१
स्वतन्त्र काल
बनाइदेऊ न स्वतन्त्र मलाई,
त्यो नलेखिएको कविता फेरि
लेख्न मन छ !
जिन्दगी गोरेटो हो भन्दै सकिएको
यात्रा फेरि दौडिन मन छ,
बनाइदेऊ न एक गोरेटो
कहिल्यै नसकिने!
ति रुखका पातहरू झरेरै आवाज गर्छन्
तर म सुन्न सक्दिनँ
बनाइदेऊ न एउटा मन्त्र
त्यो आवाज सुन्न सकुँ !
वरपर आज जिन्दगी देख्दिनँ
वरपर आज बाँच्ने प्रयास गरिरहने
श्वास भरिएको मुर्दा मात्र देख्छु,
बनाइदेऊ न एउटा पैसा
त्यो मुर्दा बचाउन मन छ!
त्यो काल आउदा नजिकैबाट देख्न सकुँ,
प्रश्न गर्न मन छ !
बोलाइदेऊ न आमालाई,
बोलाइदेऊ न बुवालाई,
यो मर्ने स्वतन्त्रता दिनुभाछ छैन मलाई ।
२
चिहान
एक मृत्यु
आत्माको वा शरीरको !
केही टुक्रा दाउरासँगै
ती दाउरा जल्नुअघि
एक शरीरपनि जल्दोरहेछ
र सँगसँगै त्यहीँ शरीरसँग
जोडिएका कयौँ सम्बन्धहरू पनि
खरानी हुँदारहेछन्!
जहाँ बसेर जलाउने र जल्ने
एक भयङ्कर नाटक खेलिन्छ
सायद त्यहि एक अमर नाट्यघर हो
चिहान !
जन्मिदा उही
सङ्घर्ष फरकफरक
सम्पूर्ण भूमिकाको अन्त्य हुने
उही नाट्यघर रहेछ
चिहान !
लेखक परिचय
धनगढीका लोकराज जोशी स्नातक तहमा अध्ययन गरिरहेका छन् । उनी मूलत: कविता लेख्छन् ।