उहिले बाजेको पालामा
राँबो र बसिलाले ठोकठाक पारेर बनाएको
सतिसालको पुरानो बाकस देखाउँदै उसले भन्थ्यो
“म यो बाकसभरि पैसा कमाउछुँ”
बाकसभन्दा बलियो सपना बोकेर
ऊ खाडी हिड्यो
बाकसभन्दा बूढो बा एक्लै छाडेर ।
आज आएको छ उसको आँगनमा
पासपोर्ट नम्बर अंकित एउटा चिल्लो बाकस
जहाँ पैसा होइन आफै भरिएको छ
निशब्द, निस्वास र निर्जीव
उनका बा छेउमा बसेर हेरिरहेका छन्
आफ्नो छोराको सपनाको बाकस ।
सबै बाकस उस्तै हुन्छ
काठले बनेको, काँटी ठोकेको
फरक यति छ
पहिले बाकस घरको बुइँगलमा हुन्थ्यो
अहिले बाकस आँगनको डिलमा छ ।
घरछेउको बारीमा खन्दैछन् उनका साथीहरू
जहाँ बस्नेछ ऊ सधैँसधैँ
आफ्नो सपनाको बाकसभित्र
नाक्छोङले मुन्धुम पुकार्दै भन्नेछन्
तिमी फूलवारीको बास गर
तिमी हिमालपारि घरबार गर ।
लेखक परिचय
चिचिला गाउँपालिका वाड. नं. २, संखुवासभाका कवि विश्वरसिंह मेवाहाङ विगत १५ वर्षदेखि शिक्षण (अंग्रेजी) पेसामा छन् ।