकहरूलाई धमाधम हिन्दुकृत गर्ने कार्य जारी छ । सबैभन्दा दु:खद पक्ष अधिकांश राष्ट्रिय मिडिया सत्ताको प्रभुत्ववादको पक्षमा उभिएको छ । उनीहरु सत्ताको चम्चाचिन्तनमै लिप्त छन् । विश्वकै वृहत र महान लोकतन्त्र दाबी गर्ने देशको व्यवहार भने टिठलाग्दो छ ।
पश्चिम बंगालमा नेपाली मूलका भारतीय नागरिकहरू सीमान्तमा पारिनु, भुटानबाट नेपाली जाति खेदिनु, श्रीलंकामा माइनोरिटी तमिल र मुस्लिम प्रताडित हुनु, चीनमा उइगर मुसलमान माथिको ज्यादती र कत्लेआम स्यामुएल पि हन्टिङटनले भनेको क्ल्यास अफ सिभिलाइजेसनको विद्रुप रुप हो । के क्ल्यास अफ सिभिलाइजेसनबाट हाम्रो जस्तो क्षेत्रफलले सानो मुलुक अछुतो छ ? उत्तर आउँछ – छैन । हाम्रो देश क्षेत्रफलले सानो भएपनि विविधता युक्त देश हो । ड्राइवरसिटी यो देशको चरित्र हो । तर जब जब देशको यो चरित्रलाई उपेक्षा गरिन्छ तब तब द्वन्द निम्तीएको छ । बहुजाति, बहुभाषि, बहुसंस्कृतिले उन्नत देशमा जब राज्यसत्ता नै एकल जाति, भाषा, धर्म र संस्कृतिलाई पक्षपोषण गर्ने कुटिल षडयन्त्रमा लिप्त हुन्छ तब द्वन्द सृजना हुन्छ , भएको उदाहरण छ । बहुलता स्वीकार्न नचाहने सत्ताको लामो इतिहास पञ्चायतकालमा अझ कठोर भएर आएको अनुभव सुनाउँछन् लेखक अभियन्ता बीर नेम्बाङ । राज्यसत्ताको एकात्मक नीतिले मातृभाषामा काम गर्दा सत्ताको कोपभाजनबाट बच्न सिक्कीम पलायन भएको नमिठो अनुभव छ उनीसँग । उनी प्रजातन्त्र, लोकतन्त्रमा अझैपनि सत्ता उदार नभएको आकलन गर्छन् । भन्छन् – ‘आफ्नो हकको लागि लडाइँ निरन्तर छ’ । आफ्नो मातृभाषा बोल्दा कुटाई खानुपरेको, जेलमा थुनिनु परेको थुप्रै दृष्टान्तहरू छन् हामी कहाँ । समताका लागि भएका तमाम आन्दोलनको उपलब्धी शून्य हुनु दु:खद पक्ष हो ।
कुनै एकल संस्कृतिको पहिचान प्रति सदैव उदार राज्यसत्ता ‘आदिवासी रङ्गशाला’ नामकरणमा आपत्ति जनाउँछ । आदिवासीहरूको संस्कृतिलाई वेवस्ता गर्छ । इतर भाषा मरोस्, संस्कृति मरोस् मतलब राख्दैन । तब ‘खुवालुङलाई’ फगत ढुङ्गा देख्छ । विकासमा बाधक भएको ढुङ्गा ! यसरी नै हो एक संस्कृति र अर्को संस्कतिबीच निःसृत हुने द्घन्द्घ ।लिम्बू सभ्यताका पुरातात्वीक महत्व बोकेका असङ्ख्य स्थानहरू विकासका नाममा ध्वस्त पारिएका अनेकौं उदाहरणहरू हामी कहाँ छन् । केही अघि ललितपुर खोकनामा भएको आन्दोलन सम्झना भइरहेछ । र एउटा जातिले पुर्खौदेखि जीविकोपार्जन गर्दै आएको भूमि सरकारले बलजफ्ती खोस्दा द्वन्द निम्तिएको छ । विकासको नाममा कुनैपनि समुदायलाई उठीवास लाउनु सोह्रैआना अन्याय हो । यो कदम सामाजिक न्यायको वर्खिलाप हो । पूर्वतिर मातृभाषामा लेखिएका बोर्डहरु, इथ्निक मुर्तिहरु तोडफोडका घट्नाहरु प्रसस्तै भइरहेछन् । इलामको फाकफोकथुम चमैतामा राई जातिको आस्थाको केन्द्र माङखिममा तोडफोड गरियो । यो समय उपद्रोको काम हो भनेर पन्छिने बेला होइन । हामीकहाँ अन्य संस्कृतिलाई , धर्मलाई प्रहार गर्ने मानसिकताको विकास हुँदैगरेको दृष्टान्त हुन् यी घट्नाहरू । यी घट्नाहरूको पछाडि राज्यसत्ताको एकात्मक नीति जिम्मेवार छ । जस्ले अन्य संस्कृतिलाई विखण्डनको चश्माले हेर्छ । यहाँ आफ्नो संस्कृतिमा दखल पर्दा बुरुक्क उफ्रिने र अरुको संस्कृतिमा चोट पुग्दा खुच्चिङ् भन्ने तथाकथित बौद्घिक जमातको कारण पनि राज्यसत्तालाई एकात्मक हुन सहज भएको छ । सदियौँ दलितमाथि भइरहेको उत्पीडन माथि एकशब्द खर्च नगर्नेहरू आफ्नो संस्कृति माथि प्रश्न उठ्दाको रोइलो अचम्मको छ । ती बौद्घिकहरूलाई अधैर्य, अराजक र असहिष्णु के कारणले बनाइरहेछ ? कि संजीव उप्रेतीले भनेझै ‘संरचनात्मक लाभाशं’ गुम्ने डरले बुझेर पनि नाटक गरिरहेछन् ? पहाडे र मधेसको संस्कृतिबीच द्वन्द विस्फोट थियो मधेस र थरुहट आन्दोलन । यी द्वन्द अझै क्लाइमेक्सको प्रतीक्षामा छ । जाति , भाषा, पहिरन र रङ्गकै कारण सदियौँ उत्पीडनमा परेपछिको विद्रोह थियो यी आन्दोलनहरू । नेपालमा सबै भन्दा प्रभाव पारेको सांस्कृतिक द्वन्द थियो यो । उनीहरूकै जमिन विर्ताको नाममा खोसेर उनीहरूलाई विदेशी देख्नु जतिको अन्याय अरु के होला ?
आफ्नो नश्ल मात्र महान, आफ्नो संस्कृति मात्र उम्दा, आफ्नो धर्म मात्र उत्कृष्ट भन्ने गलत सोच नै क्ल्यास अफ सिभिलाइजेसन को कारण हो । जहाँ इतर अस्तित्वलाई निषेध गरिन्छ । ह्याट लाउनु उच्चवर्गको पहिचान तर हिजाब लाउनु आतंकको निसानी सोच्नु सांस्कृतिक द्घन्द्घलाई बढवा दिनु हो । हिटलरको आर्य सुपरमेशीबाट चेत नखुलेको ट्रम्पको श्वेत सुपरमेशी, मोदीको हिन्दु हार्डलाइन, ओलिको राम मोह , वर्णव्यस्थाको विद्रुप अनुहार आदि जस्ता विचारहरू वर्तमान विश्वको मस्तिस्कमा पलाएको ट्युमर हो । यो ट्युमरको शल्यक्रिया गर्न मुश्किल छ मुश्किल । तर पनि सुन्दर समाजको खातिर लडाइँ निरन्तर छ ।
लेखक परिचय
प्रकाश थाम्सुहाङ अहिलेको समयका शक्तिशाली कवि हुन् । कवि थाम्सुहाङ करिब दुई दशकदेखि निरन्तर लेखनमा सक्रिय छन् ।