बिरामी छ अस्पताल
घाइते छ एम्बुलेन्स
अक्सिजनबिनाकाे बिरामीभन्दा
बेसहारा छन् डाक्टर नर्स
भाेकाे छ भान्साघर,
बेराेजगार भएकाे छ मजदुर
खाली पेटमा पटुकी कसेर
कति दिन बाँच्न सक्छ ?
खरानी बनाउदै अकालमै मरेका
अाफन्तसँगै जिउने अाधार जलाएर
अार्यघाटबाट उड्दैछ अचेल
उद्योगका चिम्नीबाट निस्किनु पर्ने धूवाँ ।
आफ्नाहरूलाई बचाउन दिनभर सडकमा
आफ्नै हृदयलाई पत्थर बनाएर
आफ्नैसँग लडिरहेको छ पुलिस
भन्छ, “मर्नुभन्दा एक दिन भाेकै बस ।”
हरेक समय मृत्युबाट लखेटिएका जनता
हेर्न बाध्य छन् टेलिभिजनमा, समाचारमा
सत्ता प्राप्तिका लागि इमान बेचेका
केही थान नरभक्षीकाे अनुहार ।
सरकार भर्खरै किनेकाे नयाँ कुर्सीमा
रङ लगाउँदै, चम्काउँदै, देखाउँदै,
र, बाँकी जिम्मेवारीलाई पन्छाएर
घाेषणा गर्छ “त्याे पर्दैन ।”
लेखक परिचय
अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका खड्का गजल र कविता लेखनमा नवीन प्रतिभा भएर उदाएका छन्।