जबजब पठाएको म्यासेज
उनले अन्लाईन हुँदै गर्दा पनि सिन गर्दिनन्,
तब विरक्त लाग्दोरहेछ,
पठाएको म्यासेजलाई नै
फिर्ता बोलाउन मन लाग्दोरहेछ ।
सेकेन्डमै म्यासेज अन्सेन्ट गरेर
म्यासेजलाई फिर्ता पनि बोलाइँदोरहेछ,
अनि ऊ पनि लुरुक्क परेर फिर्ता आइहाल्दो रहेछ।
कस्तो अचम्म अचम्मको हर्कत हुँदोरहेछ
यो एक्काइसौँ शताब्दीमा !
म्यासेज अन्सेन्ट गरेर म्यासेजलाई फिर्ता बोलाए जस्तै गरि,
कोभिडका कारण अकालमै मृत्यु भएका
ती हजारौँ व्यक्तिको गइसकेको सासलाई
अन्सेन्ट गरेर
फिर्ता बोलाएर
जीवन जिउन दिन पाए
कस्तो आनन्द हुन्थ्यो होला है।
कोरोनाको कारण हराएको
त्यो खुसीलाई पनि अन्सेन्ड गरेर
फिर्ता बोलाउन पाए
कस्तो आनन्द हुन्थ्यो होला है।
महामारीको बेला पनि
भ्रष्टाचार गर्न नछोड्ने
करोडौँ सम्पती मात्र थुपार्ने खोज्ने
सिङ्को चाहिँ भाँच्दै नभाँच्ने
नालायकहरुलाई पनि अन्सेन्ट गरेर
फिर्ता बोलाउन पाए
कस्तो आनन्द हुन्थ्यो होला है ।
अरू त अरू
म्यासेज अन्सेन्ट गरेर म्यासेजलाई फिर्ता बोलाएजस्तै गरि
राजा विरेन्द्र, कं. मदन भण्डारी जस्ता
राष्ट्रभक्तलाई पनि अन्सेन्ट गरेर
फिर्ता बोलाएर
नेपाललाई स्वर्गको टुक्रा बनाउँन दिन पाए
कस्तो आनन्द हुन्थ्यो होला है ।
तर विडम्बना,
यो अन्सेन्टको फर्मुला
त
संजालमा मात्र लागू गर्न मिल्नेरहेछ,
अनि
जीवनमा यो फर्मुला लागू हुने कुरा त
आकाशको फल आँखा तरि मर जस्तै पो रहेछ ।
लेखक परिचय
आयुष बडाल काठमाडौँ विश्वविद्यालयमा स्नातक पहिलो वर्षमा अध्ययनरत छन् ।