सुन्दर प्रतिज्ञा सुन्दर प्रतिज्ञा सुन्दर
मेरै आँखाअघि मेरो प्रेम मलाई टुक्राइरहेको थियो। म गर्न पनि के नै सक्थेँ र ।
म उसलाई यो कसरी भनौँ कि म उसलाई प्रेम गर्छु । फेरि उसले मलाई के सम्झेला । उसले मलाई भनेको थियो पहिले नै ” हामीबीच कुनै प्रेम हुन सक्दैन ।” तब मैले सोचेकी थिएँ उसमा केही परिवर्तन आउँला ।
प्रेमको मामिलामा असफलता भोगिरहेको एक पागलप्रेमी हरपल पीडा सहन तयार हुन्छ तर आफ्नो प्रेमबाट टाँढा रहने एकपलको सोच पनि उसलाई असह्य हुन्छ । यो उसको प्रगाड प्रेमको फल हो र उपायमा केवल ऊ पीडा हर्ने पलको आशा गर्न सक्छ, कल्पना गर्न सक्छ । म पनि यहि आशामा थिएँ तर उ परिवर्तित हुनेवालामा थिएन । त्यसैले, म पिडामै रहिरहेँ ।
रातको अँध्यारोमा सेलफोनको प्रकाश उसको मुहारमा छरिएको थियो । प्रकाशको एक रत्ति पनि उसको आँखामा थिएन, ओठमा थिएन । मुरझाएको मुहारमा रातको अँध्यारो नै छरीएको प्रस्ट देखिन्थ्यो । ऊ मेसेन्जरको चप्पाचप्पा पहिल्याउँदै थियो- एक्टिभ, स्टोरिज, मेसेज रिक्वेस्ट ..
ऊ कसैको इन्तजारमा थियो । उसको कोठाको शून्यता भर्न म थिएँ र सन्नाटा थियो । तर उसको मुटुको शून्यता भर्न केवल उसका ग्लानी र सम्झनाहरू थए । म विवश थिएँ, उसको यो छट्पटी न कम गर्न सक्थेँ न मेटाउन ।
एक दोस्रो पागलप्रेमी आशामा थियो । यादको हजार अञ्जुली कोसेली किस्ताकिस्तामा छाडेर गएको पाइलामा एक आकृति हात हल्लाई हल्लाई हाँस्दै उभिएको कल्पना गर्दै थियो ऊ ।
म उसलाई भन्न चाहन्थेँ – मानिस केवल इल्युजन हुन् । ती केवल केहि पलका लागि हामीसँग रहन्छन् । हरकोही जो तिम्रो मुटुमा कदम राख्छ , सम्झनु ऊ तिमीलाई मात्र केही पाठ सिकाउन आएका हो । यही सिलसिलामा उनीहरू हाम्रो निकट आउँछन् र जब उनीहरू हाम्रो आदत बनी सकेका हुन्छन् तब चटक्क छाडेर जान्छन् । यो उनीहरूको प्रकृति नै हो । मुटुका भित्ताहरू चरक्क चिरा नै पर्छ त्यो बेला । किनकि, हामीलाई थाहा हुन्न ति जानेमध्ये थिए । नभए, हामी दैलो बनाउन नसक्ने औकात नभएका पनि होइनौँ, हामीमा त्यो कौशल नभएको पनि होइन ।
भन्न मन लागेको थियो उसलाई – तिमी एकपटक मतिर हेर त सही । सायद, म उसको ठाउँ लिन नसकुँला तर म तिमीलाई नयाँ ठाउँ लैजान सक्छु, नयाँ गीत सुनाउन सक्छु , तिम्रो टुक्रिएको मुटुमा म मेरो धरातलको माटो उप्काएर पोत्ने सक्छु । आइ क्यान बी यर बिटरस्विट इल्लुसन फर इटर्निटी । के तिमीलाई थाहा छ ? सधैँभरी रहने इल्लुसन नै रियालिटी हो । म तिम्रो रियालिटी बन्न सक्छु । म तिम्रो लागि यहाँ छु, यहाँ ठिक तिम्रो अघि । बस एकपटक, एकपटम तिमी हेर मलाई । प्लिज टर्न, आई एम फिलिङ मिजरेबल फर यू । आइ एम नट डेस्परेट, आइ एम इनस्लेभ्ड बाइ यर एक्जिस्टेन्स …
लेखक परिचय
सुन्दर विशेष गरी कविता विद्यामा कलम चलाउछिन् । उनी नाम जस्तै सुन्दर कविता सिर्जनामा माहिर कविको रूपमा चिनिने गर्दछिन् ।