१
आकाश निदाएको बेला
ठीक यतिबेला
निदाएको छ आकाश
माथि कालो अन्धकारमा
चम्किरहेका छन् जुनकीरीहरू
शून्यताले छोपेको धरती
यो डाँडाको शीरबाट
टाढाटाढाका मधुरा बत्तीहरू,
अचल पहाड, रुखहरू निदाइरहेको बेला,
बस्तीका घरहरू….
सपनामा रुमलिरहेको छ ।
एक टुक्रा बादल
जूनको एक अंश छोपेर हिँड्दैछ
वनमारा घारीमा
झ्याउँकिरीको धूनले संगीत थप्दै गर्दा
एक अञ्जुली हावाको झोका
तिम्रो कपाल छोएर जान्छ
तर, हामीबीच अझै मौनता..।
स्पर्शको न्यानो घाम
ती पाँइतला अनि आखा
आहा! कति शुन्दर कति मनमोहक
यो रातहरू
तेजले धड्किँदैछ मुटुको तेज
लाग्छ,ब्युँझनेछ,
रुखहरू, पहाडहरू, बाटोहरू….
सपनाको महासागरमा डुबेर
भोलि घाम उदाउने नै छ
वस्
पृथ्वी घुमिरहेछ ।
अकिञ्चन निला आकाशमा सुन्दर देखिन्छन्-
समानताका सफेद बादलहरू..
किनकिन,
कुनै समय कुनै बेला
ति आकाशमा
अहमताको बादलहरू मडारिन खोज्छ्न्-
मिलापको वर्षाले
सहिष्णुताको पालुवामा सिँचित गर्नुको सट्टा
किन पूर्वाग्रहको झरीले चुट्न पुग्छ..
र दर्किन्छ अतिवादको बाछिटा बनेर ?
न त अब बाछिटाले भिज्ने छ,
सदभावको चुल्हो
न त निभ्ने नै छ,
एकताको आगो…
किनभने,
हर घर नचुहिनेगरि
सहअस्तित्वको परालले छाएको छ
हर पर्खाल/भित्ता
भ्रातृत्वको कणकणले बनेको छ
अब तिमी चिप्लिने छौ
अग्रगामी बलेसीमा
र पछारिने छौ,
धर्म निरपेक्षताको आँगनीमा।
अन्तत:
बिलिन हुनेछौ..
समावेशीताको जमिनमा
तर आकाश निदाएको छ ।
२
आऊ इतिहासको डिएनए चेक गरौँ
हाम्रो पूर्खाहरूले
इतिहासको मूल ढोकामा उभिएर
साम्राज्यवादको गला रेटे
रक्तरञ्जित खुकुरी, खुड्डाहरूले
कोरेका हुन्, यो देशको सिमारेखा
उखेलिएका हुन् विस्तारवादका जराहरू
र गाडिएका हुन्
स्वाधीनताका बलिया खम्बाहरू
तिमीले वलभद्र कुवरको मुटुले बाँचेको
जङ्गे पिल्लर ढलाउने भूल नगर्नू
मेरो धमनी जोडिएको
जन्मभूमिको जमिन मिचेर
आफ्नो भूगोल दावी नगर्नू
गुलामीको आकाश नओढेको
स्वभिमानको यो शीरमा
उपनिवेशको पञ्जा राख्ने दुस्साहस नूर्नु,
सावधान !
बर्जित छ यहाँ,
नेपाल आमाको अस्मितामाथि
गिद्दे नजर डुलाउन,
सुगौलीको माटो साक्षी राखेर
हस्ताक्षर गरिएका
प्रत्येक सन्धि-पत्रको
हर पृष्ठ
हर बुँदा
हर शब्द
हर अक्षरको
पोष्टमार्टम गरौँ
पूर्खाहरु सहादत गरेता पनि
जीवित छन् खुद सबूत प्रमाणहरू
दुई देशको झण्डामुनि रहेर
दस्तावेजभित्रका रहस्यहरू चिरफार गरौँ
सत्य र सार्वभौमको निम्ति
निर्णायक फैसला गरौँ,
आऊ…इतिहासले बोकेका
सिमानाका सबै प्रमाणहरू जुटाऊ
डिएनए जाँच गरौँ ।
लेखक परिचय
इतर अभियन्ता कवि उत्तम खजुम हाल दक्षिण कोरियामा रहि लेखिरहेका छन् । कवि खजुम आफ्ना सृजनामा मूलत: पहिचान र सिमान्तकृत विषयहरू उठाउने गर्छन् ।