पदमप्रकाश साउद पदमप्रकाश साउद
पृथ्वी वरिपरि मृत्यु घण्टी बजाएर
खितखिताइरहेको यो अर्धमूर्छित समय
एकोहोरो अलापी रहेछ प्रलयका शोकधुनहरू
दाँत नङ्ग्रा तिखार्दै नाचिरहेका असंख्य यमदूतहरू
भत्काएर ज्ञान विज्ञानका सीमाना
बजाइ रहेछन् मृत्युका नगरा गाउँदेखि शहरसम्म
आतंक मच्चाउदै पृथ्वीमा फैलिरहेको यो रक्तबीज
कुरिकुरि गरिरहेछ मानवीय अस्तित्वमाथि
थाह छैन ? कतिबेला उडाएर लिन्छ प्राण पखेरु
मृत्युको कहालीलाग्दो अध्यारो सुरुङभित्र
कुन अदृश्य लोकबाट ?
निरन्तर फालिँदै छन् मृत्युका पासाहरू
किन यसरी खादै छ ? आगोको लप्का
कलकलाउँदा शरीर र सपनाहरू
किन निभाउन खोजिदै छ ?
हरदम मनमा बलिरहने आशाको दियो
आफ्नै अस्तित्व बचाउन किन लड्दैन ? दुनियाँ
युद्धका आधुनिक मोर्चाहरु
मृत्युपत्रमा हस्ताक्षर गरेको कैदीजस्तो
किन सुस्ताइ रहेछ ? मान्छे आफ्नै घरमा बन्धक भएर
अन्तिम सत्य मानिएको विज्ञान पनि
नसक्ने भएपछि जीवन बचाउन
निरीह बन्दै गएको मान्छेका आँखाबाट
बगिरहेछन् आँसुका धारा र
बनिरहेछ शोकको गहिरो दह
हृदय फुटेर पोखिएको छ गाउँ, शहर र लेकबेंसीतिर
गुमनाम छन् न्याउली र कोइलीका भाकाहरु
किन यति उदास देखिन्छ ? भीरमा मुस्कुराउने सुनाखरी पनि
कसले लुट्यो होला ? बैंसालु अनुहारहरूमा
सधैँसधैँ खसिरहने मुस्कानको सौन्दर्य
कहाँ गए होलान् ? जीवनका हाँसो र खुसी
सुनिन छोडेका छन् लैला मजुनका अमर प्रेम कथाहरू
आँगनको डिलमा फुलेको लालुपाते
कसैले चढाउदैनन् भगवानको चरणमा
ओइलिँदै खसिरहेछ बोटबाट
सूर्यको लालीमा जस्तो चम्कि रहने हिमालबाट
बग्दै आएपछि पीडाका हिमनदी
चिर्दै गएपछि धर्तीको कमलो माटो
भत्किदै गएर पहाड डुब्दै गएपछि तराईको मैदानी भूगोल
धमिला देखिएका हुन् आशाका सुनौला किरण
सपनाको खुल्ला आकाशलाई
निराशाको बादलले छपक्क छोपेपछि
व्यथित मनहरूबाट भत्किएर संवेदना
छताछुल्ल भएको छ बीच सड्कमा
छिचिमिराजस्तै मानिस भरिएका
यी झकिझकाउ शहरहरू पनि एकाएक सुनसान भएपछि
झन फैलिँदै गएको हो त्रासको साम्राज्य
आलीशान महलजस्तै ढलेका छन्
शहर पसेका कलिला सपनाहरू
जित्दैजित्दै जीतको टाकुरोमा पुगेको मानिस
यति विघ्न कमजोर कहिल्यै भएको थिएन इतिहासमा
यो क्रूर समयले छातीमा भाला रोपेपछि
छट्पटाउँदै पीडाको महाआख्यान बोकेर
घोर अन्धकारको यात्रा गरिरहेछ मान्छे ।
लेखक परिचय
पदम प्रकाश साउद सुदुरपश्चिम विश्वविद्यालय, दुर्गालक्ष्मी क्याम्पस अत्तरियाका उपप्रध्यापक हुन् ।