नमस्कार है !
अक्करको बाटो । तल हेर्यो, डरलाग्दो खोँच । कहीं कतै खुट्टा चिप्लिहाले, काबेली खोलाको माछाको खजना भईन्छ भन्ने डर । बल्लतल्ल अक्करे पार गरी मामांखे पुगेर चैनको स्वास के फेर्न लाग्या थियौँ, कम्मरमा खुकुरी भिरेकी मंगोल महिलाले स्वागतार्थ भनिहालिन् – नमस्कार है ।
“लौ, भुई सोरी सेवारो”
चिनापर्ची सहजताको लागि एक सहयात्रीले हाँस्दै भने । सहयात्री सोही जिल्लाको भएर त्यो भुगोल र समाज प्रति केही जानकार हुनै पर्छ । “ अच्या ! लिम्बू नै हउ कि भाईहरू पनि? ” मंगोल महिलाले जिज्ञासु पाराले सोध्नु भो । “ हो हो, वहाँहरू चै खुदको लिम्बू । म चै तराईको खच्चड ।” अर्का झापाली मित्रले समुहमा हाँस्दै आफ्नो उपस्थिति जनाए । “एहौ, त्यै भएर पो तपाईँ खच्चड जस्तो अगाडी अगाडी हिन्नुहुँदो र छ ।” ती मंगोल महिलाले यति भनेपछि टोलिमा गजपको हाँसो छायो ।
यात्राको अवसर जहिल्यै कहाँ जुर्नु र बल्ल एकाध समयको योजनापछि मौका जुर्यो । त्यो पनि अकस्मात् । अकस्मात् योजनाको तयारी कामचलाउ जस्तो थियो । झोलितुम्बि पोको पारेर हतारमै तय भयो । ईलाम, झापा र ताप्लेजुङ गरी जम्मा पाँच जनाको टोलि बन्यो र लाग्यौँ दुनियाँ भुलेर कञ्चनजंघालाई नजिकबाट महसुस गर्न । यात्राको पहिलो दिन फुङलिङमा बसाई भयो । पहाडको सहर, यसै रमाईलो । भोलिपल्ट बिहानै सुकेटारबाट पदयात्रा सुरू भयो । एउटा पहाड आउँछ, फेरि अर्को । त्यो क्रम यात्राभरी नै रह्यो । मानौँ, यो पृथ्वी सुन्दर पहाडहरूको थुप्रो हो । जो कहिल्यै टुङ्गिदैन ।
देउराली–लालिखर्क–फुप्पेडाँडा हुँदै तेस्रो दिनमा मामांखे पुगियो । हिमाली यात्रा रोचक त उसै हुँदो नै हो । तर त्यो दिन झनै विशेष थियो । किनभने हामी नेपालको एकमात्र “लिम्बू साँस्कृतिक संग्रहालय” पुगेका थियौँ । साँस्कृतिक भब्यताको ‘इपिसेन्टर’ । पछिल्लो समय लिम्बू जातिको साँस्कृतिक तथा मौलिक सम्पदाहरूलाई संरक्षण, सम्बर्धन र प्रवर्धन गर्न तेह्रथुमको बसन्तपुरमा “युमा संग्रहालय” स्थापना गरिएको साँचो हो ।
बिश्वको तेश्रो अग्लो चुचुरो कञ्चनजङ्घा आधारसिविर जाने यो पदमार्गलाई नेपालको एक लामो र साहसिक पदमार्गको रूपमा लिईन्छ । पर्यटन बोर्डको जानकारी अनुसार यो पदमार्ग पुरा गर्न करिवन दुईसय बीश किलोमिटर हिड्नुपर्छ । विश्वको तेस्रो अग्लो यो चुचुरोमा सर्बप्रथम ब्रिटिस नागरिक जिओर्ज सि. ब्याण्ड र जोई ब्राउनले सन् १९५५ मे २५ मा आरोहण गरेका थिए । विभिन्न मुख्य पाँचवटा अग्ला चुचुराहरू रहेको यो हिमाली क्षेत्रमा कञ्चनजघां हिमालको दुई आधार सिविरहरूको मज्जा लिन सकिन्छ । उसो त यस हिमाललाई सन् १८५६ भन्दा अघिसम्म संसारको सबैभन्दा अग्लो हिमाल भनेर भनिन्थ्यो । जतिखेर सगरमाथा र माउन्ट केटुको वास्तविक उचाई मापन भएको थिएन । यहि तेस्रो अग्लो हिमालको आधारसिविर जाने कञ्चनजघां पदमार्गमा पर्छ “लिम्बू कल्चरल ट्रेल” । सो ट्रेलले ताप्लेजुङ सुकेटार देखि मामांखे सम्मको क्षेत्रलाई समेट्छ । यहि ट्रेलमा पर्ने मामांखेमा पर्छ लिम्बू साँस्कृतिक संग्राहलय । सो संग्राहालय लिम्बूहरूको जातिय, भाषिक, साँस्कृतिक, धार्मिक तथा मौलिक कुराहरूको सम्बर्धन र प्रवर्धनकालागि“ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम (टिआरपिएपि)” ले सन् २००७ मा स्थापना गरेको हो । संस्थाको अरू उद्देश्य उक्त संग्रहालयलाई पर्यटन सग जोड्नु पनि थियो । उक्त संग्राहलयमा लिम्बू जातिसंग सम्बन्धित विभिन्न ऐतिहासिक महत्वका बस्तुहरूलाई संग्रहित गरेर राखिएको छ ।
उक्त क्षेत्रमा करिब ९०–९५ प्रतिशत सम्म माबो थरको लिम्बू जातिको बाहुल्यता रहेको छ । यसले गर्दा त्यहाँको पर्यटनको प्रचुर सम्भावना देखिन्छ नै तर पर्यटन व्यवसायलाई ब्यवस्थित बनाउन त्यहाका लिम्बूहरूले त्यती चासो देखाएको पाइन्न । पछिल्लो समय संग्रहालयको ब्यवस्थापनमा पनि ह्रास आएको स्थानिय बासिन्दा बताउँछन । संग्रहालयसंग सम्बन्धित संस्थाका एक पदाधिकारीले भने, “संग्रहालय स्थापना भएको वर्ष दिनमै उक्त संस्थाको कार्यक्रम सकियो । संग्राहलय थप ब्यवस्थापन गर्न र पर्यटन क्षेत्रमा थप लगानी गर्न जि.बि.स.मा आन्तरिक कोष
नभएकोले समस्या भएको हो ।” उसो त आजसम्म नेपालमा संग्रहालय नबन्नु पनि अर्को कमजोरी देखिन्छ ।
लिम्बू जाति नेपालको आधुनिक भुभाग एवं बृहत हिमवत् खण्डमा देखिएका सबैभन्दा प्राचीन जाति मध्येको एक प्रमुख जाति हो । बैदिक काल पुर्वका जाति लिम्बूहरूले, फिरन्ते अवस्था देखि नै नेपाल एवं बृहत् खण्डलाई आफ्नो थलो कायम गरेका छन् । जातिगत आधारमा ताप्लेजुङमा लिम्बुहरू कुल जनसंख्याको करिबन ४२ प्रतिशत छन् भने, ११ औँ राष्ट्रिय जनगणना २०६८ अनुसार लिम्बूहरूको नेपालमा जनसंख्या ३,८७,३०० देखिएको थियो । जुन कुलजनसंख्याको १.५ प्रतिशत हो ।
ज्या है ! छोटै समय भएपनि त्यहाँको बसाई महत्वपुर्ण रहयो । बाँकि यात्रा तय गर्नु त छँदै थियो । त्यहाँ भन्दा माथी याम्फुदेन पर्छ । कहिँकतै गुरूङहरूको छिटपुट बस्ती । बाँकी त सेर्पा समुदाय कै बाहुल्यता । मामांखे सम्म सेवारो बोलेको मुखले त्यहाँ भन्दा माथि टाँसिदेलेक भन्दै गयो ।
कहिँकतै निधारै ठोक्किने उकालो छ । कहिँकतै सात्तो जाने पहिरो । कहिँ कतै माक्सको दारी झै पलाएका झ्याउ सहितको बुडो रूखहरू । मानौ ती बुडा रूखहरू नै युगको साक्षीहुन् । यात्रामा थकान हुन्छ नै, रोमाञ्चकता पनि उसै थपिन्छ । हिँडिरहेका छौ, उचाई बड्दै छ । बाँकि यात्राको यस्तो कौतुहल छ, मानौ हामी जिन्दगीको उचाई उक्लदैछौंँ। उसो त त्यो उचाईबाट खुसीको अर्को फाँट महसुस गर्नु नै थियो ।
चेराम, राम्चे हुदै यात्राको पाँचौ दिनमा कञ्चनजंघा हिमालको उत्तरी आधार सिविर पुग्यौँ । करिबन् ४८५० मिटर उचाइको सो आधार सिविर पुग्दा यात्राको थकानहररू कतै गायब भएजस्तो महसुस भो । पारिलो घाम लागिरहेको थियो । केही समय आधार सिविरमै टोहलियौँ । विश्वको तेस्रो अग्लो चुचुरो हेरेर दंगपर्यौ ।
सहयात्री एकजना चतुर मित्रको “म त ताप्लेजुङे पो त”फुई पनि आधार सिबिरको उचाइले झाँको झार्यो । मित्रलाई त्यो उचाईले गलायो । त्यसो त कतिपटक हिमाल आरोहण गरिसकेका र हिमालमा अभ्यस्त भै सकेका हरूलाई त्यो भन्दामुनिको उचाईमा पनि लेक लाग्ने सम्भावना कायमै रहन्छ । तल झरेर आधार सिविरको फोटो देखायौँ । मित्रले साँझको चिसो मौसममा तातो चियाको चुस्कि लिदै आधार सिविरकै महसुस गरेको हुँदो हो ।
त्यसपछि भोलिपल्ट सुरू भयो अर्को आधार सिविरको यात्रा । हामी बाँकि यात्राको लागितयार भयौँ । त्यसको लागि सेलेले पास कट्नु थियो । चट्टानको बाटो । कहिकतै हिमालले आफ्नो अञ्जुलीमा निलो पोखरी बिसाएको छ । र घरिघरि त्यहि पोखरीमा आफ्नो सौन्दर्य हेर्छ । बाफ्रे ! हिमालको त्यो सौन्दर्य ।
साँझ छिपिदै छ । भएका पिलपिले टर्चलाइट र मोबाइलको सहायताले यात्रा जारी राख्दै छौ । हिमालमा चन्द्रमा छाएको बेला रात पर्दैन भन्ने उक्ति सहि साबितभो । हिउँ फुलेका हिमालहरू भने छर्लङ्गै देखिदै छ । अँध्यारोमा यात्रा, बल्ल रातको ८ बजेतिर मैदान देखियो । मैदान झिलिमिली छ त्यो घुन्सा रहेछ । हामी यात्राको नवौं दिन घुन्सा पुगेका थियौ ।
घुन्सा, हिमालको फेदि र जिल्ला सदरमुकाम देखि दुरदराजमा भएता पनि केही सुविधाहरू छन् । लघु जलविद्युतले स्थानियलाई आवस्यक विद्युत परिपुर्ति गरेको छ । प्राथमिक तहसम्मको विद्यालय गाउँमै छ । प्रहरी कार्यालय, सञ्चार लगायत प्राथमिक उपचार केन्द्रसम्मको सुविधा छ । कञ्चनजंघा पदमार्गको सबैभन्दा सहज क्षेत्र नै घुन्सा भन्दा अनुपयुक्त नहोला । त्यसो त घुन्साले अझै उज्यालो देख्नु बाँकि नै छ ।
“यहाँ हेलिकप्टर दुर्घटना नहुनु र त्यसबेला बनेका कार्या योजना कार्यान्वयन हुनु हो भने घुन्सामात्र हैन, यो पुरै सर्किट नै व्यवस्थित बनिसक्थ्यो” स्थानिय कञ्चनजंघा होमस्टेका मालिकले भने । वि. सं. २०६३ साल असोज ७ गते श्री एयरलाइन्सको हेलिकप्टर त्यहा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा भुगोल तथा योजनाविद् डा. हर्क गुरूङ लगायत दर्जनौ बिद्दतहरूको ज्यान गएको थियो । घुन्साको त्यो पारिवारिक बसाई पस्चात अर्को दिन कञ्चनजंघा साउथ आधार सिविर जानु थियो । टोलिका पाँच सदस्यहरू मध्ये तीन सदस्य सदरमुकाम तिर ओर्लिने भए । बाँकि दुई जना मात्रै आधार सिविरतिर लाग्ने भयौँ । सगैँको यात्रीहरू, छुटिदा कसलाई रमाईलो लाग्छ र ? त्यो भन्दामाथिको बाटो नर्थ भन्दा जोखिम र जटिल छ । खाम्बाचेन कटेपछि सुख्खा पहिरो जाने ठाउँहरूको सामना गर्नुपर्छ । साँझ ढलेर रात छिपिदै छ । हिमालको नजिक भएर होला, हिउँमा परावर्तित चन्द्रमाको उज्यालो बाटैभरि पोखिएको महसुस गरिरहेका छौँ । जसोतसो रातको आठ बजेतिर लोन्हाक पुग्यौँ । गोडा दुखेको छ । भोलि त जसै मुख्य आधारसिविर पुग्नु छँदै थियो । यसै यसै रोमान्चित हुँदै चाँडै ओछ्यान तिर लाग्यौँ ।
यो “ग्रेट हिमालयन ट्रेल”को सुरूवाती बिन्दु हो । यो बृहत् हिमखण्डमा फैलिएको सबैभन्दा लामो ट्रेल हो । नेपालमा “ग्रेट हिमालयन ट्रेल” ताप्लेजुङ बाट पस्चिम हुम्लाको हिल्सा सम्म हो । अमेरिकी नागरिक रोबिन बौस्टेडको समुहले पाँचवर्षको अध्ययन र अनुसन्धान पछि यो रूट पत्ता लगाएका हुन् । “द ग्रेट हिमालयन ट्रेल” पाकिस्तान, भारत, नेपाल, भुटान हुदै तिब्बतको हिमवत खण्डसम्म फैलिएको छ । यो ट्रेलको सबै भन्दा उच्च भाग सेर्पेनि कोल (६१४६ मी.) नेपालमै पर्छ । हिजोको यात्राले थाकेकोले होला, बिहानको उठाई केही अबेर भयो । त्यसपछि लाग्यौ कञ्चनजंघाको मुख्य आधार सिविर साउथतिर । हामीपहरे बाटोमा यसो बाटो खोज्दै हिडिरा छौं । बाफ्रे, यो लिखुरे ज्यान नअँट्ने झै त्यो साघुँरो बाटोमा त्यत्रो भिमकाय सरिरका चौँरीहरू कसरी हिडेका होलान् ? एकैछिन गम खायौँ ।
करिवन चार घण्टापछि कञ्चनजंघाको साउथ बेस क्याम्प पुगेका थियौँ । हत्केलाले छुँला झै कञ्चनजघां हिमाल । मौषमले उसै साथदियो । केहिछिन त्यहाँ फेरि टोलायौँ । हामी आपसमा कुरा गर्न छाडेर एकैछिन एक्ला एक्लै हिमालसगं संवाद गर्यौ सायद । केहिछिन मौनता छायो । यात्राको महत्वपुर्ण विन्दु नै यहि थियो । टोलिका अन्य साथीहरूलाई सम्झियौँ । फिर्न मनथिएन, फिर्ने बेलामा आमाले यात्राको शुभकामनार्थ दिनुभएको सेतो गल्फनमा केही अक्षरहरू कोरे । त्यसलाई पनि त्यहि तोरणकै लाईनमा झुण्ड्याएँ । साथिले दिएको पाथिभरा अंकित तामाको चुरा पनि त्यही छाडिदिएँ । कसैले नदेखि । किनभने मलाई थाहाथियो, अक्षरहरूलाई त हिउँले खान्छन् ।
त्यस पछि हामी ओरालो लाग्यौँ । मनलाई हिमालले माथि तिरै तानेजस्तो हुन्थ्यो । घरिघरि कञ्चनजंघा चुचुरोलाई फर्किफर्कि हेथ्र्यौ । साँझपख खाम्बाचेन आइपुग्यौँ । पेम्बादाईले चियातयार पारिदिनु भो । खाम्बाचेनमा आन्तरिक पर्यटन प्रवर्धनको लागि चियामा कुनै शुल्क छैन । नत्र सेलेले पासमा प्रतिकप सादा चियाको रू ८० सम्म तिरेका थियौ । खाम्बाचेन मै पहिलोपल्ट क्याम्पिङ गर्ने अवसर पनि जुर्यो ।
उचाई कम भएर पनि होला, निन्द्रा मज्जाले लाग्यो । टेन्ट खुल्ला चौरमा गाडेको हुनाले बिहानै फत्ताङलुङ (कुम्भकर्ण) हिमालको दर्शन भो । त्यतिन्जेल सम्म फक्ताङलुङ हिमालको काँधसम्म आईसकेको थियो घाम । किराँत लिम्बू भाषामा फक्ताङ भन्नाले काँध हुन्छ भने लुङ भनेको चट्टान या ढुङ्गा मानिसको काँध जस्तो देखिने हुनाले लिम्बू भाषामा फक्ताङलुङ भनिएको हो । यो हिमाललाई किराँतहरूले तिर्थको रूपमा लिन्छन् । बर्सेनी त्यहाँ ठुलो होमादि लाइन्छ । फक्ताङलुङ हिमालमा धार्मिक तिर्थयात्राको सुरूवात महागुरू फाल्गुनन्दले गरेका थिए ।
त्यसपछि सोही दिन घुन्सा हुदै अम्लिझोसामा झर्यौ । बाटो ओर्हाल्लो भएकोले अर्को दिनको गन्तव्य छिरूवा सम्म बन्यो । यो भनेको ताप्लेजुङ सदरमुकाम देखि एक दिनको पैदल हो । त्यसो त त्यहाँ देखि जिल्ला सदरमुकामसम्म यातायातको सुविधापनि छ । छिरूवामा पर्यटकको लागि भनेरै उति साह्रो ब्यवस्थित गरिएको छैन । छिरूवा आस-पास लिम्बू जातिको बाहुल्यता छ । याक्थुङ लिम्बू जातिको धर्मशास्त्र, मुन्धुममा वर्णीत कतिपय ठाउँहरू छिरूवा आस-पास नै छन् । साँस्कृतिक रूपले पनि उतिकै सम्पन्न त्यस ठाउँलाई पर्यटन सग भने जोड्न सकिएको छैन ।
भोलिपल्ट सदरमुकाम फुङलिङ पुग्यौँ । ताप्लेजुङलाई एक फन्का लायौँ सायद । वालुङ अर्थात कविला जातको प्राचीन थातथालो ओलाङचुङगोलाको लागि भने समय अभाव रहयो । सन् १९५० को दशकमा तिब्बतमा भारतले कब्जा जमाउनु अघिको सुदुर पुर्बको त्यो नाकाको सामाजिक तथा साँस्कृतिक पक्ष नजिकबाट नियाल्ने हुटहुटि फेरि पनिपुरा भएन । त्यसो त गोला क्षेत्रको १६ औँ शताब्दिमा बनेको गुम्बा अर्को आकर्षण थियो । पर्यावरण, साहसिक पदयात्रा, सामाजिक–साँस्कृतिक रूपमा भब्य छ कञ्चनजघां सर्किट ।
धेरैपछि साथीसंग उनकै गृहजिल्लामा भेट भयो । भेटपछि मन फेरि हरियो भो । उखान नै छ नि, ताप्लेजुङको तोङ्बा सिकुटी । यात्रामा कैडा लागेको त उसै हुँदो हो । त्यो अर्गानिक रसले कताकता रमरम भएछौँ । साथीले एकटकले दाहिने हातमा हेरिरहेको आभाष भयो । मैले आँटै गरेर केही भन्नु थियो नै । बोल्नलाई दाहिने हात उठाएको के थिएँ । त्यतिबेलै झापाली मित्र प्वाक्क बोलिहाले, “सर जी ! हामीले हिउँमा लेखेका अक्षरहरू अब त हिउँले पुरे होला है ?”
आधार सिविरमा छाडेको सेतो गल्फनबाट एकाएक अक्षरहरू उडेर आउनथाले । अक्षरहरू, जो आँखा सामु आएर धुमिलधुमिल बन्दै बिलाउंँदै थिए । एकदम धुमिल । धु…मि…ल… ।
सेवारो
लेखक परिचय
लिङ्देनको लेखनमा मौलिकता र उनले भोगेको समाजको बिम्ब पाउन सकिन्छ । उनी घुमफिर मात्र गर्दैनन् संस्कार संस्कृतिको उत्खनन् पनि गर्ने गर्दछन् ।
You do a great job daa. Feel so great as well proud to see your article.😊. Its really amazing and the journey you started in your life hope you reach there…
💙💙💙