सुरुवातमै
एउटा निस्कर्ष दम्भयुत्त भिडहरूको अध्ययनबाट
यस्तो देखियो – अश्लीलता एउटा सोच
कुविचार एउटा रोग
देखिँदाभन्दा छोपिँदा बढी जान्ने चाहा
फुकाउँदा भन्दा दबाउँदा बढि फुट्ने सम्भावना ।
साउदीबाट आएको दाइलाई पढ्छु –
बुर्काभित्रको अनुहारको कल्पना
कपडाबाहिर देखिने अङ्गको डोबले – जन्माउने आकार
केही नदेखिँदा बस् ! उसमा देख्न चाहने हुटहुटी
अधिकांश देखिँदा टोक्ने चाहाको छटपटी ।
शान्त त कसरी हुनु र उभित्रको कुपुरुषत्व
जबसम्म हिंस्रक बन्दैन उसका बाहु।
शहरका युवाहरूलाई नियाल्छु –
मास्कभित्र मगमगाइरहेको
अधरको सुगन्धले
उसका सोचजस्तै दुर्गन्धित सासलाई
जितेको ठान्छ ।
उनको ओठको बनावटको बिचार
त्यसमा लगाइएको प्रेमको रङको अन्दाज
अलि अघि बढेर – चुसिरहेको जवानी को रङ।
सम्झन्छ,
हेर्छ
पुलुक्क – छोपिएको अनुहार
झुलुक्क – दौडिरहेको गाडी
घुटुक्क -अतृप्त आशा निल्छ।
लेखक परिचय
कवि सन्तोष सरील नुवाकोटका हुन् ।