अक्षरहरू जसरी हिँड्दै आउछन्
निष्कर्षको देउरालीमा
अक्षरहरू हराई जान्छन्
झरीले सङ्गीत भरेको रातमा
अर्केस्ट्रा हुन्छ विचारको
झरी हराउँछ ।
एक युग लामो मेलोड्रामा उभिएरै
हेरिरहेको रुख
आफ्नो कथा मञ्चन गर्दैन
रुख हराइ जान्छ ।
गाउँमा सग्लो कविता
बाचिँरहेको मानिस
सहर पस्छ कयौं बिम्बप्रतिकलाई पछि छाडेर
हराइ जान्छ कविता ।
देवताको परावर्तन नानीहरू
अलिअलि उभो चढ्छन्
जीवनका सोपानहरू
देवता हराउँछ ।
थीसियस खुब सयर गर्छ डुङ्गा
मस्तिष्कको महासागरमा हिजोआज
शीतमा जिजीविषा थोपाथोपा
छाडीजाने चाँदनीजस्तै
छाड्ने छ उसले डुङ्गा ।
अलिकति क्लोज- अप हेर त
त्यहीँ डुङ्गामै त यात्रा गर्दै छौं कि हामी ?
लेखक परिचय
कवि सबिन नेम्बाङ पाँचथर, फिदिमबाट हुन् ।