दुनियाँ बदलिन्छ,
मान्छे बदलिन्छन्,
मान्छेहरुको बानी, व्यवहार
समयानुसार बदलिन्छ अरे !
तर, आज आएर थाहा भो
बदलिएको त म पो रहेछु।
साइकलमा होस् या पैदल
सयौँ पटक नापेको त्यो बाटो
पछिल्ला दिनहरूमा
निकै बदलिए जस्तो लाग्थ्यो।
तर, आज आएर थाहा भो
बाटो बदलिएको रहेनछ,
बदलिएको त म पो रहेछु ।
सडकछेउका
थपक्क परेका वान्कीहरू,
जहाँ बर्खायाममा
भ्यागुताहरूका अग्रजहरूको
कन्सर्ट हुन्थ्यो।
ती सबै याद थिए मलाई
तर, पछिल्ला दिनहरूमा
सबै कता हराए कता।
आज आएर थाहा भो
ती हराएका रहेनछन्,
हराएको त म पो रहेछु।
बदलिएको त म पो रहेछु।
लक्ष्यमा पुग्न
लक्ष्य अनुसारको
लक्षण हुनुपर्छ
भन्ने सिद्धान्तको पिछा गर्दा
नयाँ ढोका खोल्ने
बाटो पो सृजना हुँदो रहेछ।
आफ्नै सिद्धान्तमा
अडिक रहेको म
समयानुसार चल्ने भएको छु।
सिद्धान्त बदलिएको रहेनछ
आज आएर थाहा भो,
बदलिएको त म पो रहेछु।
‘आइज आर बेटर द्यान क्यामेरा’
भन्दै रमाइलो पलहरूको
फोटोसम्म नलिने म
आफ्ना हरेक क्रियाकलाप
अचेल “एड योर स्टोरी”
राख्ने भएको छु।
त्यसैले आज आएर थाहा भो,
समय मात्र बदलिएको नभई
समयसँगै बदलिएको त म पो रहेछु।
कुनै भावनात्मक कुराहरू
गम्भीर रुपमा नलिई
हाँस्दै ठट्टामै उडाउने म।
आजकाल निकै भावनावादी
अनि गम्भिर भएको छु।
आज आएर थाहा पाए
ती भावनाहरु बदलिएका नभई
बदलिएको त म पो रहेछु।
हराएको त म पो रहेछु।
हो, साच्चिकै बदलिएको त म पो रहेछु।
लेखक परिचय
नेपाल सरकारको निजामती सेवामा कार्यरत जोशी साहित्यका विभिन्न विद्या तथा अनुसन्धानात्मक लेखहरूमा कलम चलाउने गर्दछन् ।