पक्कन्दी
उराठै लाग्दो सुकेर सिंवाली घारीमा
छुइ्या ……! पक्कन्दी खेल्दै
मैन्तापको बाटो झरेर
हरियो तमोर तरेर
उकाली चढ्दै
उह्वी…..! उह्वी…..!! खुइया मार्दै
आ’को थिएँ हजुरको थुममा
जीवनको पहिलो खेप ।
खै ! कसोकसो ठोकिएर आँखाहरू
चालै नपाइ मुसुक्क हाँसेर
गालाहरू रातो पिरो हुनुको मज्जा बेग्लै थियोे
एकातिर बचपनमा सलाईको खोलमा
भमरा हालेर रेडियो सुने जस्तै गुँजिरहेथ्यो यासक
त्रीसाली मेलाको आवाज हननननन………!
शायद सौभाग्य,
अनायास बेरिएर सात फन्को
पटुकी पालामले
छुट्टिएर फेरि कहिल्यै नटाढियौं जस्तो
तर विवशता नै खै ! कस्तो – कस्तो !!
त्यसोर
उभिनु भो हजुर कोशी पारि सिलौती जस्तै
म दुःखी उभिएँ कोशी वारि तिनजुरे जस्तै ।
उ बेला-
थिएन गाडीको बाटो गाउँ-गाउँमा
थिएन मोबाइल मान्छेको हात-हातमा
थिएन थाहा हामीलाई
इमो र म्यासेन्जर,
वाट्सेप र भाइबर कुन चरीको नाम हो ?
तसर्थ-
भावना हिंड्थे खनेर बाटो अक्षरको
हृदय तर्थे थापेर साँघु कागजको
बाडुली भित्र खेल्दथे हजार सम्झना
कल्पना भित्र फुल्दथे लाख सपना ।
एकखेप,
पोक्लाबाङ डाँडामा
हजुरले दिनुभएको पालामको चिनो
त्यतिकै ध्वाँसो लागेको छ लेनदेनको तमसुक झैं
स्मृतिको पहाडे कागजमा-
“वैशमै धान नाचिराखौं
नपोखी माया साँचिराखौं
साटेर मुटु बराबरी
छुट्टिने छैनौँ सदाभरि ।”
अर्कोसाल फेरि –
फोटो खिचाउँदै खोटे सल्लाको फेदमा
लुङछाताको चाप्लेटी ढुङ्गादेखि
त
ल
देखाएर विस्तारै सिन्काले कोट्याउँदै ढुङ्गा
भन्नु भो- “मलाई तमोर जस्तै बग्न मन लाग्छ !”
मनमनै सम्झेँ – यो युगको हामी रोमियो जुलियट ।
समयान्तरमा-
खै ! कसरी आयो ?
यति वेगिलो आँधी सुमानी जस्तै,
कुरेर बसें जवाफी पत्र उडेर गयो कि परेन हातमा
थुम थुमको हाट बजार कति चहारें हजुरकै तलासमा
तर कतै भेटिनु भएन ।
धेरै सालपछि-
खै ! कसरी भेटें हजुरलाई ? मर्चा दोकानमा
लम्पसार हुँदै हजुरको पाउमा बेस्सरी रुने मन त थियोे
सबै सबै पल्टाएर अतीतहरू
तर , आँखाको भाषा बोलेर पनि
अव्यक्त रह्यो भावना
किन कि हजुरको छेउमै उभिएको थियोे
धारिलो सिरुपाते ।
सम्झनाको चाङ लगाएर सोच्छु त्यो पल
निमको पात र चिरेेतोको झोल भन्दा कम खाले थिएन ।
त्यसो त
नाथे जिन्दगी मन्धाने झार जस्तै त हो
यस्तो जिन्दगीले हिँडेका
कति गल्ली र गल्छेडा पनि त भ्रम नै हो ।
तैपनि
धुमिल सम्झनाको क्षितिजमा राखेर
विगतका पहाडहरू
जीवन के हो ? को
जवाफ खोज्दै सम्भावनाको उकालीमा
आज पनि पक्कन्दी खेल्दैछु ।
लेखक परिचय
फालेलुङ् पाँचथरका पुष्पहाङ लोवा, मूलत: आदिवासी सौन्दर्यलाई मूल विषय बनाएर लेख्ने लेखकका रूपमा चिनिन्छन् । उनी कथा, नाटक, कविता र नियात्रा विधामा कलम चलाउँछन् । लोवा याक्थुङ लेखक सङ्घ र याक्थुङ साहित्य प्रतिष्ठानसँग आबद्ध छन् । तङ्अम्भुङ् कविता संग्रह - (२०६७), याग्राङ्सिङ् कविता संग्रह - (२०७३) लोवाको प्रकाशित कृति हुन् ।