रिविक्रम परिविक्रम
१
अछूतको गीता
सुनार दाइ
गालेका सुनमा
हथौडी चलाउँदा रोए
सँगै गहना बन्दा मुस्कुराए ।
कामी दाइ
तातेका फलाममा
घनले पिट्दा रोए
सँगै औजार बन्दा मुस्कुराए ।
दमाईँ दाइ
टुक्रेका टालामा
सियोले घोच्दा रोए
सँगै लुगा बन्दा मुस्कुराए ।
समाजले धन्न गीता छुन दिएन र
कथित अछूतले यिनैबाट जीवनको सार बुझे ।
२
मगनी
उनको हात माग्न जाँदा
मेरो जात हेर्न थालियो
मेरो वर्ग हेर्न थालियो
अनि हामी,
आफ्नै ज्यान मागेर फर्कियौँ ।
३
दिगो युद्ध
विवाहमा दुई मन जोडिन्छन्
अझ भन्नुपर्दा, दुई घर जोडिन्छन्
तर जब कुरा आउँछ
अन्तरजात, वर्ग र धर्मको
तब विवाह एक युद्ध बनिदिन्छ
जहाँ,
हारे भने पूरापुर हार्नेछन्
तर जिते भने पनि आधा जित्नेछन्
केटीको घर केटाको ससुराली हुनेछैन
केटाको ससुराली हुनुपर्ने घर केटीको माइत हुनेछैन
भएर पनि नभएको
केटाको ससुराली अनि केटीको माइत
भएर पनि हुने छैन तिनका केट्केटीको मामाघर
यसरी स्पष्टसँग
आधा जित र आधा हार बुझेर पनि
किन जन्मिरहेका छन् योद्धाहरू ?
परिविक्रम
लेखक परिचय
साहित्य क्षेत्रमा परिविक्रम भनेर चिनिने कास्कीका विक्रम परियार गजल, कविता लेखन, पेन्सिल स्केच, संगीत र क्यालिग्राफीमा रुचि राख्छन् । उनी हाल कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनमा बि.एस.सि. एग्रिकल्चर अध्ययनरत छन् ।