१. पूर्व पीठिका: तिप्लिङ्गी
महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्यहरूको सूची हेर्दा उनका मोठ खण्डकाव्यहरूका सङ्ख्या छब्बीस वटा देखिन्छ । तर सन् १९४७ (वि. सं. २००४) मा कथिएको अनि सोही वर्ष प्रकाशित खण्डकाव्य रामायण (शोककाव्य) अद्यावधि अनुपलब्ध नै रहेको देखिन्छ । थाहा लागे अनुसार देवकोटाले जन्मभूमि खण्डकाव्य पनि लेखेका छन् र उक्त खण्डकाव्यको मूल पाण्डुलिपि महाकवि लक्ष्मीप्रसाद देवकोटाका साहिँला छोरा पद्मप्रसाद देवकोटासित सुरक्षित रहेको तथ्य पाइन्छ । यति मात्रै होइन, खण्डकाव्य सुन्दरी प्रोजपीना अप्रकाशित रहनुका साथै दुइ-दुइवटा खण्डकाव्यहरू स्वाँचा र तथागत अपूर्ण रहेको तथ्य पाइन्छ ।
सन् १९४९ (वि.सं. २००१) मा देवकोटाले एकै वर्षमा दुईवटा खण्डकाव्य कथेका पाइन्छ, एउटा लुनी र अर्को तिप्लिङ्गी । सन् १९६६ (वि.सं. २०२३) मा लुनी भए पनि तिप्लिङ्गी भने लुनी प्रकाशित भएको चौतीस वर्षपछि अथार्त् सन् २००० (वि.सं. २०५७) मा प्रकाशित भएको पाइन्छ । ‘तिप्लिङ्गी’ तर प्रकाशित हुनमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका आजीवन प्राज्ञ श्यामदास वैष्णवज्यूको गतिलो भूमिका रहेको छ । यसबारेमा प्राज्ञ वैष्णवज्यूले तिप्लिङ्गी खण्डकाव्यको प्रारम्भिकीमा दिएका स्पष्टिकरण यहाँ राख्नु आवश्यक देखिएकोले सो यहाँ जस्ताको तस्तै राखिएको छः
तिप्लिङ्गी महाकवि लक्ष्मीप्रसाद देवकोटा रचित यो कृति, २००१ सालतिर रचिएको देखिन आउँछ । जुन बखत उहाँ भाषानुवाद परिषद् (ने.भा.प्र.स.) अन्तर्गत रही लक्ष्मी निबन्ध लेख्न लाग्नुभएको थियो । म त्यहाँ नियुक्त भै देवकोटाज्यूको साथ पुग्दा, शिवप्रसाद नामक व्यक्तिले यस रचनालाई सार्दै नबुझेको शब्द देवकोटाजीसित सोध्दै लेख्ने गरिरहनु भएको थियो । यसपछि शाकुन्तल महाकाव्य रचियो देवकोटाज्यूबाट । मैले त्यो सार्न थालें । त्यस बखत यस्तै रहेन यसको । अरू कृतिहरू प्रकाशित भए । यो चाहिँ मकहाँ रहिरहेको रहेछ । अहिले खोजखबर सन्दर्भमा छपन्न वर्षपछि, यसलाई प्रकाशित गर्ने उत्सुकता जागेकोले प्रमाणीकरण गर्नु मेरो दायित्व हुन आएको छ । यसलाई सच्याउने र शीर्षक ‘पादपिच्छे’ लेख्ने काम उहाँ (देेवकोटाज्यू) कै हस्ताक्षरबाट भएको छ । हाल तिप्लिङ्गी नामको यो कृति हुन पाएकोमा म खुशी छु । मसँग रहेको यो तिप्लिङ्गी महाकवि देवकोटाद्वारा रचिएको प्रमाणित गर्दछु । यो कृति प्रकाशनका लागि सक्रिय सहयोग पुऱ्याउने डा. दुर्गाप्रसाद अर्याल र डा. कृष्णकुमार श्रेष्ठप्रति कृतज्ञता व्यक्त् गर्दछु । र यसको अधिकार कविको – परिवारमा निहित होस् भन्ने चाहन्छु । मंसीर २५, २०५७ श्यामदाल वैष्णव,आजीवन सदस्य, ने. रा. प्र. प्र. ।”
श्यामदास वैष्णवज्यूको उपरोक्त स्वीकारोक्ति अनुसार सन् १९४४ (वि.सं. २००१) तिर नेपाली भाषानुवाद परिषदमा जागिर गर्दाको समयमा “लक्ष्मी निबन्ध” सँगसँगै देवकोटाले प्रस्तुत खण्ड्काव्य रचना गरेका हुन् । भाषानुवाद परिषदमा काम गर्ने शिवप्रसाद नामक व्यक्तिले तिप्लिङ्गी-को पाण्डुलिपि तयार पारेका तथ्य पाउनुका साथै खण्डकाव्य्को पाण्डुलिपि चाहिँ वैष्णवज्यूसित रहेको बुझिन्छ । प्रश्न के छ भने, प्राज्ञ श्यामदास वैष्णवजस्ता उदार एवम् सत्यनिष्ठ व्यक्ति नरहेका भए आज प्रस्तुत खण्डकाव्य तिप्लिङ्गी-को अनुहार नै हेर्न पाउने थिएनौँ हामीले । तर उहाँले देवकोटाको यो उत्कृष्ट काव्यकृतिलाई प्रकाशकहाँ सुम्पिई तमाम् नेपाली पाठकसमक्ष सार्वजनिक गरेर बिर्सिनै नसकिने गुण लाइदिएका छन् । उहाँको यस्तो उदारताको निम्ति उहाँलाई सम्पूर्ण नेपालीको पक्षबाट हार्दिक साधुवाद । तिप्लिङ्गी कथिएको छपन्न वर्षपछि यसलाई प्रकाशित गर्ने उदय बुक्स प्रा. लि. काठमाडौं, नेपालका सम्पूर्ण सदस्यवर्गकन हामी धन्य छौं । “उदय बुक्स प्रा. लि. काठमाडौँ ,नेपाल”-लाई धन्यवाद भक्कचूर ।
२. आयाम:
डिमाई एक-आठ आकारमा मात्रै एकचालीस पृष्ठ (मुद्रित रूप) भित्र कथिएको तिप्लिङ्गी खण्डकाव्यका मोठ तेह्रवटा पाद (खण्ड) छन् अनि प्रत्येक पादका शीर्षकहरू यथाक्रमले “स्मृति, विराट पर्व, आत्मा परिचय, विषमय आधुनिकता, राष्ट्रियता, जाति प्रेम, सभ्यताको निर्मोहनी, चन्द्रगिरिमा, मातृवियोग, भगवान्, स्मरण, सौन्दर्यमा ईश्वरको आह्वान, प्रेम प्रथम तत्त्व, उपसंहार” रहेका छन् । समाविष्ट तेह्रवटा पादहरूमध्ये प्रथम पादमा एघार, द्वितीय पादमा एघार, तृतीय पादमा तीस. चतुर्थ पादमा एघार, पञ्चम पादमा आठ, षष्ठ पादमा एघार, सप्तम पादमा सात. अष्टम पादमा एघार, नवम पादमा अठार, दशम पादमा तेह्र, एकादश पादमा चौबीस. द्वादश पादमा दश अनि त्रयोदश पादमा दुइ गरी मोठ एक सय सढसट्ठी (१६७) वटा श्लोकहरू छन् । तेह्रवटै पादका श्लोकहरू कतै-कतै ०४, ०५,०६, ०७, ०८ ,०९ १०, १२, १४, १६ पङ्क्तिसम्म विस्तारित भएका छन् । प्रस्तुत खण्डकाव्यको लमाइको आयाम खण्डकाव्यका मानक लमाइका अपेक्षा अनुरूप नै देखिएको छ । भाव गहनताको दृष्टिले हेर्दा प्रस्तुत खण्काव्यमा भावको समानता पाइन्छ । यस खण्डकाव्यका नायक मेहेन्सिङलाई आधार बनाएर खण्डकाव्यकार देवकोटाले आत्मिक प्रेम नै मानव जीवनको मुख्य एवम् प्रमुख सार हो भन्ने कथ्य प्रस्तुत गरेका छन् ।
३. प्रेरणा, प्रभाव, विषयवस्तुगत प्रेरणाश्रोत एवम् शीर्षक विधान:
महाकवि देवकोटा कलकत्ता यात्रामा आएको पाइन्छ भने गोसाइँथान यात्रामा गएका पाइन्छ । गोसाइँथान यात्रकालमा उनले “लुनी”, “म्हेन्दु”, “तिप्लिङ्गी” जस्ता छरिता एवम् उत्कृष्ट खण्डकाव्य सिर्जना गरेका हुन् । उनी कलकत्ता आएका थिए भन्ने तथ्य “तिप्लिङ्गी”को निम्न पङ्क्तिले सङ्केत गर्छ –
“कलकत्ता” मा आएर
“इँग्लिस्” शिक्षा पाएर
“बीए” बन्दछु यसपाली
“संस्कृत-आनर्स” त्यसमा लिई !
अर्कोतिर, महाकवि देवकोटाको गोसाइँथान यात्राकालमा तिप्लिङ्गीजस्तो बान्किला खण्डकाव्य सिर्जना गरेका हुन् भन्ने पनि निम्म पङ्क्तिले प्रमाणित गर्छ –
“धेरै गाना गुमेछन्
हावा हावैमा घुरिई ।
गोसाइँ थानका यात्रामा
हेर्दा हामीले घोरिई ।” (१३/१)
नेपालको उत्तराखण्डमा अवस्थित हिमाली गाउँको प्राकृतिक सौन्दर्य तथा त्यहाँका तामाङ-शेर्पा जातिहरूको धर्म, संस्कृति, सभ्यता, रीतिथिति, आचार-व्यवहार तथा सुन्दर, स्वच्छ ग्रामीण जनजीवनको आकर्षण एकातिर अनि अर्कोतिर कलकत्ताजस्तो महानगरीको उच्चाटलाग्दो कोलाहलबाट विमुख हुनाका साथै “इडेनवन” (इडेन गार्डेन?) को सुन्दरताले प्रेरित, प्रभावित भई खण्डकाव्यकार देवकोटालाई “तिप्लिङ्गी” खण्डकाव्य सिर्जना गर्ने हुटहुटी लागेको कुरो स्पष्ट छ । यसर्थ गोसाइँथान र कलकत्ताको सम्झना सँगालेर लेखिएको यस खण्डकाव्यमा स्वच्छन्दतावादी प्रवृत्ति रहेको पाइन्छ ।
यस खण्डकाव्यको विषयवस्तुगत प्रेरणाश्रोत खोतल्नुपर्दा काल्पनिक विषयवस्तुलाई आधार मानेको देखिन्छ । नायक जेहेन्सिङ र नायिका तिप्लिङ्गीको प्रणयसम्बन्ध जाँचपरताल गर्दा पनि सो कविकल्पनायुक्त नै देखिन्छ । ठुङमार्दो कुरो ता के छ भने, कल्पनाको बाईपङ्खी घोडामा चढी अहर्निश कल्पनाकाशमा उडिरहने महाकवि देवकोटाका प्राय:जसो सिर्जनामा, उनकै व्यक्तित्त्वको प्रतिबिम्बित भएको पाइऩ्छ । सोही अनुरूप यस खण्डकाव्यमा पनि देवकोटाको व्यक्तित्त्वको प्रतिच्छाया स्पष्टै देखिन्छ । “तिप्लिङ्गी”-का नायक मेहेन्सिङ सुदूर नेपालबाट कलकत्ता आई अङ्ग्रेजीमा बीए लगायत संस्कृतमा अनर्स पास गर्ने उद्यमी विद्यार्थी हुनाका साथै उसमा देशप्रेम, जातिप्रेम, प्रकृतिप्रेम भक्कुचूर छचल्किएको पाइन्छ । साथै जेहेन्सिङभित्र कवितात्मक सिर्जनशीलता पनि प्रशस्तै पाइन्छ । झर्झराउँदो युवक जेहेन्सिङ अपठित ग्रामिण बाला तिप्लिङ्गीसित आत्मिक-हार्दिक प्रणयसम्बन्ध गाँस्ने ढीट विशेषता समेत देखिन्छ । पटनाबाट अङ्ग्रेजीमा एम. ए. तयारीको क्रममा कलकत्ता भ्रमण गरेका एक वर्षपछि गोसाइँथान यात्रा गर्ने देवकोटाभित्र पनि शिक्षाप्रसार गरी जाति सुधार गर्ने, देशप्रेम उजागर गर्ने हुटहुटी नलागेको होइन । देवकोटाले यिनै भावना, विचारलाई जेहेन्सिङमाथि थोपेर खण्डकाव्य तिप्लिङ्गी-लाई काल्पनिक साँचामा ढाली त्यसमाथि थप अलङ्करणार्थ स्वच्छ प्रेणयबन्धनद्वारा आत्मिक-हार्दिक प्रेम उजागार गरी खण्डकाव्यकारको व्यक्तित्त्वको बर्को ओढाएर पनि यसका विषयवस्तुलाई कुनै अन्याय, हेला-होंचो नगरी यथार्थव्यञ्जक बनाउनमा खण्डकाव्यकार देवकोटाले कुनै कञ्जुस्याइँ गरेका पाइँदैन । लोकलयप्रति हुरूक्कै र भुतुक्कै हुने देवकोटाले प्रचलित “पिपा लोकलय”-लाई यसको विषयवस्तुमा समाहित गरी यस खण्डकाव्यलाई लोकप्रसिद्धिको पगरी गुँथ्ने भरसके प्रयास गरेका छन् । खण्डकाव्यमा स्वच्छन्तावादी प्रवृत्ति नभेटिने होइन ।
देवकोटाका अधिकांश खण्डकाव्यको शीर्षकविधानमा नारीपात्रकै प्रमुखता देखिन्छ । यसै सन्दर्भमा भन्नुपर्दा, यस खण्डकाव्यको शीर्षक “तिप्लिङ्गी” राखेर खण्डकाव्यात्मक कृति नारी पात्रकै नाममा राख्ने देवकोटाको धृष्टता यथावत् देखिन्छ । खण्डकाव्यकी प्रमुख नायिका तिप्लिङ्गीलाई मौन पात्रकै रूपमा राखिए तापनि शुरू अन्त्यसम्मैका पादहरूमा तिप्लिङ्गीलाई यस खण्डकाव्यको केन्द्रिय पात्र बनाई उसकै विशेषताहरुको बेलिविस्तार गरिएको हुँदै यस खण्डकाव्यको शीर्षक “तिप्लिङ्गी” सङ्गतिपूर्ण नै देखा पर्छ ।
४. कथासार :
यस खण्डकाव्यको संरचनात्मक स्वरूपलाई मोठ तेह्रवटा पादमा अन्त्य गरिएको छ । तामाङ जनजातिमा हुर्किएकी “शिवपुर वन” निवासी झर्झराउँदो युवक मेहेन्सिङलाई यस खण्डकाव्यको प्रमुख नायक पात्रको रूपमा लिइएको छ भने प्रमुख नारी पात्रा तिप्लिङ्गीलाई खण्डकाव्यकारले यस खण्डकाव्यको नामकरण गरेका छन् । नायक मेहेन्सिङ सुशिक्षित छ । उसका पिता जेहन्सिङ सिपालु शिकारी । वनका राजा अजङ्का साहसी मान्छे । नेपाल दरवारमा जेहेन्सिङको प्रख्यातिले शिखर छोएको थियो । कालो मुस्लोजस्ता जुङ्गा भएको जेहेन्सिङलाई देखेर कर्णेलका नानीहरू थरथर काम्दै हेर्थे भने सिंहगर्जनले नानीहरूलाई काबु पार्थ्यो । निडर, ढीट स्वभावका जेहेन्सिङ आफ्नो जुङ्गा देखाई “बाघ आयो” भनी सबैको सातोपुत्लो उडाउने खाल्को मान्छे थियो । कर्णेल रघुवीर र शिकारका राजा जेहेन्सिङ सोनतीर जङ्गलमा शिकार खेल्न जाँदा कर्णेल रघुवीरलाई बाघले झम्टिँदा कर्णेललाई बचाउन सात हाते डडाँक बाघलाई अजङकै डडाँक शिकारी जेहेन्सिङले धेरै बेरसम्म मल्लयुद्ध गर्नाका साथै खुकुरीले तछारी कर्णेलको ज्यान बचाएको थियो । दूर्भाग्यवश बाघसित युद्ध गर्दागर्दै जेहेन्सिङले आफ्नो ज्यान गुमाउनुपऱ्यो । यसैको गुण तिर्न कर्णेल रघुवीरले जेहेन्सिङको छोरो मेहेन्सिङ (नायक) लाई उच्च शिक्षा हासिल गर्नाका निम्ति कलकत्तामा पढ्ने व्यवस्था गर्नाका साथै प्रति महिना साठी रूपियाँ समेत दिन्छन् । मेहेन्सिङ उच्च शिक्षा हासिल गर्ऩ कलकत्ता लाग्छ ।
यता, शिवपुरको वनको घरमा ५५ /६० हिउँद छिचोलेकी केश तुषारे आमा हेन्जेलिङ एक्लै छिन् । कलकत्तामा पढ्दाहुँदी नायक मेहेन्सिङलाई कविता कथ्ने जङ् चल्छ अनि ाफ्नै तामाङ जनजातिमा प्रचलित पिपा छन्दमा कविता कथ्न पनि थाल्छ । अङ्ग्रेजीमा बी.ए, र संस्कृतमा अनर्स समेत पढेका मेहेन्सिङलाई आफ्नो भाषा-संस्कृतिप्रति सुठी नै माया छ। कलकत्तामा आफ्नो अध्ययनमा व्यस्त हुँदाहुँदै पनि आफ्नी आमा र गाउँको सम्झना गर्नाका साथै मेहेन्सिङलाई पहाडकी सुन्दरी बाला तिप्लिङ्गीको यादले अहर्निश हुरूक्कै पार्छ । यस लगायत मेहेन्सिङलाई आफ्नो ठाउँ-थलोको भीर-पाखा, पहाड-कन्दरा, खोला-नालाको मनै लोभ्याउने दृश्यले मन छिया-छिया पार्छ । युद्धशमशेरकालीन मातृभूमि नेपालप्रति हृदयभित्रबाट प्रेम पलाएर आउँछ । प्राकृतिक सुन्दरताको खानी मातृभूमि नेपालका नेपाली जनजीवनको तुलनामा महानगरी कलकत्ताको परिवेश खल्लो र बेरसिलो लाग्छ ।
रँग-रँगेली “विज्ञापन”
विषमय खाना, विषका धन् ।
ताजा “हरियो-पन” – “शूना”
बत्ती-अँधेरो जम-कूना !। (१४ /७)
रूग्न छ भारत – “शावक मन”
“रूँ रूँ लाग्दछ” म त छिन छिन !
घर घर खालि “संघर्षण”
शून्य छ, गिरि-वन । मृदु-स्पर्शन ! । (६ /१०)
एकातिर राष्ट्रियता र जातिप्रेमको भावनाले ओतप्रोत अनि अर्कोतिर तिप्लिङ्गीको प्रेमभावमा आतुरिएर मेहेन्सिङ आफ्नै मातृभूमि नेपाल फर्कन चाहन्छ ।
जान्छु म ता है – “नेपाल वन” ।
अझ छ उहाँ त्यो निर्मल पनि !
मानव-शिशुको प्राकृत-धन
अर्थ आलौकिक वन-जीवन ! (७/५)
कलकत्ताबाट आएर नायक सोझै चन्द्रगिरि पुग्छ । चन्द्रगिरिबाट ६ कोश टाढास्थित आफ्नो शिवपुर वन पुग्छ । घर आइपुग्दा आमाको मृत्युको खबरले उसलाई बिथोल्छ।
माता मेरो स्वर्गमा
वनको भएँ टुहुरो !
अरण्यको यो रोदन !
अँधेरीको विचरो ! (९/२)
यत्रो ठूलो वज्राघातको असह्य पीडाले उभित्र वैराग भाव पलाउँछ । उसको एकमात्र सहारा भगवान् (बौद्धबोधिसत्व) मात्र हुन्छन् ।
मेरो घरको सामुन्ने
घरको बोट छ फैलेको ।
संझे आज भगवान् –
“बोधी-रूखमा” बसेको !
संसारको दु:ख हर्न
पलेंटीमा बसेको ! (१० /३)
मनभित्रबाट भगवान्लाई गुहार्छ । समय परिवर्तन सँगसँगै मेहेन्सिङभित्रका घाउहरु क्रमश: पुरिँदै जान्छन् । तर प्रकृतिका खानीमा जन्मिएको-हुर्किएको मेहेन्सिङलाई फेरि प्राकृतिक सौन्दर्यले मोहित-आकर्षित पार्छ एकातिर भने अर्कोतिर उसको मन तिप्लिङ्गीप्रति आकृष्ट हुन्छ । मेहेन्सिङले तिप्लिङ्गीलाई प्रणय निवेदन गर्छ ।
दु:खको प्रश्न हल गर्ने
“प्रेमको धागो” हालेर
“तारा” फूलका मालामा
गाँसी बसौंली चालेर ! (११/१९)
स्त्री-पुरूषको प्रणयमिलापद्वारा नै संसारमा सृष्टि सम्भव हुनाका साथै प्रेम नै सृष्टिको मूल तत्त्व हुन् भन्ने कुरा मेहेन्सिङले उदाङ्गो पार्छ । अन्त्यमा दुवै नायक-नायिका एकाकार भई प्रेम नै सत्य र शाश्वत प्रेम हो भन्ने सन्देश तिप्लिङ्गी-को कथावस्तुमा खण्डकाव्यकार देवकोटाले प्रष्ट्याउने प्रयास गरेका छन् ।
शब्दभित्रै चिनिन्छौ –
आँखाभरि सुनेर !
भन मेरी तिप्लिङ्गी,
मनमा तिमी गुनेर !
पीर्ति जस्तो क्यै होला ?
आत्मा-आत्मा जब छोला –
“झं झर-झर-झर” बनेर ।
सुखान्त खण्डकाव्य तिप्लिङ्गी-को कथावस्तुमा नायक मेहेन्सिङको एकालाप पाइन्छ । नायिका तिप्लिङ्गीको संवाद वा उसको विचार कहीँ-कतै पनि प्रकट भएको पाइँदैन । तर तिप्लिङ्गीको मौनताभित्र “मौनम् स्वीकृति लक्षणम्”-को सङ्केत भने अवश्यै पाइन्छ । साबिक कथावस्तुमा आधारित यस खण्डकाव्यमा सम्भाव्यता र कुतूहलताको प्रभावकारिता झ्याङिन सकेको छैन । उच्चशिक्षा हासिल गरेको अनि कलकत्ताजस्तो महानगरीको वैज्ञानिक जीवनशैलीमा रूमलिएको नायकले अपठित् ग्रामिण बालासित प्रणय निवेदन गर्नु वा प्रेमारकर्षण देखाउनु स्वच्छन्दतावादी सोह्रै आना पत्यारिलो भए पनि सम्भाव्यताको दृष्टिले सो निवेदन वा आकर्षण भने अपत्यारिलो देखिन्छ । यद्यपि मनोवैज्ञानिक दृष्टिकोणले नायक मेहेन्सिङको चरित्रलाई जोख्दा उभित्र आत्मिक प्रणयमूलक कामवृत्तिजस्ता विशेषताका छनक पाइन्छ । जीवन र जगतको सारभूत तत्त्व एवम् जीवनखण्डको अभिव्यक्तिसम्म गर्ने सामर्थ्य कथावस्तुमा निहित भएको यस खण्डकाव्यलाई उच्चस्तरीय खण्डकाव्यको श्रेणीमा राख्न सकिन्छ ।
५. सादृश्यता:
खण्डकाव्य “तिप्लिङ्गी” र खण्डकाव्य “मुनामदन” माझको केही सन्दर्भमा सादृश्यता देखिन्छ । “मुनामदन”-मा झैँ “तिप्लिङ्गी”-मा पनि आत्मिक प्रेमभाव प्रकट भएको पाइन्छ । दुवै खण्डकाव्यमाझको सादृश्य निम्नप्रकार देखिएको छ –
मुनामदन – तिप्लिङ्गी
क. मदनको घरमा साठी हिउँद खाएकी आमा छिन् । क. मदनको घरमा झण्डै-झण्डै पचास/साठी हिउँदकी तुषारे केश भएकी आमा छिन् ।
ख. मदनका पिता बितिसकेका छन् । ख. मेहेन्सिङका पिता पनि स्वर्गे भइसकेका छन् ।
ग. कुनै उद्देश्यकोप्राप्तिको निम्ति मदन ग. उच्च शिक्षा हासिल गर्न मेहेन्सिङ विदेश (ल्हासा) जान्छ । विदेश जान्छ ।
घ. ल्हासाबाट फर्केर कुतीमा आइपुग्दा मदनलाई घ. आफ्नो अध्ययन समाप्त गरी कान्तिपुरको प्राकृतिक मनोरम सौन्दर्य एवम् घर कलकत्ताबाट फर्केपछि परिवारको सम्झनाले सताउँछ। चन्द्रगिरिमा आइपुग्दा मेहेन्सिङलाई मातृभूमि, शिवपुरमा रहेकी वृद्धा आमा र उसकी प्रेमिका तिप्लिङ्गीको यादले सताउँछ ।
ङ. आत्मिक प्रेम प्रकट । ङ. आत्मिक प्रेम प्रदर्शन ।
च. मदन घर आइपुग्दा आमाले यस संसारबाट च. मेहेन्सिङ घर आइपुग्दा विदा लिइसकेकी हुन्छिन् । आमाले संसारबाट विदा लिइसकेकी हुन्छिन् । आफ्नो मातृभूमिको अगाध माया र स्नेह सँगसँगै आत्मिक प्रणयको कामवृत्तिले दुवै नायकलाई आकर्षण गरेको घटनाले दुवै खण्डकाव्यमा सादृश्यता रहेको पाइन्छ ।
६. भावविधान र लयविधान:
प्रस्तुत खण्डकाव्यमा अङ्ग रसका रूपमा वीर र करूण रस अनि अङ्गी रसका रूपमा श्रृङ्गार रसको अभिव्यक्त भएको छ । नायक मेहेन्सिङका पिता जेहेन्सिङले सात हाते लामो डडाँक बाघसित लडाइँ गरी कर्णेल रघुवीरको ज्यान जोगाएको वर्णन लगायत देशभक्तिपूर्ण कथनहरुमा वीररस अभिव्यक्त भएको पाइन्छ –
धेरै बेरतक लडे रे –
“सात हाते” त्यो बाघसँग
वनको : “राजा” पछारी –
खुकुरीले तछारी ! (३/१०)
कलकत्ताबाट स्वदेश फर्केपछि आमा हेन्जेलिङको मृत्युसंवादले मेहेन्सिङमाथि ठूलो वज्राघात पर्छ । मातृवियोगको थपेडाले भेटेपछि कुन छोरोको मनमा शोक-सन्ताप र पीडा-वेदना उत्पन्न नहोला र ! प्रस्तुत खण्डकाव्यमा मातृवियोगी पुत्रको विलाप, पीडा-वेदना एवम् सन्तापलाई मार्मिक र करूण रूपमा खण्डकाव्यकार देवकोटाले वर्णन गरेका छन् र त्यस वर्णनमा करूण रसको पनि अभिव्यक्त भएको छ ।
आत्मा तिनको सुन्दो हो
एकान्तको विलौना !
कल्पी रून्छ दिलचरो
“कालको व्याधा” आएर
“माऊ” लग्दा छेडेर
आँशु झारी पातमा
गुँडको जो छ झुलौना ! (९/३)
खण्ड्काव्यकी नायिका तिप्लिङ्गीको सौन्दर्यलाई उद्दीपन विभावको रूपमा प्रकट गरेर श्रृङ्गार रसको अभिव्यक्ति गरिएको छः
मलाई लाग्यो तिप्लिङ्गी
स्त्रीमा : “ईशवर” ओर्लिन्छन् ।
मोहिनीका मुसकानले
प्रेमका ढुक्कुर कुर्लिन्छन् । (११/१)
जहाँसम्म लयविधानको प्रश्न छ, यसमा नेपालको जातीय : “पिपा छन्द” (भोटे सेलोको लय)-को प्रयोग गरिएको छ । यसबाहेक पनि लयगत श्लोक ढाँचामा लेखिएको यस खण्डकाव्यमा कहीँ स्तरीय शब्द रूप लगायत जनजिब्रो अनुसारको शब्द प्रयोग गरिएको छ । यस खण्ड्काव्यमा निम्नतम तीन हरफेदेखि लिएर अधिकतम सोह्र हरफे श्लोकसम्म प्रयोग गरिए तापनि अधिकांश श्लोकहरू चार हरफे श्लोक ढाँचा नै प्रयोग भएको पाइन्छ ।
७. भाषा-शैली:
यस खण्डकाव्यका भाषाप्रयोगका वर्णयोजना स्तरमा निम्न प्रकारका शैलीगत श्रुतिरम्यको व्याप्ति पाइन्छः
क) आन्तरिक अनुप्रासीय र अन्त्यानुप्रासीय शैली,
ख) छोटा-छोटा शब्दहरूको प्रयोग (२ वा ३ अक्षरको संयोजना),
ग) “पिपा लोकछन्द”-मा दुइ-तीन अक्षरे आधारभूत गणसंरचना,
घ) नेपाली तद्भव, तत्सम, आगन्तुक, अनुरणात्मक, दूरत्व, समासयुक्त शब्दहरूको भरमार प्रयोग,
ङ) खण्डकाव्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटा स्वयम् निर्मित नयाँ शब्दहरुको प्रयोग,
च) सरल र मिश्र वाक्यहरूको प्रयोग-मध्येशैली र उच्चशैलीको मिश्रण,
छ) भाषिक प्रयोगमा व्याकरणात्मक पदक्रममा विचलन परिलक्षित देखिए पनि शैलीगत माधुर्य र प्रवाहमयलाई सघाउ पुऱ्याउनमा कतै कुनै लापरवाही देखिँदैन.,
ज) वाच्यका दृष्टिले कर्त्तृवाच्यको प्रमुखता,
झ) सुकोमल-असम्प्रेषयताका गुण-दोषहरू परिलक्षित ।
यद्यपि यति हुँदाहुँदै पनि प्रस्तुत खण्डकाव्यका भाषाशैली बान्किलो र मिठाइलो नै देखिन्छ ।
८. प्रकृति चित्रण:
प्रस्तुत खण्डकाव्यमा गोसाइँथान भेकको प्राकृतिक सौन्दर्य , चन्द्रगिरिको मन्मय चित्रणको वर्णन पाइन्छ । देवकोटाको गोसाइँथान यात्रा नै तिप्लिङ्गी-को उपलब्धि हो । यसैकारण तिप्लिङ्गी-लाई प्राकृतिक खण़्डकाव्य भन्न सकिन्छ । देवकोटा स्वच्छन्दतावादी कवि हुन् । प्रकृतिको वर्णन उनको रूचिभित्र पर्ने विषय हो । तर प्रकृतिका पूजारी कवि देवकोटाले यस खण्डकाव्यमा प्रकृतिको सुन्दरतालाई प्रस्तुत गरेर यसलाई प्रकृतिमय नै बनाएका छन् । यस खण्डकाव्यको आख्यान र प्राकृतिक परिवेशमाझ तादात्म्य प्रतिष्ठा गरेर खण्डकाव्य “तिप्लिङ्गी”-लाई प्राकृतिक जलपले सिँगारेका छन् । उपमेय तिप्लिङ्गी र उपमान प्रकृतिका बीचमा कविका रसिलो उदगार –
तिम्रो मुहार हेर्दामा
“मोहनी”-ले समायो !
स्वर्ग-नजीक बसेझैं
अमृत-भरी मन आयो ! (११/११)
यस खण्डकाव्यमा नायिका तिप्लिङ्गी र प्रकृतिको सुन्दरताको समीकरण पनि गरिएको पाइन्छ ।
९. विम्ब र अलङ्कार:
यस खण्डकाव्यमा देखा परेका विम्बहरूमध्ये धेरैजसो विम्बहरू प्रकृतिजगतबाट लिइएका छन् भने सामान्य मात्रामा अध्यात्म र सङ्गीतकलाक्षेत्रबाट नै लिइएको पाइऩ्छ । भावलाई धेरै मात्रामा सौन्दर्यीकरण पार्न ठाउँ-ठाउँमा अलङ्करणकौशल पनि प्रयोग गरिएको पाइन्छ । विशेष लघु किसिमको विम्ब प्रयोग गरेर खण्डकाव्यकार देवकोटाले भावाभिव्यक्तिलाई बान्किला पार्ने काम गरेका छन् । यस खण्डकाव्यमा प्रयोग गरिएका विम्बहरु उपमानकै रूपमा प्रचोग गरिएको हुँदा अर्थअलङ्कारहरू पर्न गएको खुलस्त हुन्छ ।
आलङ्कारिक विम्बविधानको दृष्टिले हेर्दा प्रस्तुत खण्डकाव्यमा उपमा, उत्प्रेक्षा, समाशोक्ति, विरोधाभास, समानान्तरता, रूपकातिशयोक्ति अलङकार प्रयोग भएको पाइन्छ, जस्तो-
क) उपमा –
मुकुलहरूको जुन-सपनामा
शिशुझैं आँखा आधा चिम्ली
नन्दन सुषमासँग मुसकाई,
स्वप्निल भाषा मुसुमुसु पाई,
पलक हलूका अधिखिल जूनका !
सरि छन् लोचन-ढकनी उनका ! (२/६)
ख) उत्प्रेक्षा –
तिनका साना मीठा दाना
कुँदने छिनो सागर-विच !
“मोती हुन् कि ” ? भन्दै, हेर्नु –
पर्थ्यो, बनमा आँखा मिची ! (२/१)
ग) समाशोक्ति –
(अ) दाडिम दाना फुट्नु अगाडि
मकुल बनीकन मुस्किन सिक्दी
रंग-मृदु दिन्थी अधर दुवैमा,
रानी-वनको महिमा झिक्दी
बोट-हँसीली वैंश-रसीली
युवतिहरूको उरतक पुग्दी ! (२/८)
(आ) पंकज-बीउको कुसुमा$$$काङ्क्षी
सलिल-सुशील्पित मृदुल-मृणाल
हरूको पाना पाई सलक्क
नाक छ उनको, मधुर झलक्क ! (२/९)
(घ) विरोधाभास
यसमा पनि ता “आँशु” छन् –
“आँशु” जीवनका दाना !
यसमा पनि ता हाँसो छन्
सुन्दरसतका मृदु-“पाना” ! (३/१५)
(ङ) समान्तरता
“शिवपुर-वनमा” घर मेरो
हरितटुनाको मृदु फेरो,
“गहभर” स्मृतिले मन ल्याई –
देख्दछु यहीनै “वन”लाई ! (३ / २)
(च) रूपकातिशयोक्ति
आत्मा तिनको सुन्दो हो
एकान्तको विलौना !
कल्पी रून्छ दिलचरो
“कालको व्याधा” आएर
“माऊ” लग्दा छेडेर
आँशु झारी पातमा
गुँडको जो छ झुलौना ! (९ /३)
यस खण्डकाव्यमा उपर्युक्त अर्थालङ्कारहरू सरल र सहजपूर्वक प्रयुक्त भएकोले यसको भावसौन्दर्यलाई निकै बान्किलो र ठुङमार्दो बनाइएको पाइऩ्छ ।
१०. ऐतिहासिकता:
यस खण्डकाव्यमा नेपाल राष्ट्रलाई स्वर्गसित बयान गर्दै श्री 3 महाराज-जुद्धशमशेरको प्रशंसा गर्नाका साथै तत्कालीन शासकका क्रियाकलापबारे उठान गरी यो समाजको सुन्दर ढङ्गले चित्राङ्कन गरेका छन् खण्डकाव्यकार देवकोटाले । यस खण्डकाव्यमा प्रणयभाव ओतप्रोत भए पनि जुद्धशमशेरको शासनको प्रसङ्ग झिकेर ऐतिहासिकताको सङ्केत दिएका छन् –
हाम्रो नेपाल स्वर्ग झैं
होला नन्दन-वनको माझ !
निक्कै “उन्नति” भो भन्छन् –
“प्रेमको शासन” गर्ने भै
“जुद्धमा शमशेर” महाराज ! (५ /१)
पोहोर साल म गाथें
“कान्तिपुरी” छे क्या राम्री !
जुद्ध-सडकमा जडिएको –
नीला बत्ती झिलमिलमा !
अमर-पुरीझैं भै हाम्री ! (५/२)
११. राष्ट्रियता र जाति प्रेम:
आफ्नो मातृभूमि एवम् राष्ट्रप्रति असीम राष्ट्रभक्ति देखाउनुपर्छ भन्ने सशक्त भावना जागृत जातीय जागरणको शङ्खघोष मराउनमा यस तिप्लिङ्गी खण्डकाव्यले मह्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । खण्डकाव्यकार देवकोटाले राष्ट्रियतालाई संरक्षण गर्नाको साथै राष्ट्रियताप्रति संवेदनशील हुनुपर्ने कुरामा जोर दिएको पाइऩ्छ । हामी जातैले वीर जाति । हाम्रा पूर्खाहरूका वीरताबारे संसारैलाई थाहा छ । यसैकारण यही वीरतालाई संसार रहुञ्जेल यथावत् राखी शत्रुलाई हाम्रो स्वाभिमानसित खेलवाड गर्न नदिने आह्वान पनि यस खण्डकाव्य मार्फत् देवकोटाले यहाँ गरेका छन् । पूर्खाहरूका तिनै विश्वप्रसिद्ध वीरताको कदर र सम्मान गर्दै प्रत्येक नेपालीको स्वाभिमान उच्च र ढीट हुनुपर्छ भन्ने अवघारणा अत्यन्तै युगानुकूल र महत्त्वपूर्ण देखिन्छ –
बेपाले-जीवन विकाशी
“वीरको छाती” फर्काऔं ।
परमेश्वरको स्वर्गमा –
कीर्तिको “चाँदे” फर्काऔं ।
वीरताले दुश्मनको
हिर्दयलाई थर्काऔं । (५/६)
आफ्नो राष्ट्र र राष्टियताप्रति सदा संवेदनशील रहेको देवकोटा आफ्नो राष्ट्र छोडी धेर धन कमाउऩे लोभमा अन्य राष्ट्र (विदेश) तर्फ गई जीवन धान्नेहरूप्रति टडकारो विद्रोह र व्यङ्ग्य प्रहार गरेका छन् । नेपालको भूप्रकृति यति सुन्दर र पाइक परेको छ जहाँ कृषि, खानी, जनसम्पदाको कुनै अभाव र कमी छैन । नेपालको वन, जङ्गल, भीर-पहरा, नदी-नाला, झार-जङ्गल, माटो, हावा-पानी आदि सबै नै सुनजस्तै किमती र मूल्यवान छन् । यसकारण, नेपाल राष्ट्रका युवा-युवतीहरू आफ्नो राष्ट्र छोडी अन्य राष्ट्रतिर भौंतारी हिँड्नुभन्दा आफ्नो राष्ट्रप्रति संवेदनशील हुनाका साथै राष्ट्रकै अमूल्य सम्पदा प्रयोग गरी त्यहाँबाट मनग्गे आयस्ता मर्न सक्छन् भन्ने सङ्केत पाइन्छ –
मइले देखें-नेपालमा
वनमा क्या “सुन” फल्दछ !
नेपालभित्रै सुन-वाला
खेती गरेको – झुल्दछ !(५/३)
यस खण्डकाव्यमा राष्ट्रियता प्रदर्शन गर्ने अन्य सन्दर्भहरू पनि प्रशस्तै पाइन्छ । खण्डकाव्यका मूल नायक मेहेन्सिङ सुदूर शिवपुर गाउँबाट कलकत्ताजस्तो महानगरीमा अध्ययनको निम्ति आए तापनि शहरको रङ्गीचङ्गी, शहरेली वातावरणमा लट्ट र मक्ख ठ्याम्मै पर्दैन तर उसलाई हर-हमेशा मातृभूमिको सुन्दर अनि प्राकृतिक वातावरणले आकर्षण गरिरहेको हुन्छ । हिजोआज युवा-युवतीहरु पैसा कमाउने निहुँमा वा उच्च शिक्षा हासिल गर्न विदेश जाने एउटा फेशनै भएको छ । विदेश गई आफ्नो मातृभूमिलाई बिर्सिनु मात्र होइन विदेशमै रही अन्य जातिसित घरजाम गरी आफ्नो मातृभूमि लगायत मातापिता, शाखा-सन्तान, गाउँ-घर, संस्कार-सोस्कृति समेत भुसुक्कै बिर्सिनु नयाँ कुरो होइन । तर तिप्लिङ्गी-का नायक मेहेन्सिङ विदेश (कलकत्ता) मै भए पनि उसको मन भने मातृभूमि नेपालप्रति अहर्निश छटपटेको देखिन्छ –
जान्छु म ता है – “नेपाल-वन” ।
अझ छ उहाँ त्यो निर्मल पन !
मानव-शिशुको प्राकृत-धन
अर्थ अलौकिक वन-जीवन ! (७/५)
विदेश जाने हरेक मेहेन्सिङहरू विदेश गए तापनि आफ्नै मातृभूमिमा आई मातृभूमिप्रति समर्पित हुन सक्नुपर्छ । आफ्नो मातृभूमिमा समर्पित हुन सके समाज, राष्ट्र धन-धान्य हुनेछ भन्ने सङ्केत पनि यस खण्डकाव्यमा ठाउँ-ठाउँमा पाइन्छ । यसै र ता मेहेन्सिङ कलकत्तादेखि झट्टै टाढिए पनि उनको मातृभूमिप्रति थिचोमिचो गर्न चाहने शत्रुलाई धुजैधुजा पार्न चाहन्छ साथै नेपालको कीर्ति फिजाई नेपालको फूलबारीलाई हरियै पार्न काकाकुली छटपटिन्छ –
हामी “पीपा” नेपालमा
बोझा गह्रौं बोकौंला !
“वीरै भई” देशका
दुस्मनलाई ठोकौंला !
कीर्ति फिँजाई नेपालको
“नेपाली भाषा” पढौंला !
“शिक्षित” बनी काम गर्दै
“नेपाल-बारी” गोडौंला ! (६/९)
जुनसुकै उद्देश्य लिएर विदेश गए पनि आफ्नो जातिको सदैव स्मरण गर्नाका साथै उनीहरूको उन्नति र प्रगतिको निम्ति जहिले पनि तटस्थ हुनुपर्छ भन्ने भावाभिव्यक्ति यस खण्डकाव्यमा परिलक्षित छ । नायक मेहेन्सिङ उच्च शिक्षा हासिल ग्रर्न सुदूर गाउँबाट कलकत्ता पुगे पनि त्यहाँको हाउभाउसित कोशौं टाढा रहेर आफ्ना जातिका पिपा दाजुभाहरूका सम्झना गरेर आफ्नो जातिप्रति भक्ति भावना उजागार गरेको पाइन्छ । उनका पिपा दाजुभाइहरू अपठित भए पनि सोह्रै आना सोझा-सरल छन् । परिश्रमी र उद्यमी छन् भन्ने कुरामा नायक मेहेन्सिङ गौरवान्वित छ –
बोक्छन् भारी भारी ती
डोका, डाला, भकारी ।
खालि जान्ने भिर्नलाई
तेर्सो पारी “खुकुरी” !
अरूको दुःखलाई आफ्नै जस्तो ठानी मानव-सेवामा समर्पित हुने खाल्का छन् उनका पिपा दाजुभाइहरू –
पहाडमा “भारी” दगुराई –
प्रकृत मानव-सेवामा
नूनको सोझो गर्ने ती –
संतोष-मीठो मेवामा । (६/८)
यस खण्डकाव्यमा मानवतावादी चेत पनि अपरोक्षरूपमा व्यक्त गरिएको छ । यसैले आफूले हासिल गरेको शिक्षाद्वाराआफ्नो पिपा जातिलाई सुधार्ने, शिक्षित बनाउनु मेहेन्सिङलाई हुटहुटी लागेको छ । उभित्र राष्ट्रिय भावना सँगसँगै जातीय भावना पनि सल्बलाएको देखिन्छ –
आफ्नो जाति सुधार्ने
“सच्चा छोरो” माताको
“ज्योति” मैले यै पाएँ –
उन्नति गर्छु म जातिको ! (६/८)
यस खण्डकाव्यमा प्रणय प्रसङ्ग बाहेक पनि सरल-सहज रूपमा राष्ट्रियता, जातीय भावना लगायत मानवतावादी चेत प्रतिष्ठा गर्ने खण्डकाव्यकार महाकवि लक्ष्मीप्रसाद देवकोटाको जमर्को स्तुत्यट रहेको छ ।
१२. विज्ञान, शहरे जीवन र सभ्यता प्रति वितृष्णा:
“मान्छे जादू”, “मानिसलाई घडीबाट हानी”जस्ता निबन्धमा निबन्धकार देवकोटाले विज्ञानप्रति वितृष्णा देखिन्छ । यी दुवै निबन्धमा देवकोटाले विज्ञानको प्रसङ्ग झिक्तै विज्ञानका अवगुणले मान्छे जातिलाई केही हद्सम्म चोट पुऱ्याएको निर्विवाद सत्यलाई उजागार गरेका छन् । यी दुइ निबन्धमा विज्ञानको आधुनिक आविष्कारप्रति निबन्धकारको मोहभङ्ग देखिन्छ । किनभने विज्ञानले धेरै कुरामा गुण लाए पनि यसका अवगुणहरू पनि थोरै छैनन् भन्ने कुरामा आफ्नो तर्क माथि राख्ने देवकोटाले विज्ञानका ती कतिपय अवगुणले मान्छेको उन्नति प्रगतिमा रोकावट आएको कुरालाई निर्धक्कै स्वीकारेका छन् । यिनै तर्कहरूलाई सत्य साबित गर्न कवि देवकोटाले यसै खण्डकाव्यको चतुर्थ पादको शीर्षक नै विषमय आधुनिकता राखी विज्ञानको उपलब्धिमाथि वितृष्णा ओकलेका छन् । वैज्ञानिक आविष्कारहरू सबै नै आधुनिक विज्ञानको कृत्रिम उपहार हो । विज्ञानले यान ता बनायो । अवश्यै पनि वर्तमान युगमा यो यान वैज्ञानिक उन्नतिको सुपरिणाम भए पनि यो यानले मानिसलाई विकल बनाएको छ । मानिस यानको दास भएको छ ।
“मानिसलाई घडीबाट हानी” निबन्धमा वैज्ञानिक आविष्कारप्रति देवकोटाको व्यङ्ग्य यसरी प्रष्फुटित भएको पाइन्छ – “….तर उहिलेका मान्छेलाई आकाशमा जादू मात्रै थिएन समयको सङ्केत पनि थियो । छायाको अध्ययन बीसौं शताब्दीको नजरमा त्यतिको मूल्यवान् छैन जत्तिको घडी अघिको युगलाई जँच्तथ्यो । परेवाको कुर्लन र अनेक सङ्केतहरूबाट समयको विचार गर्ने मानिसहरू हामीजस्ता लापरवाही थिएनन् र यो कुरा स्पष्टतया बहसबिना मालूम हुन्छ कि घडीको आविष्कारले मनुष्यजातिलाई हानिसिवाय केही गरेन ।” यस्ता वैज्ञानिक आविष्कारले परिश्रमा र उद्यमी मानिसलाई अल्छे र कुँजो बनाएको छ । मानिस कृत्रिम हाँसो हाँसिरहेछन् अनि जति जति विज्ञानले उन्नति र प्रगति गर्दैछ उति उति मानिस यान्त्रिक हुँदै गइरहेछ । विज्ञानको यस्तो कृत्रिम उपहार देखेर खण्डकाव्यकार देवकोटा वाक्कै र दिक्कै छन् ।
यसैले विज्ञानको उन्नति प्रति उनको वितृष्णा चतुर्थ पादका श्लोकहरूमा यसरी ओकलिएका छन् –
“यान” अनेक छ – “पद-कूंजा”
“चिन्ता-लहरी” सुखघूजा
मुखभर मानवभरि मूजा
गर्छन् खालि “धन पूजा” ! (४/२)
कृत्रिम हाँसो रित्तोमा
नजर छ सेतो भित्तोमा !
सभ्यपनाको रोगी पन
देख्दछु नगरीभर यस दिन ! (४/४)
नर-आत्माको अनिकाल
बक अनेकन मन-जाल
यान्त्रिक-मानव तीन काल !
“वाक्क छ” देखी मन “चाल” !
विज्ञानप्रति मात्रै होइन शहरेली जीवनप्रति पनि खण्डकाव्यकारको वितृष्णा उत्तिकै छ । शहरमा रङ्ग-रङ्गेली छ – खाना विषमय छ – विभिन्न प्रदूषणले वातावरण प्रदूषित भएको छ । हरियो-परियो कहीँ कतै छैन । प्राकृतिक कुराहरूको नामोनिशान छैन –
रँग-रँगेली “विज्ञापन”
विषमय खाना, विषका छन् !
ताजा “हरियो-पन” – “शूना”
बत्ती-अँधेरो जग-कूना ! (४/७)
नायक मेहेन्सिङ कलकत्ता अध्ययनरत् छँदा महानगरी कलकत्ताको परिवेशसित परिचित भइसकेको हुनाले सोहीको चित्रण हुबहु यस खण्डकाव्यमा उतारेको पाइन् । देवकोटा स्वयम् कलकत्तामा छँदा महानगरी परिवेशप्रति उनको वितृष्णा रहेको सत्यासत्यलाई यस खण्डकाव्यमा स्वाभाविक रूपले उतारिएको छ । शहरे वातावरणदेखि वाक्कै-दिक्कै भएको मेहेन्सिङलाई महानगरीभन्दा आफ्नै गाउँ-ठाउँको स्मृतिले झस्काइरहेको हुन्छ । उसको हृदयमा नेपालीत्वले वास गरिरहेको हुन्छ । यसै पदको अन्तिम श्लोक –
यत्ति छ केवल संतोष –
फुल्दछ दिलमा “नेपाली”
शिवपुर-वनको “स्मृति” खालि
खँडहरूमाथि “कलि” डाली ! (४ /अन्तिम श्लोक)
आफू जन्मेको ठाउँ भनेको जन्मेको ठाउँ नै हो । जो जहाँ जता गए पनि हृदयमा नेपालीत्व बोकेर नै बाँच्नुपर्छ भन्ने महानगरी वा शहरे सभ्यतामा रल्लिनेहरूप्रति खण्डकाव्यको आह्वान ठुङमार्दो नै छ । आघुनिक सभ्यताप्रति पनि खण्डकाव्यकार देवकोटाको वितृष्णा टडकारको देखिन्छ । मान्छेले जति शिक्षा हासिल गर्छ उति सभ्यताले निगुरमुण्टो लाउँछ भन्ने तर्फ पनि कविको विद्रोह उत्तिकै छ । पढी-लेखी शिक्षित भएर पनि त्यहाँ श्रद्धा-भक्तिको नामानिशान छैन । हृदय मुर्दै बराबरी छ । मान्छेको विचार कालो छ । व्यक्तिगत स्वार्थमा दुगुर्नेहरूको ताँती छ । मानिसको मनमा विषविचार झाङिँदै गइरहेछ । मान्छे मशीन बराबर भएको छ र मान्छे जति यान्त्रिक बन्दैछ उति दिशाहीन, बोक्रे हुनाका साथै चालामालामा पनि ढर्रापन आउँदैछ भन्ने सङ्केत प्रस्तुत खण्डकाव्यमा उजागर भएको छ –
“बोक्रे चश्मा” रङ्गाए
प्रकृत-चाला बङ्गाए !
विवेकभित्र टुङ्ग्याए
“मेशिन” बनाई जीवनको !
आविष्कारको झिलिमिली
पार्दछ झन् झन् इलिमिली !
विषका-बच्चा “सिलिमिली”
पार्दै मानव-हृदवनमा ! (७/३)
१३. सन्दर्भमा निष्कर्ष:
यात्रातृष्णामा अहर्निश काकाकुली छटपटिरहने यात्रा पिपासु लक्ष्मीप्रसाद देवकोटा वि.सॆ. १९९५ ताका गोसाइँथान पुगेका सत्यासत्य़ प्रमाण यसै खण्डकाव्यको त्रयोदश पाद-उपसंहारको अन्तिम श्लोकले नै छ्याङ्ङै पारेको देखिन्छ –
धेरै गाना गुमेछन्
हावा-हावैमा छरिई !
गोसाइँथानको यात्रामा
हेर्दा हामीले घोरिई !
…………………………….
…………………………….. !
राजधानीदेखि उत्तराखण्डमा अवस्थित गोसाइँथानको प्राकृतिक परिवेशको सुन्दर चित्रण गरिएको छ यस खण्डकाव्यमा । गोसाइँथान आदिवासी, शेर्पा र तामाङ जातिको थलो हो । युगौंदेखि यस भेकमा शेर्पा तामाङ जातिहरूले वास गर्दै आएको पाइन्छ । तिनै जनजातिका गाउँले नेपाली जनजीवनको सभ्यता, संस्कृतिका निश्छल भावधारालाई प्रकाश पार्दै यस खण्डकाव्यमा राष्ट्रभक्ति, वीरभावको उदबोध, युगबोध, मानववादी चिन्तन, जातीय अनुराग, प्रकृतिप्रेम, ईश्वरीय श्रद्धा, नारी प्रेम, स्वधर्म, आत्मिक, प्रेमजस्ता विशेषतालाई खण्डकाव्यमा धेर महत्त्व दिएका छन् खण्डकाव्यकार देवकोटाले । त्यसै गरी शहरेली सभ्यता र आधुनिकताप्रति तीव्र वितृष्णा देखाइएको छ । विशेष आध्यात्मवादी जीवनदृष्टलाई महत्तव दिएर जीवन दर्शनको नालीबेली केलाउन पनि खण्डकाव्यकार देवकोटा सक्षम भएका छन् । खण्डकाव्यका नायकलाई कमलको पातसित तुलना गर्दै मानिसको जीवन पनि कमलको पात झै छ र सामान्य सामान्य हावाको झोंकाले पानीको अस्तित्त्व नै मेटाइदिन्छ भन्ने कुरालाई पनि यस खण्डकाव्यमा उजागर गरेको पाइन्छ । यो नश्वर चोला एक-न-एक दिन पञ्चतत्त्वमा विलीन हुने नै छ । यो यथार्थ सत्य तथ्य हो । मानिस जन्मिन्छ, हुर्किन्छ र अन्त्यमा पञ्चतत्त्वमा विलीन हुनैपर्छ । यो संसारको साबिगक नियम हो । देवकोटाले भनेकै छन् –
“योग वियोगको नृत्यभूमि यो
जन्म लक्ष्य नै मृत्यु किनार ।””
त्यसैकारण क्षणभङ्गुरको जीवनमा मानिसले केही न केही गर्नुपर्छ । यो जीवन नै क्षणभङ्गुर हो भनी जीवनलाई तुच्छ र व्यर्थ ठानी वैरागी हुने ध्याउन्नतिर नगएर मानिस कर्मवादी हुनुपर्छ भन्ने आह्वान गरिएको छ । गीता दर्शनमा समेत कर्मवादी जीवनदृष्टिको उल्लेख पाइन्छ । यसमा निहित जीवन र सांसारिक नश्वरताबाट देवकोटाको वेदान्त दर्शनको चेतना प्रतिविम्बित भएको छ ।
यस खण्ड्काव्यमा शारीरिक भोग विलासको क्षणक कतै पाइँदैन तर आत्मिक प्रेमलाई गतिलै पाराले काखी च्यापेको पाइन्छ । लोकलयमा कथिएको उत्कृष्टतम खण्डकाव्यका ऐतिहासिक, सामाजिक, दार्शनिक पक्ष टडकारो देखिन्छ । खण्डकाव्यको विषयवस्तु काल्पनिक भए तापनि नेपाली लोकजीवनप्रति आस्था र अनुराग राख्ने देवकोटाले पिपा जातिका सरल जीवन्का यथार्थ चित्राङ्कन गरेका छन् । सुखान्त कथावस्तु तथा सिमीत पात्र भएको यस खण्डकाव्यमा देवकोटाको सौन्दर्यचेत सुन्दरपाराले प्रकटिएको छ । अङ्ग्रेजीमा बी, ए, सिद्ध्याउने शिक्षित युवक मेहेन्सिङले अपठित सुन्दरी बाला तिप्लिङ्गीलाई प्रणय निवेदन गर्नु पिपा जातिप्रतिको उदारता हो र यही उदारताले हरदर नेपाली जनजीवनलाई प्रतिनिधित्व गरेको छ। आफ्नो जातपातप्रति मोह गर्ने आफ्नो संस्कार-संस्कृतिलाई मुटुकै सिरानमा खिलेर राख्ने मेहेन्सिङ जातभात-संस्कार-संस्कृति- रनहसहन पटक्कै नमिल्ने कलकत्ताकै कुनै अनेपाली शिक्षित युवतीसित लहसिने थियो (जस्तो हिजोआज भइरहेको छ) । तर आफ्नो जातभात, रनहसहन, संस्कार-संस्कृतिसित मिल्ने अपठित युवतीलाई प्रणय निवेदन गरेर मेहेन्सिङको आफ्नो जाति, संस्कार-संस्कृतिप्रतिको मोहलाई देवकोटाले टड्कारोसँग नेपाली समाजसामु तेर्स्याइदिएका छन् । त्यतिमात्र होइन, नायक मेहेन्सिङलाई जातीय जागरणको शङ्खघोष गर्ने हुटहुटी लागेको देखिन्छ । जातीय जागरणको शङ्घोष लगायत जीवनदर्शनको भाव प्रकट भएको यस तिप्लिङ्गी खण्डकाव्यमा पूर्वेली काव्य मान्यताको भाका पाइन्छ ।
संस्कृत तत्सम शब्दहरूको प्रयोगले खण्डकाव्यमा कतै-कतै अपरिष्कार-अपरिमार्जन कमी-कमजोरीहरू देखा परे तापनि खण्डकाव्यमा प्राकृतिक विम्ब एवम् प्रतीक, लय, भाव रसिलो-खँदिलो तथा सुरिलो, मिठाइलो अनि टेसिलो लगायत प्रभावकारी नै रहेको छ । अनुरणात्मक शब्द, अन्त्यानुप्रास-अनुप्रास, उपमा, उपमेय अर्थालङ्कारको प्रयोगले खण्डकाव्यलाई बान्किलो बनाएको छ । जातीय जागरणको शङ्खघोष गर्ने तिप्लिङ्गी खण्डकाव्य नेपाली वाङमयको उत्कृष्ट एवम् अविस्मरणीय उपलब्घि भएको छ ।
कृतज्ञता स्वीकार
देवकोटा, लक्ष्मीप्रसाद, तिप्लिङ्गी, काठमाडौँ : उदय बुक्स प्रा. लि., २०४७।
महाकवि देवकोटा, लक्ष्मीप्रसाद, मुनामदन, काठमाडौँ : नेपाली भाषा प्रकाशिनी समिति, १९९८ ।
जोशी, कुमारबहादुर, देवकोटाका प्रमुख कविता-कृतिहरूको कालक्रमिक विवेचना, काठमाडौँ : सिद्धार्थ वनस्थली, प्राज्ञिक परिषद्, २०४८ ।
???, नेपाली काव्य र कवि, काठमाडौँ : साझा प्रकाशन, २०३९ ।
???, नेपाली काव्य र कवि, काठमाडौँ : साझा प्रकाशन, २०५८ ।
लेखक परिचय
भारतीय नेपाली साहित्यमा परिचित नाम हुन् पश्चिम बंगाल सिलिगुडीका कृष्ण प्रधान ।
लामो दिनदेखि अनवरत साहित्य साधनामा लागिपरेका प्रधानका हालसम्म पच्चीस वटा कृति प्रकाशित छन् । साहित्यका जम्मै विधामा कलम चलाए पनि यिनको विशेष लेखन क्षेत्र हास्यव्यङ्ग्य र समालोचना हो । यिनका विशेष समालोचना र हास्यव्यङ्ग्य निबन्धहरू देश विदेशमा प्रकाशित भइरहन्छन् । साहित्यिक तथा संवाद पत्रकारितामा संलग्न प्रधान हाल मासिक जर्नल सम्पादन गर्छन् । प्रधान अल इन्डिया रेडियो खरसाङ (भारत) का फुटबल कमेन्टेटर पनि हुन् । यिनका दुई नयाँ कृति 'काव्यशास्त्र' र 'नाट्यशास्त्र' प्रकाशोन्मुख छन् । इमेल: krishanu1956@gmail.com