पहिलेपहिले (अर्थात् उहिले नै भनौं
कञ्चनजङ्घाको अघिल्तिर उभेर
हामी कञ्चनजङ्घा हेर्थ्यौँ
हाम्रो अघिल्तिर उभेर
कञ्चनजङ्घाले हामीलाई हेर्थ्यो
हामीले फेरेको सास/ अनि
कञ्चनजङ्घाको बाफ मिलेर
मास्तिर यौटा सफा आकाश टाँगिन्थ्यो
हाम्रा डाँडाहरू र थुम्काहरू
आकाश भेट्न माथि उठ्थे
रूखहरूले ती डाँडाहरूलाई
आफ्ना हाँगाका पाखुराहरूमा उचालेर
अझ अग्लो अग्ल्याइदिन्थे
आफ्नो अनुहारमा टल्किरहेको घामलाई
कञ्चनजङ्घाले हाम्रा अनुहारतर्फ फर्काइदिन्थ्यो
र हाम्रा अनुहारहरू
कञ्चनजङ्घाका टाकुराहरू भएर उज्यालिन्थे
हाम्रो खुल्ला झ्यालको चौखटमा अडेसिएर
हठात् भित्रपट्टि टाउको घुसाउँदै
कञ्चनजङ्घा हामीसित जिस्किन्थ्यो, हाँस्थ्यो
भनूँ भने, दैलोबाट भित्रै पसेर
हाम्रो चुलामा आगो जोरिदिन्थ्यो
दसैंमा केही नयाँ लुगा
र मीठो परिकार लिएर आउँथ्यो
हामीले आफूलाई टुहुरा अनुभव गर्दा
उसैले हामीलाई
अभिभावकको स्नेहले सुमसुम्याउँथ्यो
हामी हेपिँदा
कञ्चनजङ्घा नै हाम्रो छातीमा हौसला भरिन्थ्यो
हाम्रो काँधमा ऊ नै ढाढसको थप्की बज्थ्यो
नाइट शो हेरेर घर फर्किंदा पनि
उसैले हामीलाई घरको दैलोसम्म पुऱ्याउँथ्यो
कञ्चनजङ्घा हाम्रो आँखामा मात्र थिएन त्यस बेला
ऊ त हाम्रो छातीभित्रै धुकधुकाइरहेको हुन्थ्यो
तर. . . यो भयो अब दाँत झरिसकेको दन्त्यकथा ।
आज पनि हेर्न खोज्छ कञ्चनजङ्घाले हामीलाई
तर हामी उसका आँखाअघि देखा पर्दैनौं
कञ्चनजङ्घाभन्दा अग्लाअग्ला
कङ्क्रिटका पर्वतहरूपछिल्तिर
मसिना लिलिपुट भइसकेका हामी
हरक्षण हतारहरू हिँडिरहेका हुन्छौं
चट्टानभन्दा चाम्रो र चिसो
बहुतले बिल्डिङहरूको चेपबाट घुम्दै गएको
गन्हाउने गल्लीको सुरुङभित्र
सपनाहरू जित्न वकिङ रेसमा
सासले भ्याईनभ्याई हाँपिँदै हिँडिरहेको हामीलाई
कञ्चनजङ्घाले
उसको सेतो घिच्रो
तन्काई
त
न्का
ई
हेर्दा पनि
देख्न सक्तैन।
हामीलाई देख्न नपाएर
कञ्चनजङ्घाको मन कस्तो हुँदो हो, नसोध-
हाम्रो संवेदना सुक्खा भएको छ माइक्रोचिप्सजस्तै
जसद्वारा अचेलका हाम्रा मनहरू प्रोग्रामिङ गरिएका हुन्छन्
त्यसैले, प्रोग्रामदेखि बाहिरका कुराहरू सब वाहियात हुन् !
तीसँग हामीलाई के मतलब ?
तर कञ्चनजङ्घालाई चैं हामीले
उपभोक्तावादको प्लेटमा टोस्टजस्तो राखेर
पर्यटकलाई सोध्दै बेच्छौँ-
एक स्लाइस, दुई स्लाइस या हाफ् कि फुल् कञ्चनजङ्घा !
चौंरीगाईको ढाडजस्तो उठेका
ती डाँडा र थुम्काहरूलाई त
हाम्रा हिंस्रक चाहनाका चितुवाहरूले
चोक्टा र लाम्टा गरी हड्डीसमेत चपाएर खाइसके ।
हामीभित्रको कञ्चनजङ्घाको उचाइ चैं
फ्ल्याटको हिसाबमा बिक्री भइसक्यो !
त्यो अबोध नस्टयाल्जिक कञ्चनजङ्घा भने
हामीलाई हेर्ने तिर्सनाले
बिल्डिडहरूको चेपचापबाट चिहाउँछ
यो सहरसितको पुरानो आत्मीयता पाउने चाह गर्छ
तर अब थेत्तरी भइसकेकी यो पहाडकी रानी भनिने सहर
चिथ्रा फाटेको नाइटी निकै माथि सुर्काएर
भिक्टोरिया फल नाम ट्याटू गरिएको आफ्नो योनीबाट
धमिलो पानी झारेको झारेकै छ-
छ
ल
ल
ल
त्यो पानी कहिले सङ्लेला हँ ?
यो प्रश्नको उत्तर छैन
किनकि
यो हो अब दाहा उम्रिसकेको उत्तराधुनिक कथा !
(गरिमा, कात्तिक २०६३, वर्ष २४,अङ्क ११)बाट
लेखक परिचय
नेपाली मूलको भारतीय कवि, आख्यानकार, समालोचक तथा अनुवादक, मनप्रसाद सुब्बा(ज. १९५२, सेप्टेम्बर) नेपाली साहित्य जगत्मा स्थापित नाम हो । सुब्बा, दियालो पुरस्कार (नेपाली साहित्य सम्मेलन, दार्जीलिङ), रत्नश्री स्वर्णपदक(काठमाडौँ) र साहित्य अकादमी पुरस्कार, (नयाँदिल्ली)जस्ता पुरस्कारबाट सम्मानित भइसकेका छन् । बिब्ल्याँटो युगभित्र कार्टुन मान्छेहरू, उष्मा, आदिम बस्ती, ऋतु क्यानभासका रेखाहरू (कवितासङ्ग्रह), बुख्याँचाहरूको देश, अक्षर अर्केष्ट्रा (कविता सँगालो), त्यो मोडसम्म पुगेको मान्छे(उपन्यास) आदि प्रकाशित कृतिहरू हुन् ।
अहा यत्रो शक्तिको यो काव्य पडेर म अभिभूत छ । कत्रो कल्पन कस्ता बिम्ब त्यो अप्रतीम सुन्दरता स्वच्छतालाई कसरी हाम्रो मूर्खताले निल्यो।a best eco poem cpngrats dai