सानै छ ऊ
भर्खर नौ पुगेर दशमा टेक्दै गरेको
मानौँ एउटा आकृति बन्दै गरेको
कमलो माटो
उसको कलिला पाइलाहरूले
कुनै आँटिलै कदम चाल्न खोज्दो हो सायद
त्यसैले त
छाती भित्र भयङ्कर ज्वालामुखी बोकेर हिँड्न सिक्दैछ ऊ ।
लाग्छ आफै भित्र एउटा अदृश्य लडाइँ लडिरहेछ।
तर आँखामा भने सधैँ एउटा डर बोकेर हुर्कन्दैछ ।
हो
उसलाई युद्धसँग डर लाग्छ
बाजेसँगै बसेर टेलिभिजनमा समाचार हेरिरहँदा
बाजेको पाखुरा कस्सिलोगरि पक्रिन्छ
कि बोजुको फरियापछि लुक्दै चिहाउँछ
टेलिभिजनले रात-दिन फुकिरहेको
त्यो विश्वयुद्धको समाचारहरू ।
हो
उसलाई युद्धदेखि डर लाग्छ
भर्खरै त हो
उसको हातमा केड्वरी थमाएर
जुरुक्क उचाल्दै उसको निधारमा म्वाइँ खाइ
आशिर्वाद दिँदै पल्टन फर्केको
उसको बाउलाई
झण्डाले बेह्रेर घर ल्याइएको।
बिहोस् भएर लडिरहेकी उसको बोजुलाई
एकछिन नियालेपछी
पसिना र नाक पुछ्दै
उसलाई छातीमा टाँसेर रोएको
बाजेको अनुहार जब सम्झिन्छ ऊ
अनि
कानमा बजिरहन्छ बाजेको त्यो वाक्य
“तेरो बावु युद्धमा सहिद भएछ….”
उसलाई युद्धदेखि डर लाग्छ।
हिजै जस्तो लाग्छ उसलाई
छिमेकी काकाले उसको आमाको
कम्मर पक्रेर
जबर्जस्ती तानेको
उसको आमा कहालिन्दै रोएको
काका र आमाको त्यो झगडामा
सायद आमाको हार भएछ
त्यसैले त रातभरी उसको केश खेलाउँदै रोएकी आमा
सम्झन्छ र भुल्नै सक्दैन
अघिल्लो दिन
नेभारोको रुखमा तुर्लुङ्ङ झुण्डिरहेको आमाको
हारको बलिदान
उसलाई युद्धदेखि डर लाग्छ।
तर
आमाको देहमा पनि देशको झण्डा ओढाउन चाहान्थ्यो ऊ ।
बाजे थला परेको बेला
घरछेउ पहिरो गएको बेला
घरमा रासन सकिएको बेला
गाउँ घरमा शुभकार्य परेको बेला
बोजुको
“तेरो पनि बाउ-आमा भएको भए”हरूले
उसलाई युद्ध मनै पर्दैन।
एकरात आमाले सुनाएकी कथा सम्झिएर
बिहान एकजोड सेतो परेवाको खोजीमा निस्कन्छ
ऊ
विश्वशान्तिको भाकल उडाउनलाई
उसलाई विश्वास छ आमाको प्रेम र कथाहरूमा
उसले सम्मान गर्छ बाउको देशभक्ति र बलिदानलाई
आकाश र धर्ती दुवै हराएको
छानु र मानु गुमाएको
काख र न्यायो मास्सिएको
युद्ध पछिको
वास्तविकता
ऊटुहुरोलाई
साँच्चै
युद्धदेखि डर लाग्छ।
लेखक परिचय
दार्जिलिङका बिनीता छेत्री कथा र कविता लेख्नुहुन्छ ।
मार्मिक कविता!
हाम्रो गाउँ-घरको यथार्थ काव्यात्मक चित्रण।