रोशनी बाँस्कोटा
सगरमाथा सम्झन्छु,
अनि सम्झन्छु
बुवाको त्यागको गहिराइ !
आखिर,
सगरमाथा चढ्न
अनि बुवाको त्यागको
बयान गर्न,
कुनलाई बढी समय लाग्ला ?
८८४८.८६ मिटर
“सर्वोच्च शिखर” हुन्छ भने,
बुवाको त्यागको गहिराइ
आखिर,
कति मिटर हुन्छ ?
एक चुचुरो,
सगरमाथालाई
विश्वले चिन्दा,
सन्तानको खुशीमै
आफू सन्तुष्ट
रहनु हुने बुवालाई,
आफ्नै सन्तानले पनि
आखिर,
किन चिन्न सक्दैन ?
सगरमाथाले
विश्वलाई नियाले झैँ
सन्तानको संसार
नियाल्ने अठोट
सायद,
जन्ममै लिनु
भएर होला,
बुवाको शिरको टोपीमा
म सधैँ
सगरमाथा देख्ने गर्छु !
खास,
सगरमाथाभन्दा
उच्च त
मेरा बा लाग्छ मलाई !
लेखक परिचय
बाँस्कोटा नेपाली सहित्य लेखनमा नव प्रतिभाको रूपमा उदाएकी छिन् । उनी विशेष गरी गजल विद्यामा कलम चलाउने गर्दछिन् । फुटकर रूपमा उनका रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।