हाम्रो दु:खको शृङ्खला चार हजार वर्ष पुरानो छ
टाउकोमा ब्राह्मण्य पैतालामा शुद्र राखेर
भारतीय उपमहाद्वीपमा वेद लेखिएको
भयो होला चार हजार वर्ष नै
शुद्रले वेद सुनेपछि
कतिपल्ट घोचीए होलान सुइराहरूले हाम्रो कानहरूमा
गायत्री मन्त्र सुनेर
कतिपल्ट अपवित्र भए होला हाम्रा आमा दिदीबहिनीहरू
पण्डितजी तपाईँ त जातैले महान हुनुभयो
म त थिए भूँइको धूलो
म त थिए हिलोमा फुलेको सुन्दर कमल फूल
ठगिएछु आफनै सौन्दर्यमा पनि
जाडो महिनाको एकदिन
मनुस्मृति च्यातेर मैले जोडेको हुँ आगो
ममा जागृत भएको छ आगो
आगोसँग ईश्वरहरू डराउँछन्
आगोसँग डराउँछन् धर्महरू
आगोसँग डराउछन् सत्ताहरू
आगोसँग डराउछन् रामहरू
बरु आगोसँग खेल्न तयार हुन सक्छन् रावणहरू
आगोसँग हार्न सक्छन् दशरथ राजाले पनि
विरुपाक्षको मुर्तिमा आगो लागिरहेछ पण्डितजी
कलीले टाउको उठाएको छ मसाल बनेर
जोगाउ तिम्रो धर्मशास्त्रहरू
जोगाउ तिम्रो एकतर्फी इतिहासका पानाहरू
जोगाउ तिम्रो शिर बसेको जातलाई
जोगाउ तिम्रो चार वर्ष लामो सत्तालाई
विरुपाक्ष मातेको छ
विरुपाक्षलाई तिमीले किन झुटो बोलेको महादेव ?
विरुपाक्ष रिसाइरहेको छ
एउटा अज्ञात गल्तीबाट पाठ सिक्दै
विरुपाक्ष उभिएको न्यायको लागि
कलीको बौलाएको बेला
अर्जुन ! धर्मले कस्ले मास्यो
को हो अर्धर्मी
को हो अन्यायको पक्षधर
अब तिमीले भन्नुपर्छ
अब तिमीले सत्य बोल्नुपर्छ
अर्जुन तिमी हौ भने सत्य
यो कलीमा तिमीले पनि बोक्नुपर्छ मसाल
गीतालाई तिमीले हिडाउँनुपर्छ न्यायको बाटोमा ।
कलि बौलाएकै हो धर्मका ए प्यारा जनहरू
कलीलाई कसले दियो आगो
कलीलाई कसले सिकायो आन्दोलन गर्न
कलीलाई कसले बनायो यति शक्तिशाली ।