अजाजेल अजाजेल
१ प्रतिविम्ब
म सुत्ने खाटमुनि एउटा ऐना रोइरहेको थियो;
चर्किएको, धूलोले ढाकिएको
तर त्यसको फ्रेम प्रवल अनि चहकिलो,
रोदनमा आहवान थियो
सम्पूर्ण चराचरको चरम वैराग
अनि मेरो अन्तर्मन त्यो एकनास ध्वनिको एकसरो माध्यम;
के यो वरदान थियो कि अभिशाप ?
ऐनाले छायाँ निलेर भोक मेटाउँदो रहेछ
एक इनारबाट जहाँ सौवर्णका फकिरहरू मरे;
या खियालागेका देहहरू द्रव्यको लोभमा मारिए,
के पानीमा विष थियो ?
कि तिनीहरूले पानीको धर्म लुकाउने प्रयास गरे ?
मैले ऐनालाई मधुरसले पखाले
तर मेरो हत्केला ऐनाको धारबाट चिरियो
शून्यतादेखि अनन्ततासम्मको यात्रा सुरुभयो
जब मेरो एक थोपा रगत ऐनामा चुहियो
महिमा बेगरको मन्दिर
चक्रव्यू हो कि स्वाधीनता ?
निरर्थक भए सारा
जब म शताब्दीको तिर्खा छातीमा बोकेर
लत्रिदै त्यहिँ इनारको छेउमा आइपुगे।
२ उसको नाम कवि हो
उसको नाम कवि हो
तर ऊ कविता लेख्दैन
जून र तारामा
सागरको गहिराइमा
वर्षात र वसन्तमा
प्रियसीको उपमा देख्दैन,
ऊ रिसाहा छ तर आवेग कोर्दैन
मतवाला छ तर मात पोख्दैन
उसको शब्दकोषमा सम्बन्ध र सुन्दरताको वयान गर्ने वर्णविन्यास नै छैन,
त्यसैले उसले कविता लेखदैन
तर पनि उसको नाम कवि हो,
किनकि ऊ हरेक साँझ,
एउटी सिताको सीकारमा जान्छ;
फरेवको सट्टामा प्रेम लेखिएको कृति
रामको भेषमा कविले रचेको प्रीति,
हरण पछि उसले सिताको मुटु मात्र छातीबाट बाहिर निकाल्छ,
शरीरलाई उसको मायावी खाडलमा पुरिदिन्छ,
फेरि किन ऊ आकाश हेर्दै आफ्नै आँखालाई सराप्छ ?
सायद, सिताको स्वरूप त्यही तारामा झिलमिलाउँछ,
“संसारको रीति, यो तीतो विधि, विवस छु आफैमा,
बादल माथि आउनेछु एकदिन तिमीलाई भेट्न हवाई घोडामा,
झुक्नेछ शिर त्यो चरणअघि, विन्ती नभुल्नु है,
मुटु दियौ, म आत्मा सम्पियुँला, अनि त माफ गर्छौ नी है ?
अनि पागल जसरी हाँस्दै त्यो हृदय निचोरेर कलेजी रङ्गको स्याही बनाउँछ,
अनि एक हत्यालाई गदरको काव्यमा ढाल्छ,
अनि त उसको नाम कवि बन्छ l
लेखक परिचय
अजाजेल कानुन तथा मनोविज्ञानका विद्यार्थी हुन् ।
This is so wonderful